Comments Add Comment

केन्द्रीय प्रतिनिधि खटाइएपछि नेविसंघमा विवाद, फिर्ता लिन पाँचदिने अल्टिमेटम

नैनसिंह महर, अध्यक्ष, नेविसंघ

२७ साउन, काठमाडौं । नेविसंघ नेतृत्वले गुट उपगुटको आधारमा भागबन्डा गरी आफूखुसी जिल्ला प्रतिनिधिहरु खटाएको भन्दै केन्द्रीय सदस्यहरुले बिरोध गरेका छन् । २३ जना केन्द्रीय सदस्यहरुले संयुक्त विज्ञप्ति निकालेर पाँच दिनभित्र केन्द्रीय प्रतिनिधि फिर्ता बोलाउन माग गरेका छन् ।

यदि फिर्ता नबोलाए आफूहरुले पनि देशैभर, जिल्ला र क्याम्पसहरुमा केन्द्रीय प्रतिनिधि खटाउने केन्द्रीय सदस्य पुनम लामाले बताइन् ।

गत वर्ष भएको नेविसंघ महाधिवेशनमा २१ जिल्लामा विवादका कारण महाधिवेशन हुन सकेको थिएन । ति जिल्लाहरुमा महाधिवेशन सकिएको तीन महिनाभित्र अधिवेशन गराउने सहमति भएको थियो । तर, महाधिवेशन भएको एक वर्ष पूरा भइसकेको छ ।

‘अब कार्यकाल एक वर्षमात्र बाँकी छ । यो समय आगामी महाधिवेशनको तयारीमा जुट्ने समय हो । तर, अध्यक्षले अधिवेशन गराउन भन्दै आफूखुसी केन्द्रीय प्रतिनिधिहरु पठाउनुभयो,’ केन्द्रीय सदस्य लामाले भनिन्, ‘पदाधिकारीहरुलाई र कार्यसमितिका सदस्यहरुलाई समेत थाहा नदिई गरिएको यो निर्णय खारेज हुनुपर्छ ।’

उनले आफूहरुले दिएको पाँच दिनको समयसीमा भित्र पनि प्रतिनिधि फिर्ता नबोलाइए अर्को विकल्पमा अघि बढ्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् अध्यक्ष नैनसिंह महर हुने चेतावनी समेत दिइन् ।

विज्ञप्तिमा पम्फा गान्धारी, प्रेमिका रानामगर, ममता कुमारी महतो, ममता राई, चेतन मगर, कल्पना खड्का, ज्ञानु तिमिल्सेना, जयराम दाहालको हस्ताक्षर छ ।

यसैगरी एलिजा ढकाल, रेखा परियार, विजय राय, कमला बुढा, राजा बाबु शाह, उज्जवलराम घिमिरे, कल्पना पौडेल, तेज बानियाले पनि हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने अन्यमा लिखितेन्द्र श्रेष्ठ, रघुबिर कार्की, लक्ष्मण पन्थी, शारदा लामा, दिपेश राजभण्डारी, आरसी भट्टराई र पुनम लामा पनि छन् ।

महर हाल अमेरिका भ्रमणमा छन् । अमेरिका जानुअघि उनले आफखुसी केन्द्रीय प्रतिनिधि खटाएको असन्तुष्ट पक्षको आरोप छ ।

तर महर पक्षले भने निर्देशक समिति र पदाधिकारी बैठकको निर्णयबाट सहमहामन्त्रीहरुलाई केन्द्रीय प्रतिनिधि बनाएर जिल्लामा पठाइएको बताएको छ । सुरुमा २१ जिल्लामा विवाद भए पनि ८ जिल्लाको विवाद मिलाइसकेको र अहिले १३ जिल्लामा प्रतिनिधि खटाइएको नेविसंघ अध्यक्ष महरको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य तारक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment