Comments Add Comment

नेपालीको प्रतिव्यक्ति ऋण बढ्यो, एक जनाकै थाप्लोमा २४ हजार


७ भदौं, काठमाडौं । एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेको छ । राष्ट्र बैंकको गत आव २०७३/७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको छ ।

केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्ष (सन् २०१७) को जनसंख्या लगभग २ करोड ८८ लाख रहेको छ । यसआधारमा हेर्दा प्रति नेपालीको थाप्लोमा २४ हजार १ सय ४७ रुपैयाँ ऋण रहेको हो ।

गत वर्ष (सन् २०१६) भने नेपालको कुल जनसंख्या २ करोड ८४ लाख रहेको थियो भने सरकारले अघिल्लो आव २०७२/७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब रहेको थियो । यस आधारमा प्रति नेपालीको भागमा २१ हजार ६ सय ३३ रुपैयाँ ऋण पर्न आएको थियो ।

 

सरकारले यसरी तिर्न बाँकी ऋणमा नेपालीहरुलाई २ खर्ब ८३ अर्ब तिर्न बाँकी रहेको हो । अघिल्लो आवमा सरकारले नेपालीहरुबाट उठाएको २ खर्ब ३४ अर्ब ऋण तिर्न बाँकी थियो । चालु आव २०७४/७५ मा भने सरकारले नेपालीबाट १ खर्ब ४५ अर्ब रुपैयाँ उठाउने तालिका सार्वजनिक गरेको छ ।

सरकारले विदेशी मुलुकहरुबाट लिएको ४ खर्ब १३ अर्ब ऋण तिर्न बाँकी रहेको छ । अघिल्लो आवमा भने ३ खर्ब ८१ अर्ब बाह्य ऋण तिर्न बाँकी थियो ।

एक वर्षमा नेपाल सरकारले तिर्न बाँकी रहेको आन्तरिक र बाह्य ऋणमा ८१ अर्बले वृद्धि भएको हो । कुल गार्हस्थ उत्पादन (जीडिपी) को आधारमा हेर्दा भने यो दर घटेको छ । गत आवमा कुल गार्हस्थ उत्पादनको लगभग २७.७ प्रतिशत बराबर यस्तो ऋण रहेको थियो भने चालु आवमा यो दर २६.८ प्रतिशतमा सिमित भएको हो । जीडिपीको तुलनामा बाह्य ऋण घटेपनि आन्तरिक ऋण भने केही बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment