Comments Add Comment

छायाँमा परेका मदन भण्डारीका चेला !

एमालेमा तीन कारणले पछि परें

२७ साउन, काठमाडौं । नयाँ बानेश्वरको एक चिया पसलमा भेटिए, एमालेका पूर्वेली नेता एवं तेह्रथुम जिल्लाका पूर्वजिविस सभापति किशोरचन्द्र दुलाल । मदन भण्डारीका चेलासमेत रहेका दुलाल एमालेभित्र तीनवटा कारणले छायाँमा परेका रहेछन् ।

तेह्रथुममा ०४१ साल कात्तिक २० गते मदन भण्डारीको प्रशिक्षण सुनेर प्रभावित बनेका दुलाल पञ्चायतकालदेखि नै राजनीतिमा सहभागी हुँदै ०५१ सालमा पार्टी सचिव भएका थिए । त्यससँगै उनी कोशी अञ्चल सदस्य बने । अञ्चल सदस्य बनेको २३ वर्षपछि पनि उनी असञ्चल कमिटीकै सदस्यमा सीमित छन् ।

त्यसो त दुलाल ०५४ मा एमालेका तर्फबाट तेह्रथुम जिविस सभापति बने । २० वर्षअघिको उक्त जिम्मेवारी सम्हालेपछि छायाँमा परेका दुलाल भन्छन्- ‘पार्टीमा हामीजस्ता पछाडि पारिएका साथीहरु धेरै हुनुहुन्छ ।’

‘तीन कारणले पछि परें’

एमाले नेता दुलाल तीनवटा कारणले पार्टीमा पछि परेको बताउँछन् ।

‘पहिलो कुरा त बाहुनको छोरो भएर जन्मनु मेरो दुर्भाग्य बन्यो । तेह्रथुममा सांसदको टिकट दिँदा लगायत जुनसुकै जिम्मेवारीमा जनजातिलाई प्राथमिकता दिन थालियो’ दुलाल भन्छन् ‘सांसदको टिकट पनि लिम्बु समुदायले नै पाउन थालेपछि हामीजस्ता बाहुनहरुको त पालो नै आउन छाड्यो ।’

एमालेमा आफू पछि पर्नुको दोस्रो कारण चाहिँ दुलालले ‘मनी र मस्सल’ लाई मानेका रहेछन् ।

‘अचेल पाटीभित्र कसले होटलहरुमा नेता कार्यकर्तालाई राखेर खुवाउन सक्छ, कसले गुण्डाहरु खेलाउन सक्छ र कसले पैसा खर्च गर्न सक्छ, त्यही अगाडि आउने क्रम बढेको छ,’ पूर्वजिविस सभापति दुलालले अनलाइनखबरसँग भने, ‘मेरो आर्थिक अवस्थाका कारण मैले त्यसरी खर्च गर्न सक्ने कुरै भएन र मलाई त्यस्तो खालको राजनीतिक गर्न मन पनि लागेन, जसले गर्दा पछि परियो ।’

अहिले हरेक पार्टीभित्र ठेकेदारहरुको हाली मुहाली हुने गरेको र इमान्दार एवं सामान्य वर्गका नेता कार्यकर्ताहरु छायाँमा पर्ने गरेको दुलालले बताए ।

पूर्वमाले र एमालेमा विगतमा यस्तो विकृति नरहेको उनले दाबी गरे ।

एमालेमा तपाई पछि पर्नुको तेस्रो कारण चाहिँ के नि ? बाहिरी कारणले मात्रै पछि पर्नुभएको हो कि आफ्नै आन्तरिक कमजोरी पनि कारक हो ? यस्तो प्रश्न गर्दा दुलालले निकै मार्मिक जवाफ फर्काएः

‘जिविस सभापति भएर घर फर्किँदा मसँग केही पनि कमाइ थिएन, मैले पदमा रहँदा विवाद हुने कुनै काम गरिनँ,’ दुलालले भने- ‘तीन छोरी र एक छोरालाई पढाउनुपर्ने दायित्व थियो, तर मसँग आम्दानीको बाटो केही थिएन ।’

एमालेको राजनीतिमा हाम्फाल्दा दुलालले हेडमास्टरको जागिर छाडेका थिए । जिविस सभापतिको जिम्मेवारी पूरा गर्दा उनीसँग न कुनै पेन्सन थियो, न कुनै जागिर । मास्टरको जागिर छाड्दैगर्दा पेन्सन पकाउन करिब डेढ वर्षमात्रै बाँकी थियो ।

आफ्नो विगत सम्झँदै दुलाल भन्छन्- ‘परिवारका सदस्यले मलाई केही भनेनन् । तर, छँदाखाँदाको हेडसरको जागिर छाडेको उनीहरुलाई थाहा थियो । र, उनीहरुले धेरै दुख र अभाव झेल्नुपरेको मलाई थाहा थियो । पारिवारको यो अवस्थाका कारण म राजनीतिमा अगाडि बढ्न सकिनँ ।

‘तर, अब तयार छु’

२० वर्षको अलमल रहे पनि दुलाल अहिलेसम्म एमालेमै छन् र पार्टीको काममा थोरैबुहत खटिइरहेका छन् । भलै उनले अञ्चल सदस्यभन्दा अर्को जिम्मेवारी पाएका छैनन् ।

तर, अब एकपटक फेरि पार्टी र देशको सेवा गर्न आफू मानसिकरुपमा तयार रहेको दुलालले अनलाइनखबरलाई बताए ।

‘हामीजस्ता इमान्दारले एकपटक फेरि पार्टी र देशको जिम्मा लिनुपर्ने भएको छ,’ दुलालले अनलाइनखबरसँग भने-‘ अहिले छोराछोरी पनि हुर्किइसके । छोरा आफ्नै प्रयासले अमेरिका गएको छ, छोरीहरुको विवाह भइसक्यो, अब पार्टीमा सक्रिय भएर जिम्मेवारी निभाउन तयार छु ।’

उनको संकेत आगामी प्रदेशसभाको चुनाव वा केन्द्रको चुनावमा पार्टीले जिम्मेवारी देओस् र आफूजस्तै पुराना कार्यकर्तालाई पार्टीले सम्झियोस् भन्ने थियो ।

यसक्रममा उनले धनकुटाका पूर्वसांसद गोपाल गुरागाईलाई पनि सम्झिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment