Comments Add Comment

डा. केसीलाई स्वास्थ्यमन्त्रीको आग्रह- अनसन त्यागेर बाढी प्रभावितको उपचारमा जुटौं

विदा नबस्न र बाढी प्रभावित क्षेत्रमा खट्न निर्देशन

२८ साउन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीहरुलाई विदामा नबस्न र तालिम भेला, गोष्ठी लगायतका सबै कार्य रोकेर बाढी पीडितको उपचारमा चौबिसै घण्टा खट्न निर्देशन दिएको छ । साथै मन्त्रालयले अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गरी स्वाथ्यकर्मीलाई बाढी पहिरो पीडितको उपचारमा जुट्न उत्प्रेरित गरिदिन पनि विशेष अपिल गरेको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले शनिबार सार्बजनिक अपिल जारी गर्दै भनेका छन्, ‘बाढी पहिरोबाट उत्पन्न असहज अवस्थालाई समेत दृष्टिगत गरी डा.केसीलाई आफ्नो अनसन अन्त्य गरेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई बाढी प्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवामा जुट्न उत्प्रेरित गरिदिनु हुन बिशेष अपिल गर्दछु ।’

मन्त्री पोखरेलका अनुसार स्वास्थ्य मन्त्रालय र अन्तरगतका निकायहरु बाढी प्रभावित क्षेत्रमा परिचालित भै सकेका छन् । मन्त्रालयका उच्च अधिकारी, बिषेशज्ञहरुको नेतृत्वमा टोली बनाई प्रभावित क्षेत्रमा पठाइएको छ । साथै स्वास्थ्य मन्त्रालयले र्यापिड रेस्पोन्स टिमलाई अलर्ट राखेर पनि काम गरिहेको मन्त्री पोखरेलले जानकारी दिए ।

उनले बाढी प्रभावित क्षेत्रमा फैलनसक्ने रोगको महामारीप्रति सतर्क रहन सम्पूर्ण सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्था, निकाय एवं स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘यस्तो विषम अवस्थामा सरकारी स्वास्थ्य प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई छुट्टीमा नबस्न, तालिम, भेला, गोष्ठी लगायतका सम्पूर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न, २४ सै घण्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औषधि तथा जनशक्तिको व्यवस्था मिलाउन विषेश निर्देशन गर्दछु ।’

साथै करिब ६० प्रतिशत बजेट स्थानीय तहमा नै रहेकोले प्रभावित र पीडितहरुलाई सहजरुपमा सेवा पाउने व्यवस्था मिलाउन पनि मन्त्री पोखरलले अनुरोध गरेका छन् ।

उनले मृतकप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनप्रति समवेदना र बिपत्तीमा परेका सम्पूर्ण घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment