Comments Add Comment

इटहरीमा बालबालिकासहित ६ जनाको शव भेटियो, सेनाको व्यारेकभित्रै बाढी पस्यो


२८ साउन, सुनसरी । इटहरी उपमहानगरपालिकामा बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । राति नै बाढीले बगाएका ६ व्यक्तिको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वालवालिकासमेत छन् ।

स्थानीय ट्यांग्रा खोला र बुढीखोलाको किनारमा ५ जनाको शव भेटिएको छ भने तरहरामा एकजना वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार बाढीले बगाएर इटहरी ३ गैरीगाँउका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भई इटहरी ४ बस्ने माला राईका तीन बर्षे छोरा रुपेस राई र ८ वर्षकी छोरी रुपसनी राईको मृत्यु भएको छ ।

घरमा बाढी पसेपछि इटहरी ४ आइतबारेका ४० बर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातिको तुलनामा बिहान इटहरीमा बाढी केही घटेको छ । तर, पानी भने अझै परिरहेको छ ।

बाढीका कारण रातिदेखि नै इटहरी क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध छ । सडक पुरै बाढीले ढाकेर सवारी साधनसमेत चल्न नसक्ने अवस्था छ ।

बाढीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयसमेत डुवानमा परेको छ । सेनाको ब्यारेक भित्रै पानी पसेपछि केही सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

नेपाली सेनाको हेलिकप्टर बिहानैदेखि उद्धारका लागि जुटेको छ । बाढी घरभित्र पसेपछि मानिसहरुको विचल्ली भएको छ । इटहरीको मुख्य चौकसहितका बजार क्षेत्रमा पनि पानी पसेको छ ।

यसैवीच सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च स्थानमा पुगेको छ । लगातारको वर्षापछि पानीको सतह बढिरहेको छ ।

शनिबार बिहानको मापनअनुसार सप्तकोशी नदीमा २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानी बहेको कोशी व्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

आपतका बेलामा एनटीसी टेलिफोन बन्द

पूर्वमा रातिदेखि नेपाल टेलिकमको सेवासमेत अवरुद्ध हुन पुगेको छ । पूर्वाञ्चलभरि टेलिकमको सञ्चार सेवा अवरुद्ध भएका कारण प्रहरीलाई सूचना संकलन गर्न र पीडितहरुको उद्धार गर्न समस्या परिरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment