Comments Add Comment

सप्तकोशीका सबै ढोका खोल्न भारतलाई नेपालको आग्रह

सुरक्षित रहँदै उद्धारमा जुट्न अपिल

२८ साउन, काठमाडौं । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । नेपालले सप्तकोशीको बाँधका सबै ढोका खोल्न भारतीय पक्षलाई अनुरोध गरेको छ ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वी र मध्य पहाडी क्षेत्रमा बाढी र पहिरोले बढी क्षति पुर्याएको र डुबानको अवस्था भयावह भएको बताए । तर, मौसम प्रतिकूल भएकाले उद्धार कार्यलाई तिव्रता दिन नसकेको उनले बताए ।

‘काठमाडौंको एयरपोर्टमा उद्धार तथा राहतका लागि जाने टोली अलर्ट छ । पूर्वको इटहरीमा पनि हेलिकोप्टर तयारी अवस्थामा छ । तर, मौसमले साथ नदिएकाले जान सकिएको छैन,’ मन्त्री शर्माले अनलाइनखबरसँग भने ।

‘मौसम प्रतिकूलका कारण प्रभावित क्षेत्रमा केन्द्रबाट पुग्न सकेको अवस्था छैन । तर, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई खटाइएको छ । कतिपयलाई उद्धार गरिएको छ भने कतिपय स्थानमा पानीको बहाव तीव्र भएपछि सुरक्षाकर्मीहरु पनि जान सक्ने अवस्था छैन,’ उनले भने ।

उनले सतर्क रहँदै उद्धार तथा राहतमा जुट्न सुरक्षाकर्मी, व्यवसायी, स्थानीयबासी लगायत सबैलाई अनुरोध समेत गरे । ‘विमानस्थल समेत डुबानमा परेको छ । जताततै जलमग्न भएकाले कुनै जिल्लामा हेलिकोप्टर बस्ने ठाउँको पनि अभाव देखिन्छ, मन्त्री शर्माले भने, ‘भद्रपुर विमानस्थल डुबेको त छैन तर मौसम सफा नभएकाले जान समस्या भइरहेको छ । म आफू सुरक्षित रहँदै उद्धारमा परिचालित हुन सबैलाई विशेष अपिल गर्दछु ।’

कोशीका ढोका खोल्न भारतलाई आग्रह

सप्तकोशीको बाँधका सबै ढोका खोल्न भारतीय पक्षलाई अनुरोधसमेत गरिएको गृहमन्त्री शर्माले बताए । ‘मैले परराष्ट्रमन्त्रीमार्फत् कोशीका सबै ढोका खोल्न भनेको छु । भारतीय राजदूतसँग पनि कुराकानी भएको जानकारी मलाई छ, त्यतातर्फ पनि प्रयत्न जारी राखेका छौं,’ मन्त्री शर्माले अनलाइनखबरसँग भने ।

सप्तकोशीमा पानीको बहाव उच्च छ र सबै ५६ वटै ढोका खोल्न भारतीय पक्षलाई भनिएको छ । बाँध नेपालमा भए पनि त्यसको ढोका खोल्न भारतको अनुमति लिनुपर्ने समझदारी छ ।

झापामा स्थानीयको सहयोगमा ५ सय ५० जनाको उद्धार गरिए पनि १३३ जना सन्थ्याल जातीलाई उद्धार गर्न समस्या भइरहेको, रौतहटमा लालबकैयाको बाँध फुटिसकेपछि फेरि भयावह अवस्था आएको र सप्तरीको हनुमाननगर लगायतका क्षेत्रमा तत्काल ठूलो संकटको अवस्था नभए पनि स्थिति असहज बनेको रिपोर्ट गृहमन्त्रालयलाई आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment