Comments Add Comment

‘बेनी भ्रमण वर्ष २०७५’ मनाउने तयारी

२८ साउन, बेनी (म्याग्दी) । पर्यटकीय सम्भावनाले युक्त म्याग्दीलाई राष्ट्रिय, अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भित्र्याउने उद्देश्यले २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ का रुपमा मनाउने तयारी शुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवं परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अगुवाइमा जिल्लाका युवाले सरोकार भएका संघसंस्थासँग सहकार्य गरेर सो अभियानको तयारी शुरु गरेका हुन् । प्रवासी म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भ्रमण वर्षका कार्यक्रम अघि बढाइने शाक्यले बताए ।

अबको केही दिनमा नै भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइने तयारी भइरहेको बताइएको छ । शाक्यका अनुसार भ्रमण वर्ष शुरु हुनुअघि नै यु ट्युब, भिडियो, ब्रोसर, वेबसाइट, विज्ञापन पाटी, पुस्तिका आदि बनाएर तीव्र रुपमा प्रचारप्रसारको काम अघि बढाइने छ ।

“२०७५ सालभरिमा म्याग्दीमा ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनासहित ‘बेनी भ्रमण वर्ष २०७५’ को आयोजना गर्न लागेका हौँ” शाक्यले भने, “मुक्तिनाथ प्रवेशद्वार, गलेश्वर धाम, घोडेपानी, पुनहिल, रुप्से र अन्धगल्छीले मात्र म्याग्दीको पहिचान अधुरो हुन्छ । तीबाहेक पनि म्याग्दीमा महिनौँ दिनसम्म घुम्न, प्राकृतिक सौन्दर्यको आनन्द लिन र सिक्न सकिने ठाउँ छन् । ती ठाउँसम्म पर्यटकलाई पुर्याउन चाहन्छौँ ।”

अन्नपूर्ण परिपथ, लोमान्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथलगायत स्थान घुम्नका साथै अरु पर्यटकलाई समेत म्याग्दीका गन्तव्यसँग परिचित गराउने भ्रमण वर्षको उद्देश्य हो ।

अहिलेदेखि नै जिल्लाका एक नगरपालिकासहित पाँच वटै गाउँपालिकाका सम्भाव्य पर्यटकीयस्थलको जानकारी लिने र त्यहाँका बासिन्दालाई घरबास, पदमार्ग, सरसफाइलगायत पूर्वाधार निर्माणका लागि जानकारी दिने काम भइरहेको शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment