१ भदौ, काठमाडौं । रोम साम्राज्यको समयमा इशापूर्व छैठौं शताब्दीतिर निर्माण भएको इटालीको पोम्पे शहरको सडक आजसम्म पनि सद्दे छ । यो शहरमा वर्षेनी २० लाख ५० हजार पर्यटक आउँछन् ।
यता हाम्रो देशको अवस्था भने अर्कै छ । कीर्तिपुर ल्याबरोटरी स्कुलदेखि कीर्तिपुर प्रवेशद्वारसम्मको सडक पिच गरेको एक साता नबित्दै भत्कियो । यसमा को-को जिम्मेवार छन् भनेर अहिले अनुसन्धान चलिरहेको छ । यो एउटा उदाहरण मात्रै हो ।
राजधानीका सडक हिउँदभरि धुलाम्य भएर वषर्ात सुरु भएसँगै अहिले हिलाम्य भएका छन् । ठाउँ-ठाउँमा खाल्डाखुल्डी नभएका सडक देख्न मुस्किल पर्छ । भर्खर पिच गरिएका सडकहरु पनि भत्किन थालेका छन् । एउटै सडक वर्षेनी पिच गर्नुपर्ने अवस्था छ ।
आखिर किन टिक्दैन त सडकमा पीच ? अहिले धेरैजसो राजधानीबासीको मनमा यो प्रश्न उब्जेको छ ।
भ्रष्ट मानिसले सित्तैमा पायो भने अलकत्रा पनि खान्छ भन्ने आहानजस्तै नेपालको सडक निर्माणमा अलकत्रामा समेत भ्रष्टाचार हुने गरेको छ ।
कमसल बिटुमिन प्रयोग
सडक पिच गर्दा प्रयोग हुने प्रमुख तत्व हो, बिटुमिन । तर, केन्द्रीय सडक प्रयोगशालामा परीक्षणका लागि आउने बिटुमिनमध्ये १५ प्रतिशत ५० ग्रेडभन्दा तल्लो रहेको पाइएको छ । विज्ञहरुका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिन ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा मात्रै प्रयोग गर्न पाइन्छ । त्यसैले हाम्रो देशमा यो बिटुमिनको कामै छैन । तर पनि.देशमा अत्यधिक मात्रामा यस्तै बिटुमिनको आयात हुने गरेको छ ।
ठेकेदारहरुले यस्तो कमसल खालको बिटुमिनको प्रयोग गरेर पिच गर्ने गरेका छन् । जसका कारण सडकको पिच छिट्टै उप्कने गर्दछ ।
केन्दि्रय सडक प्रयोगशालाका एक कर्मचारीले भने, ‘हाम्रो देशमा यस्ता बिटुमिन प्रयोग गर्ने ठाउँ नै छैन । तर यस्तो बिटुमिन बिरलै मात्रै अस्वीकृत गरिन्छ ।’
कुनै पनि सडक पिच गर्नुअघि बिटुमिन परीक्षण गर्नुपर्ने हुन्छ । यसरी परिक्षण भएको बिटुमिन उक्त सडकका लागि उपयुक्त भए वा नभएको बारेमा निर्णय गर्ने जिम्मेवारी इन्जीनियरको हुन्छ । तर इन्जिनियरहरुको नै साँठगाँठमा कम गुणस्तरको बिटुमिन प्रयोग गरेर सडक निर्माण भएको छ ।
बिटुमिन परीक्षणमा नै कमजोरी
बिटुमिन परीक्षणका लागि लागि केन्द्रीय सडक प्रयोगशालामा आउने कैयन नमुनाहरु खुला बट्टामा आएका हुन्छन् । त्यसमा कुनै सिलबन्दी हँुदैन । इन्जिनियरको सिफारिसमा आएका यस्ता नमुना ठेकेदारका प्रतिनिधिले नै ल्याउने गर्दछन् ।
इन्जिनियरले राम्रो बिटुमिन नै सिफारिस गरेर पठाएको भए पनि बिचमा ठेकेदारले बदमासी गर्ने ठाउँ प्रशस्त छ । उदाहरणका लागि कुनै सडकमा ३० ग्रेडको बिटुमिन प्रयोग गर्न लागिएको छ भने ठेकेदारले सोही बट्टामा ८० ग्रेडको बिटुमिन ल्याएर परिक्षण गराउन पनि सक्छ । किनकी यसमा सिलबन्दी गरिएकेा हुँदैन । यसो गर्दा ३० ग्रेडको बिटुमिन भए पनि सो सडकमा ८० ग्रेडको बिटुमिन प्रयोग भइरहेको रिपोर्टमा देखिन्छ ।
गुणस्तरीय पिच नै गरिँदैन
उपत्यका निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष बालकृष्ण थापाले सडकको पीच छिटो उप्कनुमा सरकारको मापदण्डमा नै कमजोरी रहेको दावी गर्छन् । उनका अनुसार ३० टनको गाडी गुडाउनका लागि आवश्यक पर्ने सडक निर्माण गर्दा प्रतिकिलोमिटर करिब २५ करोड खर्च हुन्छ । तर, यहाँ भने १० करोडमा एक किमी बनेका सडकहरुमा ठूला सवारी साधन आवतजावत गर्ने गरेका छन् ।
थापाका अनुसार ठूला खालका गाडीहरु गुडाउनका लागि ३५ सेन्टिमिटर ग्राबेल, २५ सेन्टीमिटर बेस र १ सय एमएमको डीभीएम हुनुपर्छ र त्यसमाथि पीच गर्नुपर्छ । तर, अहिले उपत्यकाका अधिकांश सडकमा १५ सेन्टिमिटर ग्राबेल, १० सेन्टिमिटर बेस र ४० एमएमको डीभीएम राखेर पिच गरिन्छ ।
थापाले प्रश्न गरे, ‘कार र जीप गुडाउने स्तरको पिच गरेर ३० टनका गाडी गुडाएपछि के हुन्छ ?’
भू-प्राविधिक अध्ययनबिनाका पीच
मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटाका अनुसार भू-प्राविधिक अध्ययनबिना निर्माण भएका सडक ९० प्रतिशत सफल हुन्छन् भने १० प्रतिशत असफल हुन्छन् ।
महंगो हुने भन्दै सडक बिभागले भू-प्राविधिक अध्ययनबिना नै निर्माण अघि बढाउने उनको भनाइ छ । कीर्तिपुरको सडकमा पनि यस्तो अध्ययन गरिएको थिएन ।
यसैगरी विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन जस्ता कुराहरुको पनि अध्ययन नै नगरी निर्माण सुरु गरिन्छ ।
पीचको शत्रु पानी नै सडकभरि
पीच गरेको सडकमा पानी जम्नु हुँदैन । पीचलाई बिगार्ने पहिलो चिज पानी नै हो । पानी पिचको तलबाट होस् वा माथिबाट जताबाट भए पनि यसले क्षति पुर्याउँछ । तर, राजधानीका सडकमा भने वर्षातको समयमा ठूलो मात्रामा सडकमा पानी जम्ने गरेको छ ।
साथै ढल र पानीको पनि उचित रुपमा व्यवस्थापन हुन नपाउँदा पानी लिकेजले पनि पीच बिगार्ने गरेको छ ।