Comments Add Comment

भारतीय बाँधका कारण तराई डुब्योः प्रचण्ड

१५ भदौ, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दक्षिणी सिमानामा भारतले निर्माण गरेका बाँधका कारण तराई मधेसका अधिकांश भागहरुले वर्षायाममा ढुवानको बिपत्ती खेप्नुपरेको बताएका छन् ।

केही दिन अघि मधेसका जिल्लाहरुमा आएको बाढी र क्षतिको अनुगमन गर्न रौतहट आएका पूर्व प्रधानमन्त्री प्रचण्डले भारतीय सीमानामा रहेका बाँधहरु र पानी निकासका ढोकाहरु समयमै भारतीय पक्षले नखोल्दा नेपाली पक्षको ठूलो धनजनको क्षति व्यहोर्नुपरेको बताए ।

आफूलाई चाहिने पानी खोल्ने र बाढीका बेलामा बन्द गर्ने प्रवृतिले नेपाल र सिमावर्ती भारतीय सहरहरु पनि डुबानमा परेको उनको आरोप छ ।

‘परराष्ट्र मन्त्रालय र भारतीय दूतावाससँग कुरा गर्दा पनि भारतीय पक्षले बाँधका ढोकाहरु समयमा नखोलिएकाले बाँध भत्कँदा उता (भारत)मा पनि क्षति भएको र नेपालीहरु पनि डुबानमा परेको पाइएको छ ।’

अध्यक्ष प्रचण्डले भने, ‘बाँधका ढोकाहरु समयमै खोलेको भए क्षति कम हुन्थ्यो, नेपाल सरकारले अविलम्ब भारतीय पक्षसँग कुटनीतिक वार्ता गरेर यसखालको समस्या भविष्यमा नआउने ग्यारेण्टी गर्नु पर्छ ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमणका समय आफूले यस विषयमा कुरा गर्न प्रधानमन्त्रीलाई जानकारी गराएकोसमेत उनले बताए । भारतले आˆना बाँधको पुनरावलोकन गर्नुपर्ने र कुटनीतिक रुपमै दुवै पक्षका कर्मचारी बसेर यो समस्या समाधान गर्नुपर्ने उनको तर्क थियो ।

रौतहट उद्योग वाणिज्य संघले बाढीबाट भएको क्षतिको सम्बन्धमा जानकारी गराउन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढीबाट सबैभन्दा प्रभावित रौतहट जिल्ला भएको र त्यसमा पनि सदरमुकाम गौरमा ठूलो क्षति भएको आफूले अनुभव गरेको बताएका थिए ।

बाढीले व्यापार तथा कृषि क्षेत्र सहित ठूलो क्षति गराएकोले उद्योगी व्यापारीको माग अनुसारनै रौतहट जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गराउन प्रधानमन्त्रीलाई अनुरोध गर्ने उनले बताए ।

म प्रधानमन्त्री भएको भए रौतहटलाई संकटग्रस्त घोषणा गर्थें, तर, प्रधानमन्त्रीको चाबी मसँगै छ र रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गराउने प्रतिबद्धता व्यक्त गर्छु ।’ प्रचण्डले भने ‘व्यापारी तथा कृषकहरुको क्षतिका बारेमा मन्त्रालयहरुले समेत काम गरिरहेकोले राहतका प्याकेज पनि जिल्लामा आउनेछ ।’

गठबन्धनसहित चुनाव लड्ने तयारी

स्थानीय तहको तेश्रो चरणको चुनावका लागि विभिन्न राजनितिक दलहरुसँग गठबन्धनका बारेमा छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए । तराई मधेशका जिल्लाहरुमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताउँदै उनले मधेसवादी दल तथा कांग्रेससँग पनि मिलेर चुनावमा जाने बारेमा कुरा भएको बताए ।

‘राजपा र उपेन्द्रजीको पार्टीसँग पनि गठबन्धनका बारेमा कुरा भएको छ । मधेशका मागहरु सम्बोधनका लागि माओवादी केन्द्रले पहल गरे पनि संसदमा एमालेको कारण संशोधन पास हुन सकेन ।’ संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने ‘एउटा पार्टी विषेशसँग मात्रै होइन हामीले धेरै जनासँग गठबन्धनका बारेमा कुरा गर्दैछौं । चुनावका उम्मेदवारका बारेमा ७० प्रतिशत टुङ्गो लागेको छ ।’ अन्य दलसँग चुनावमा तालमेल गर्ने सम्भावना रहे पनि एमाले सँग भने गठबन्धनको सम्भावना नरहेको उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड सँगै शहरी विकास मन्त्री प्रभु साह र अन्य सांसदहरु रौतहटमा बाढी पीडितको अवस्था अनुगमनका लागि बाढी प्रभावित विभिन्न क्षेत्रहरुमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment