Comments Add Comment

गोरखाका दुई गर्भवतीको हेलिकोप्टरद्वारा उद्धार

उत्तरी गोरखाको सकसः बाटो–घाटो छैन, दुःख–बिराममा हेलीकै भर

१३ भदौ, गोरखा । सडक सञ्जाल नभएको उत्तरी गोरखामा हेलिकप्टरबाट गर्भवती महिलाहरुको उद्धार हुने क्रम बढेको छ । मंगलवार मात्रै दुईजना गर्भवती महिलाको एकैपटक हेलिकप्टरबाट उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–६ काशिगाउँकी २२ वर्षीया चेतमाया गुरुङ र ३५ वर्षीया माइली गुरुङको उद्धार गरिएको हो । सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि उनीहरुलाइ सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

सोमवार बिहान करिव १० बजेबाट व्यथा लागेर काशिगाउँ स्वास्थ्यचौकी पुगेकी गुरुङले बच्चा जन्माउन नसकेपछि जिल्ला जनस्वास्थ्य कार्यालयलाइ खवर गरियो । खवर भएलगतै कार्यालयका पब्लिक हेल्थ नर्स आरती पाण्डेले क्षेत्रमा समन्वय गरेर हेलिकप्टर मगाइन् ।

‘मिकोनियम स्टेन र बच्चा जन्माउन नसकेको अवस्था रहेछ,’ कार्यालयलका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले भने, ‘बच्चा पाउने घर पुरै खुल्दा पनि बच्चा पाउन नसकेपछि केस जटिल बनेको हो ।’ केस जटिल भएपछि हेली मगाइएको उनले बताए ।

यता, गुरुङलाई लिन आएको हेलिकप्टर काशिगाउँ पुग्न नपाउँदै काशिगाउँ स्वास्थ्य चौकीमा २२ वर्षीया गुरुङ सुत्केरी व्यथा लागेर आइपुगिन् । सुत्केरी हुनु पूर्व नै अत्याधिक रक्तश्राव भएकाले गुरुङलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौं लगिएको कार्यालयले जनाएको छ ।

भदौ महिनामा मात्रै गोरखामा तीनजना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ भने पाँच महिनाको अन्तरालमा पाँच जना गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको दानीले जानकारी दिए । चुम्चेत, केरौजा, लाप्राक र काशिगाउँबाट हेलीमार्फत गर्भवतीको उद्धार गरिएको उनले बताए ।

सडक सञ्जाल नहुँदा उत्तरी गोरखाको साविकको सात गाविसका स्थानीयहरुलाई उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ ।

एक पटक हेलिकप्टर चार्टर गर्दा करिव एक लाख ८० हजार लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गर्भवती महिलाले हेलिकप्टर चार्टर गरेबापत लाग्ने शुल्क स्वास्थ्य मन्त्रालय अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले तिर्ने कार्यालयका दानीले बताए । ‘हिमाली क्षेत्रमा सुरक्षित मातृत्व कोष छ, त्यही कोषबाट सरकारले खर्च गर्छ,’ उनले भने । सडक सञ्जालको अभावमा उत्तरी गोरखाका स्थानीयहरु विभिन्न समस्या भोग्न बाध्य छन् । स्वास्थ्यसँगै शिक्षा, रोजगारजस्ता राज्यले दिने सेवाबाट उनीहरु बञ्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment