Comments Add Comment

विरोधका बीच शिक्षा ऐनमा नवौं संशोधन, ४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दावी

सरकारले 'महापाप' गरेकाे आरोप

एमाले सांसद गंगालाल तुलाधर र माओवादी केन्द्रका सांसद जनकराज जाेशी

१२ भदौ, काठमाडौं । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको संसदमा चर्को आलोचना भए पनि अन्तत: बहुमतले पारित भएको छ । सत्तारुढ दलकै सांसदले समेत विधेयक फिर्ता लिन माग गरेका थिए ।

सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन-२०२८ मा नवौं संशोधन विधेयक पेश गरेका थिए । सैद्धान्तिक छलफलपछि सो विधेयक पारित गरिएकाे हाे । विधेयकमा अस्थायी शिक्षकलाई परीक्षामा फेल भएपनि आर्थिक सुविधा दिने र ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गरिने ब्यवस्था थपिएको छ ।

छलफलमा सहभागी सत्तारुढ दलकै सांसदले विधेयकको आलोचना गरे । सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न र शिक्षकको मागलाई सम्बोधन गर्न सरकारले सकारात्मक पहल गर्ने उद्देश्यले नवौँ संशोधन विधेयक ल्याएको बताए ।

व्यापक विराेध

छलफलको सुरुमै भाग लिँदै नेकपा एमालेका सांसद एवम् पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले आठौं संशोधन विधेयकलाई कार्यान्वयन गर्नुपर्नेमा षडयन्त्रको चक्रव्यूहमा फसेर सरकारले संशोधनको नाटक मञ्चन गरेको आरोप लगाए । उनले शिक्षक सेवा आयोगलाई पनि निकम्मा बनाउन खोजिएको आरोप लगाए ।

‘यो नवौं संशोधन ल्याउने बेला होइन । गतिशिल शिक्षा मन्त्रीले त संघीय कानुन ल्याउने हो,’ तुलाधरले भने, ‘शिक्षक सेवा आयोगलाई अपांग बनाइएको छ । आफूले गरेको गल्ती ढाकछोप गर्नका लागि गरिएको अर्को महापाप हो ।’

नवौं संशोधनले पनि अस्थायी शिक्षकको समस्या समाधान नहुने भन्दै तुलाधरले भने, ‘यो समाधान होइन, नवौं संशोधन विधेयक यथास्थितिमा पारित गर्ने हो अरु धेरै शिक्षकहरु भद्रकालीमा अनसन बस्न तयार छन् ।’

अहिलेकै स्थितिमा विधेयक पास भए नयाँ शिक्षकहरुलाई ढोका बन्द हुने उनले दाबी गरे । विधेयक पारित भएमा शिक्षक बन्ने चाहना राखेर लाइसेन्स लिएका झन्डै ४ लाख नयाँ जनशक्ति मर्कामा पर्ने तर्क तुलाधरको छ ।

प्रधानमन्त्रीको ठाडो आदेशमा परीक्षा अनिश्चितकालसम्म स्थगित गराइएको भन्दै सांसद तुलाधरले भने, ‘अब निर्वाचन आचारसंहिता लागू भएपछि २६ हजार शिक्षकको समस्या समाधान हुँदैन । उनीहरुले कहिले पनि परीक्षा दिन नपाउने परिपञ्च कायम हुन खोज्दैछ ।’

यसैगरी सत्तारुढ माओवादी केन्द्रका सांसद जनकराज जोशीले नवौं संशोधन विधेयक फिर्ता लिन सरकारलाई अनुरोध गरे । उनले संशोधनमा राजनीति घुसेको भन्दै विरोध गरे ।

‘अस्थायी शिक्षकले स्थायी पदमा विज्ञापन दिने र आयोगबाट नियुक्तिको लागि सिफारिस नभएको अवस्थामा यस्ता शिक्षकलाई सुविधा प्रदान गर्न सकिने भनेर डबल बेनिफिट दिइराख्नु पर्ने कारण के रहेछ ?’ पूर्वसचिव समेत रहेका जोशीले प्रश्न गर्दै भने, ‘यहाँनेर अलि अस्वाभाविक हिसाबले राजनीतिक आएको जस्तो बुझिन्छ ।’

माओवादी केन्द्रकै सांसदहरु रामनारायण बिडारी, पूर्वशिक्षामन्त्री धनीराम पौडेल, श्याम श्रेष्ठलगायतले पनि विराेध गरे ।

यसैगरी एमालेका सांसद चुडामणि जंगलीले शिक्षा ऐनमा नवौं संशोधन विधेयक ल्याएर सत्तासिन दलहरुले यो ‘महालिला’ गरेको टिप्पणी गरे । शिक्षालाई राजनीतिकरण गर्न विधेयक ल्याइएको भन्दै उनले फिर्ता गर्न माग गरे ।

‘आजभन्दा १६ महिना अघि संशोधन गरिएको ऐनलाई कार्यान्वयनमा लगेर के कुरा पुगेन, के अप्ठेरो भयो, के कठिनाइ भयो त्यसको आधारमा संशोधन गर्नुपर्छ । यहाँ केही मान्छेहरुलाई, केही झुण्डहरुलाई खुसी बनाउनको निम्ति नयाँ नयाँ कुराहरु गर्दिने, आश्वासन दिने अनि राजनीतिकरण गर्ने ? यो चाहिँ हुँदैन,’ जंगलीले भने ।

नेमकिपाका सांसाद डिल्लीप्रसाद काफ्लेले अस्थायी शिक्षकहरुको आन्दोलनले शैक्षिक गुणस्तर खस्किएकोतर्फ सरकारले ध्यान नदिएको बरु शिक्षकलाई खुसी पारेर चुनावमा भोट बढाउन विधेयक ल्याएको आरोप लगाए ।

‘सरकार चुनाव अगाडि शिक्षकहरुलाई हातमा लिएर, कार्यकर्ता बनाएर चुनाव जित्ने खेलमा र मत संकलन गर्न तल्लिन छ,’ काफ्लेले भने ।

अस्थायी शिक्षकहरुको संख्या करिब २६ हजार रहेको अनुमान छ । तिमध्ये करिब १० हजार बढीले विगतको व्यवस्था अनुसार गोल्डेन हृयान्डसेकका रुपमा दिइने सुविधा लिन निवेदन दिएका छन् ।

शिक्षा ऐनमा नवौं संशोधनको प्रक्रिया चलिरहेको बेला शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा अनिश्चितकालको लागि स्थगित गरेको छ । यसअघि भदौ ३ गतेलाई परीक्षा मिति तोकिए पनि ऐन संशोधनको माग राख्दै अस्थायी शिक्षकहरुले आमरण अनसन सुरु गरेपछि एक सातापछि सारिएको थियो । तर, भदौ १० गते निर्धारित मिति पनि आफूहरुसँग सल्लाह नगरी एकतर्फीरुपमा तोकिएको भन्दै शिक्षकहरुले विरोध जारी राखेपछि अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment