Comments Add Comment

के भारतले कोर्स करेक्सन गर्ला ?

७ भदौ, काठमाडौं । संयोग नै मान्नुपर्छ, जुन दिन सरकारले प्रदेश र संसदको चुनाव घोषणा गर्‍यो, त्यही दिन साँझ संसदले संविधान संशोधन विधेयक अस्वीकृत गर्‍यो । त्यसको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली यात्रामा निस्किएका छन् ।

राजकीय भ्रमण पाँच दिनको छ तर, भेटवार्ताका हिसावले भ्रमणको मुख्य दिन भोलि बिहीबार छ । भोलि प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्नेछन् । यो भेट यसकारण पनि अर्थपूर्ण छ कि यसले भारतले नेपाल मामिलामा आफ्नो पोलिटिकल कोर्स करेक्सन गर्ला नि नगर्ला भन्ने निर्धारण गर्छ ।

१ असोज २०७२ काठमाडौं आर्लिएका मोदीका विशेष दूत तथा विदेश सचिव एस जयशंकरले प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर संविधान केही दिन रोक्न भनेका थिए । तर, दलहरुले नमानेपछि उनले कफ्र्यू लगाएर जारी हुने संविधानलाई कसरी स्वागत गर्ने भन्ने प्रश्न मात्र गरेनन्, ठीक नहुने चेतावनी दिएर फर्किए ।

नभन्दै ३ असोजमा संविधानसभाले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगायो ।

नाकाबन्दीका कारण बिग्रेको कोर्स संविधानको स्वागत नगरुन्जेल करेक्सन भएको मान्न सकिँदैन

नाकाबन्दी हटेपछि भारतले यो कोर्स करेक्सन गरेको छैन । यसबीचमा नेपालमा तीन प्रधानमन्त्री भए । प्रधानमन्त्री केपी ओलीसँग भारतको सम्बन्ध राम्रो हुन सकेन । ८ फागुन ०७२ मा ओली र मोदीबीच भेट भयो तर संयुक्त विज्ञप्ति जारी भएन । कारण थियो, संविधान । भारतले नेपालको संविधान अधुरो रहेको वाक्यांश घुसाउन खोजेपछि संयुक्त वक्तव्य नै जारी भएन ।

त्यसपछि कांग्रेस-माओवादी गठबन्धनबाट प्रधानमन्त्री भएका पुष्पकमल दाहाल र मोदीबीच ३० भदौ ०७३ मा दिल्लीमा भेट भयो । र, संयुक्त वक्तव्य पनि आयो । तर, भारतले नेपालको संविधानलाई स्वागत गरेन, संशोधनका लागि गरेको पहलको समर्थन मात्र जनायो ।

मोदीले भोलि संविधान जारी भएपछिका तेस्रो प्रधानमन्त्रीका रुपमा देउवालाई स्वागत गर्दैछन् ।

यसबीचमा नेपाल-भारत सम्बन्धमा थुप्रै उतारचढाव आए, त्यसमध्ये सबैभन्दा महत्वपूर्ण हो, संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत हुनु । ५ भदौमा संसदमा भएको मतदानमा संशोधनको पक्षमा आवश्यक दुई तिहाई बहुमत पुगेन । यसले प्रष्ट सन्देश दिएको छ, यो संसद रहँदासम्म अब संविधान संशोधनको कोर्स पुरा हुन सक्दैन ।

राजपाले संशोधन विधेयकलाई मतदानमा लैजानुमै चित्त बुझाएको छ र चुनावमा जान तयार भएको छ ।

हो, भोलि मोदीलाई भेट्दा देउवाले संविधान संशोधन कहिले हुन्छ भन्ने प्रश्नको सामना गर्नु पर्नेछैन ।

उसो भए अब भारतले पनि आफ्नो कोर्स करेक्सन गर्छ त ? नेपाल-भारत मालिलाका जानकारहरुका अनुसार जबसम्म भारतले नेपालको नयाँ संविधानको स्वागत गर्दैन, तबसम्म भारतको ‘हस्तक्षेपकारी’ यो कोर्स करेक्सन भएको मान्न सकिँदैन ।

उनीहरुका अनुसार भोलि देउवासँगको भेटपछि हुने संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले चुनावमा सबैको सहभागिता हुने सुनिश्चित भएकामा स्वागत गर्न सक्छन् ।

तर, संविधानको विषयमा मौन बस्न सक्छन् । यसलाई कोर्स करेक्सन मान्न सकिँदैन । किनकि, मौनतापूर्वक नेपालको संविधान अपूर्ण छ भन्ने भारतीय दृष्टिकोण कायमै रहन्छ ।

भलै सत्तारुढ दलका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवालाई संविधानको स्वागत गराउने प्रयास गर्न आग्रह गरेका छन् ।

एक नेता भन्छन्, ‘यदि संविधान संशोधन भएको भए त्यसले सबैलाई समेट्ने स्थिति बन्यो भनेर स्वागत गर्ने सम्भावना थियो । तर, संशोधन नभएकाले आफ्नो अडानलाई गलत सावित हुने गरी वक्तव्य आउने सम्भावना छैन ।’

के होला भारतको अबको कदम ?

संविधानबारे आफ्नो असन्तुष्टि कायम रहे पनि भारतसँग नेपालले लिएको राजनीतिक कोर्सलाई समर्थन गर्नुको विकल्प हुने छैन । त्यसैले उसले चुनावको स्वागत गर्नेछ । कांग्रेसका एक नेता भन्छन्, ‘यसअघि भारतले प्रत्येक पटक सबैलाई समेट भन्दै आएको थियो । अब चुनाव गर र स्थिरताको बाटोमा लैजाऊ भन्ने सन्देश दिन्छ ।’

रणनीतिक रुपमा भने मोदी सरकारले नेपालमा एमाले इतरको गठबन्धनलाई प्राथमिकता दिनेछ । उसका लागि त्यसको विकल्प पनि देखिँदैन । किनकि, वर्तमान गठबन्धनको विकल्प भनेको एमाले अध्यक्ष केपी ओलीको नेतृत्व हो, जुन भारतले चाहेको छैन । त्यसैले आसन्न चुनावलाई हेरेर भारतले वर्तमान सरकार र प्रधानमन्त्री देउवालाई सफल देखाउने प्रयत्न गर्नसक्छ ।

यसका लागि भारतबाट नेपाललाई ठूलै सहयोगको कुनै घोषणा भए अनौठो नहुने जानकारहरु बताउँछन् ।

भलै ओली सरकारको पालामा जस्तो उत्तेजक कूटनीति भारतले वर्षदिनयता नदेखाएको होस्, आफ्नो एजेन्डा छाडिसकेको भने मान्न सकिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् । राजनीतिक ब्युरोमा कार्यरत श्रेष्ठले मधेस र जनजाति राजनीतिमा दख्खल राख्छन् ।

ट्रेन्डिङ

Advertisment