Comments Add Comment

अयोधीको चेतावनी-एमालेमाथि अवरोध नरोकिए चुनाव स्थगित हुनसक्छ

माधव नेपालमाथिको आक्रमण प्रयासबारे सरकार र राजपा नेताको ध्यानाकर्षण

१४ भदौ,काठमाडौं । निर्वाचन आयोगले मधेशमा एमालेमाथि अवरोध जारी रहेमा त्यस्ता ठाउँमा स्थानीय तहको निर्वाचन स्थगित गर्ने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले यसबारेमा सरकार र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई जानकारी समेत गराइसकेको बताएका छन् ।

पछिल्लो समयमा राजपा कार्यकर्ताले एमालेका चुनावी र्‍याली, भेला र बैठकहरुमा अवरोध जारी राखेपछि आयोग गम्भीर भएको हो ।

मंगलबारमात्रै जनकपुरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालमाथि आक्रमण प्रयास भएको थियो ।

प्रमुख आयुक्त अयोधीप्रसाद यादवले माधव नेपालमाथिको आक्रमण र एमालेका कार्यक्रममा भइरहेको अवरोधबारे निर्वाचन आयोग गम्भीर बनेको बताए । अनलाइनखबरसँग कुरा गर्दै यादवले भने-‘यसलाई त अत्यन्त गम्भीर रुपमा लिएका छौं । हामीले छानविन थालिसकेका छौं ।’

आफूले राजपाका केही नेतासँग पनि कुरा गरिसकेको र सरकारलाई पनि यसबारेमा गम्भीरतापूर्वक सचेत गराइएको यादवले बताए ।

उनले भने-‘मैले त राजपाका एक दुई जना नेतालाई भनेको छु-यदि तपाईहरुले स्वतन्त्रतापूर्वक प्रचार गर्ने काममा अवरोध गर्नुभयो भने त्यस्तो ठाउँमा निर्वाचन स्थगित हुन सक्छ । यो कुरा सरकारलाई पनि भनिएको छ ।’

चुनावी कार्यक्रम बिथोल्ने र अवरोध तथा निषेध गर्ने कार्यमा उम्मेदवार प्रत्यक्ष संलग्न भएको पाइमा उम्मेदवारी रद्द हुन पनि सक्ने उनले बताए । जनकपुर लगायतका ठाउँमा एमालेमाथि भइरहेको अवरोधका घटनाबारे आयोगले छानविन गरिरहेको उनले बताए ।

यादवले भने-‘जनकपुरको घटनामा राजपाका कार्यकर्ता हो कि होइन भनेर यकिन गर्दैछौं । मिडियामा आए अनुसार राजपा कार्यकर्ता हुन् । स्वतन्त्रतापूर्वक निर्वाचन प्रचार प्रसारमा जाने सबै दलको मौलिक अधिकार हो । कसैले अवरोध गर्छ भने खेदजनक कुरा हो । मैले छानविन गर्न भनिसकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment