Comments Add Comment

मतदाता बन्न काठमाडौंमा लेखाए ६० हजारले नाम

नाम लेखाउने अधिकांश उपत्यका बाहिरका

२९ साउन, काठमाडौं । सिन्धुपाल्चोक तातोपानीका जाङ्गु लामाले बबरमहलस्थित क्षेत्रीय निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन केन्द्रमा गई फोटोसहितको मतदान परिचय पत्रमा नाम दर्ता गराए ।

पहिलोपटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उनी अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

काठमाडौं बस्दै आएकी गोरखा तान्द्राङकी मायादेवी खनालले गोरखामा रहेको आफ्नो मतदाता नामावली यहाँ सारेकी छन् ।

जाङ्गु र मायादेवीजस्ता मतदाता नामावलीमा नाम छुटेका, नामावली सार्ने र नामावलीमा त्रुटि भएकाले नाम दर्ता गराउने, नामावली सार्ने र त्रुटि सच्याउने कार्य गरिरहेका छन् ।

अहिले काठमाडौंमा रहेका तीन संकलन केन्द्रबाट आगामी संघ र प्रदेश निर्वाचनका लागि देशभरिका मतदान गर्न योग्य नागरिकको नाम दर्ता, ठाउँ सार्ने र त्रुटि सच्याउने कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख चन्द्र गौतमले बताए । उनले ती ठाउँमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि भीड नै लाग्ने गरेको बताए ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय, बबरमहलस्थित जिल्ला समन्वय समिति र राष्ट्रिय सभागृहमा मतदान नामावलीमा छुट भएका नागरिकले गई फोटोसहितको मतदाता परिचय पत्र बनाइरहेका छन् । तीबाहेक साउन १६ गतेदेखि काठमाडौं जिल्लाका १० नगरपालिकाबाट मतदाता परिचय पत्र बनाइरहेका छन् ।

जिल्ला समन्वय समितिमा ११ वटा स्थान र सभागृहमा १० वटा स्थानमा फोटोसहितको नामावली संकलन गर्ने कार्य भइरहेको छ ।

बबरमहलस्थित संकलन केन्द्रमा खटेका कार्यालयका अधिकृत शान्ति बोगटीले फोटोसहितको नामावली दर्ताका लागि सर्वसाधारणको भीड रहेको बताइन् । दैनिक करिब एक हजार पाँचसय मतदाताको नाम दर्ता गर्ने कार्य भइरहेको उनले बताइन् ।

केन्द्रमा १७ जना कर्मचारीले बिहान ७ देखि साँझ ६ बजेसम्म फोटोसहितको नामावली दर्ता गराइरहेका छन् । शान्तिका अनुसार सबभन्दा बढी रामेछाप, सिन्धुली, सिन्धुपाञ्चोक, बारा, पर्सा, सर्लाही जिल्लाका अधिकांश मानिस मतदाता नामावलीमा नाम दर्ता गराउन आएका छन् । उनले दुईदेखि पाँच मिनेटभित्रमा फोटोसहितको नामावली दर्ता गराउने बताइन् ।

अहिलेसम्म काठमाडौंस्थित सो केन्द्रमा करिब ६० हजारले नाम दर्ता गराएका छन् । तीमध्ये ४२ हजार काठमाडौं बाहिरका छन् । उनका अनुसार दुई हजार पाँचजनाको ठाउँसारी र पाँचसयजनाको त्रुटि सच्याउने काम सम्पन्न भएको छ ।

साउन १ गतेदेखि मसान्तसम्म केन्द्रबाट नामावली संकलन भइरहेको छ भने साउन १६ गतेदेखि भने देशभरिका स्थानीय तहबाट पनि नामावली संकलन गर्ने कार्य थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment