Comments Add Comment

परीक्षा मिति सरे पनि अस्थायी शिक्षकको आन्दोलन जारी

'एकतर्फी तोकिएको परीक्षा मिति मान्य छैन'

फाइल तस्वीर, भद्रकालिमा अनसन बसेका अस्थायी शिक्षकहरू

५ भदौ, काठमाडौं । सरकारले परीक्षा एक सातापछि सारे पनि अस्थायी शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । आन्दोलनरत अस्थायी शिक्षकहरुले भद्रकालीमा धर्ना र आमरण अनसन जारी राखेका हुन् ।

भदौ ३ गते पूर्वनिर्धारित परीक्षा सार्नुपर्ने उनीहरुकै मागअनुसार शिक्षक सेवा आयोगले एक साता पछि सार्दैै परीक्षा मिति भदौ १० गते तोकेको थियो । तर, अस्थायी शिक्षकहरुले आफूहरुसँग सल्लाह नगरी परीक्षाको मिति तोकिएको भन्दै विरोध जनाएका छन् ।

सरकारसँग वार्ता गर्न अस्थायी शिक्षकको तर्फबाट गठित वार्ता टोली संयोजक मधुकर खड्काले भने, ‘शिक्षक सेवा आयोगले बाढी पहिरोको कारण देखाउँदै परीक्षा सार्‍यो । हामीसँग सल्लाह नै नगरी तोकिएको परीक्षा मिति हामीलाई मान्य छैन ।’

अस्थायी शिक्षकहरुको माग अनुसार सरकारले शिक्षा ऐनमा नवौं संशोधन गरिसकेको छ । आन्दोलनरत अस्थायी शिक्षकहरुको मागअनुसार ऐन संशोधन गरी परीक्षामा विफल भएपनि आर्थिक सुविधा दिने र ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने व्यवस्था थपिएको छ ।

अब आफूहरुको सल्लाहमा परीक्षाको नयाँ मिति तोकिनुपर्ने उनीहरुको माग छ ।

‘ऐन संशोधनपछि सबै प्रक्रिया नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्दथ्यो तर त्यसो हुन नभएकाले आन्दोलन जारी राख्नुपर्‍यो,’ खड्काले भने, ‘१० गतेको परीक्षामा भाग लिने की नलिने भनेर छलफल गर्दैछौं ।’

आफ्ना माग सम्बोधन गर्न माग गर्दै अस्थायी शिक्षकहरुले गत साउन १८ गतेखि भद्रकालीमा आमरण अनसन जारी राखेका छन् । अनशनरत शिक्षकको स्वास्थ्य नाजुक हुँदै गएको छ ।

आन्दोलनरत अस्थायी शिक्षकका माग सम्बोधन गर्ने उद्देश्यले परीक्षा दिने वा सुविधासहित विदाई हुने विकल्प सरकारले अघि सारेको छ ।

सुरुमा परीक्षामा सहभागी हुनेहरुले फेल भए हृयाण्डसेकको सुविधा नपाउने व्यवस्था गरिएको थियो । तर, पछि फेरि फेल हुनेहरुले पनि सुविधा पाउनुपर्ने माग शिक्षकहरुले राखेपछि त्यसैअनुसारको व्यवस्था गरियो ।

सुविधा लिएर सेवाबाट विदा लिने भन्दै परीक्षा फारम नभरेकाहरु पनि अहिले नयाँ व्यवस्थापछि पुनः परीक्षा फारम भर्न पाउनुपर्ने माग गर्दै आएका छन् । त्यसैले परीक्षा सारेर नयाँ ढंगबाट जानुपर्ने प्रमुख माग अस्थायी शिक्षकहरुको छ ।

विगत १७ वर्षदेखि सेवारत अस्थायी शिक्षकहरु करीब २६ हजार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment