Comments Add Comment

चुरेमा अनियन्त्रित दोहनः रोकिएन क्रसरको दादागिरी

चुरे क्षेत्रमा दर्तै नगरी दोहन, सरकारी र व्यवसायीको आँकडामै दुई सयको फरक


८ भदौ, काठमाडौं । भौगोलिक हिसावले संवेदनशील मानिने चुरे क्षेत्रको दोहनमा अग्रणी भूमिका निर्वाह गरेका क्रसर उद्योगको दादागिरी अझै रोकिन सकेको छैन ।

चुरेलाई संरक्षित क्षेत्र घोषणा गरी राष्ट्रिय आयोजनाका रुपमा अगाडि बढाइए पनि ती क्षेत्रमा क्रसरमार्फत् दोहन जारी छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अनुसार चुरे क्षेत्रले छोएका २७ जिल्लामा अझै पनि चार सय ८१ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।

सर्वोच्च अदालत र सरकारले समेत चुरे क्षेत्रमा क्रसर उद्योग सञ्चालन गर्न रोक लगाएको लामो समय बितिसकेको छ, सरकारी आदेश पालना हुन सकेको छैन ।

समितिका अनुसार चुरे क्षेत्रका अधिकांश जिल्लामा अझै पनि ठूलो संख्यामा क्रसर उद्योग सञ्चालनमा छन् । त्यसमध्ये रुपन्देहीमा सबैभन्दा बढी ९९ वटा छन् । यस्तै, ललितपुरमा ६३, कपिलवस्तुमा २८, बारामा २८, नवलपरासीमा २२ र तनहुँमा १७ वटा सञ्चालनमै रहेको समितिले जनाएको छ ।

‘चुरेको दोहन रोक्न सरकारले क्षेत्र आसपासमा क्रसर सञ्चालनमा रोक लगाए पनि उद्योगीले पालना गरेका छैनन्,’ घरेलु तथा साना उद्योग विभागका एक अधिकारीले भने ।

चुरेको दोहन अत्यधिक बढेपछि सर्वोच्च अदालतले २१ पुस ०६६ मा त्यस क्षेत्रभित्र क्रसर सञ्चालन नगर्न/नगराउन तथा ढुंगा, गिटी, बालुवा निकासी नगर्न/नगराउन अन्तरिम आदेश दिएको थियो । सरकार र संसदीय समितिहरूले पनि चुरेका प्राकृतिक स्रोत/साधनमा दोहन बढेको बताउँदै क्रसर सञ्चालनमा रोक लगाएका छन् । निर्णय कार्यान्वयनको पाटो भने कमजोर छ ।

‘कच्चा पदार्थको सहज उपलब्धताका कारण चुरे आसपासमा धेरै क्रसर सञ्चालन भएका हुन्,’ समितिका एक अधिकारीले भने, ‘त्यहाँका स्रोत/साधनको अनियन्त्रित दोहन गर्ने हेतु देखिन्छ ।’

मापदण्डसमेत मान्दैनन्

सरकारले क्रसर स्थापना गर्न राजमार्ग, खोला किनार र पुलबाट ५/५ सय मिटर र शिक्षण तथा स्वास्थ्य संस्थाबाट २/२ किलोमिटर टाढा हुनुपर्ने मापदण्ड बनाएको छ । यस्तै, घना बस्तीबाट दुई किमि, वन, निकुञ्ज र आरक्षबाट दुई किमि र हाइटेन्सन लाइनबाट सय मिटर टाढा हुनुपर्नेलगायत मापदण्ड छन् । तर, अधिकांश क्रसरले ती मापदण्ड उल्लंघन गर्दै आएका छन् ।

विभागका अनुसार हालसम्म १६ वटाले मात्र मापदण्डअनुसार सञ्चालन अनुमति लिएका छन् । अधिकांशले प्रारम्भीक वातावरणीय परीक्षण (आईईई) समेत पालना गरेका छैनन् ।

यसअघि संसदको प्राकृतिक स्रोत साधन समितिले चुरे क्षेत्रका अधिकांश क्रसर गैरकानूनी र जथाभावी सञ्चालन भएको औंल्याएको थियो ।

अधिकांश क्रसर राजमार्ग र बस्तीसँगै जोडिएको, हाइटेन्सन लाइनबाट नजिक रहेको, विद्युत चोरी गरेको र राजश्व छलीमा संलग्न रहेकोलगायत कैफियतसहितको प्रतिवेदन समितिले बुझाएको थियो ।

१० करोडसम्मको स्थिर पूँजी भएका क्रसरलाई सञ्चालन अनुमति उद्योग विभागले दिन्छ । उक्त विभागले हालसम्म मुलुकभर ४० वटा क्रसरलाई अनुमती दिएको छ । घरेलु तथा साना उद्योग विभागले तीन करोड रुपैयाँसम्म स्थिर पूँजी भएका त्यस्ता उद्योगलाई अनुमति दिने अधिकार पाएको छ ।

घरेलु तथा साना उद्योग विभागका अनुसार हाल मुलुकभर करीव पाँच सय क्रसर सञ्चालनमा छन् । व्यवसायीहरुले भने देशभरमा सात सय यस्ता उद्योग रहेको बताउँदै आएका छन् । सरकारी निकाय र व्यवसायीको आँकडामै दुई सय वटा उद्योगको फरक देखिन्छ ।

खुकुलो कानूनी व्यवस्थाका कारण क्रसरले प्राकृतिक स्रोत/साधनको दोहन गरेको बताउँदै सरकारले २७ असार ०७० मा तिनको सञ्चालनसम्बन्धि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको थियो । पटक-पटक समयसीमा थप्दा पनि उद्योगीहरुले मापदण्डमा आउन अटेर गरिरहेको विभागले जनाएको छ ।


‘सरकारी मापदण्ड पूरा गर्न सकिँदैन’

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले भने सरकारले तोकेको मापदण्ड पूरा गर्न नसकिने बताएको छ ।

सरकारले हचुवाको भरमा नयाँ मापदण्ड लागू गरेको महासंघ आरोप छ । ‘यो विकल्पबिनाको बाटो भयो,’ महासंघका वरिष्ठ उपाध्यक्ष सीताराम न्यौपानेले भने, ‘नेपालभित्र नयाँ मापदण्डअनुसार क्रसर चलाउने ठाउँ नै छैन ।’

यो पनि पढ्नुस्

चुरे दोहनः पञ्चले सुरु गरे, गणतन्त्रमा उत्कर्षमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment