Comments Add Comment

मधेसमा कुन पार्टीको ल्याकत कति ?

पहिलोभन्दा दोस्रो स्थानका लागि धेरै दलको होडबाजी

१६ भदौ, काठमाडौं । असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय चुनावमा पहिलो दलको दाबी गर्ने मुख्यतः तीनवटा पार्टी मैदानमा देखिएका छन् ।

नेपाली कांग्रेसले सुरुदेखि नै आफू पहिलो बन्ने दाबी गर्दै आएको छ । एमालेले पनि अघिल्ला दुई चरण्का चुनावमा जस्तै मधेसमा पनि आफू पहिलो ठूलो दल बन्ने दाबी पेश गरिरहेको छ । तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले पनि मधेसमा पहिलो दल बन्ने दाबी पेश गरेको छ ।

मधेसकेन्द्रित दलका रुपमा परिचित राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले मधेसमा पहिलो दल बन्ने दाबी खासै गरेको देखिँदैन । तथापि उनीहरु दुई नम्बर प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिमा छन् ।

मधेसमा कुन पार्टीको अवस्था कस्तो होला ? यसबारे चुनावअघि नै बताउन सकिँदैन । आचार संहिता लागिसकेको अवस्थामा पूर्वसर्वेक्षण गर्न पनि पाइँदैन । तर, विगत ०७० सालको चुनावमा मधेसका ८ जिल्लामा कुन पार्टीको मत कस्तो थियो भन्नेबारेमा चाहिँ विश्लेषण गर्न सकिन्छ ।

संविधानसभामा कसको भोट कति ?

हामीले यहाँ ०७० सालको संविधानसभामा तराईका ८ जिल्लामा प्रमुख ६ वटा पार्टीले समानुपातिकतर्फ कति मत ल्याएका थिए भन्ने यहाँ चर्चा गर्ने प्रयास गरेका छौं ।

निर्वाचन आयोगमा रहेको रेकर्ड अनुसार ०७० को चुनावमा नेपाली कांग्रेसले दुई नम्बर प्रदेशका ८ जिल्लामा पाएको समानुपातिक मत कुल ३ लाख १३ हजार ९ सय ६६ पुग्छ । यो मत मधेसमा दलहरुले पाएको मतमध्ये सबैभन्दा धेरै हो ।

समानुपातिकतर्फको मतमा एमाले दोस्रो बनेको थियो । एमालेले ८ जिल्लामा समानुपातिकतर्फ २ लाख ८५ हजार ७ सय ६२ मत पाएको थियो ।

संविधानसभाको चुनावमा प्राप्त समानुपातिक मत परिणामको हिसाबले माओवादी पार्टी तेस्रो स्थानमा थियो । उसले ०७० को चुनावमा ८ जिल्लामा पाएको समानुपातिक मत २ लाख ११ हजार ४ सय ५२ थियो ।

तमलोपा, सदभावना लगायतका पार्टीहरु मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन नभइसकेको अवस्थामा मधेसमा ०७० सालको चुनावमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम तेस्रो स्थानमा थियो । फोरमले ८ जिल्लामा पाएको समानुपातिकतर्फको मत १ लाख २१ हजार ९६ मत थियो ।

त्यसैगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले ८ जिल्लामा समानुपातिकतर्फ ९६ हजार ६ सय ३७ मत पाएको थियो ।

एमाले र राजपाको हाराहारी मत  ?

पछिल्लो राजनीतिक समीकरण अनुसार ०७० सालको मतांकलाई आधार मान्ने हो भने राजपालाई मधेसको तेस्रो शक्ति मान्नुपर्ने हुन्छ । र, आगामी चुनावमा एमाले र राजपावीच निकै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

एकीकृत राजपाको मधेसका ८ जिल्लाको मतलाई जोडेर विश्लेषण गर्दाखेरि आशन्न चुनावमा एमाले र राजपावीच को ठूलो दल बन्ने भन्ने प्रतिस्पर्धा चल्ने देखिन्छ

दोस्रो संविधानसभामा तमलोपा, सदभावना लगायतका घटकहरुले पाएको समानुपातिकतर्फको मत जोड्दा करिब अढाइ लाख भन्दा बढी हुन आउँछ । यो मत भनेको माओवादीको भन्दा बढी र एमालेको हाराहारी हो ।

एकीकृत राजपाको मधेसका ८ जिल्लाको मतलाई जोडेर विश्लेषण गर्दाखेरि आशन्न चुनावमा एमाले र राजपावीच को ठूलो दल बन्ने भन्ने प्रतिस्पर्धा चल्ने देखिन्छ ।

अहिले मधेसमा एमाले र राजपाका वीचमा जुन प्रकारको पौंठेजोरी चलिरहेको छ, यसले पनि यी दुई पार्टीवीचको समान हैसियतलाई संकेत गर्दछ ।

विगतको मत परिणामले अरुभन्दा केही अगाडि रहेको नेपाली कांग्रेसलाई कमजोर पार्नका लागि एमालेले राजपालाई आफ्नो नजिक ल्याउने प्रयास गरेको थियो । तर, परिस्थिति भड्किएर एमाले र राजपावीच सहकार्यभन्दा पनि प्रतिस्पर्धा हावी भएको छ ।

एमाले र राजपावीचको बढ्दो दुरीबाट कांग्रेस र माओवादी दुबैले फाइदा उठाउने दाऊ छोपिरहेका छन् ।

प्रचण्ड ‘अफेन्सिभ’ गच्छदार ‘डिफेन्सिभ’ 

आगामी स्थानीय चुनावमा पहिलो दल बन्ने माओवादीले दाबी गरिरहे पनि विगतको मत परिणामलाई हेर्दाखेरि माओवादीको प्रयास भनेको मधेसमा दोस्रो दल बन्ने नै हो । विगतमा उसको स्थान तेस्रो थियो, तर राजपाको एकतापछि मधेसमा माओवादीको मतांक चौथो हो ।

तर, पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्ड मधेस पसेका छन् र उनी आक्रामक ढंगबाट अघि बढेका छन् । जनकपुरमा सप्तरीका सदभावना नेता अनिस अन्सारीलाई पार्टीमा प्रवेश गराएका प्रचण्डले सर्लाहीका विजय गच्छदार नेतृत्वको फोरम नेतृत्वका शीर्षनेता रामेश्वर रायलाई माओवादीमा प्रवेश गराएका छन् ।

 

प्रचण्डले नयाँ शक्ति पार्टीका रामचन्द्र झा, रामकुमार शर्मा लगायतलाई पनि माओवादीमा फर्काएका छन् । यो अभियानसँग माओवादीले मधेसमा आफ्नो पक्षमा माहौल ल्याउने प्रयास गरेको छ ।

तर, जति नै प्रयास गरे पनि उसले नेपाली कांग्रेसलाई नै जितेर मधेसमा पहिलो पार्टी बन्न सक्ने परिस्थिति अहिल्यै बनिनसकेको विश्लेषण जिल्लाबासीहरुको छ ।

मधेसमा माओवादी जति आक्रामकरुपमा अगाडि आएको छ, विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम भने रक्षात्मकजस्तै देखिएको छ । आफ्ना ठूला नेता नै माओवादीमा प्रवेश गरेपछि गच्छदारको पार्टीलाई धक्का लागेको छ ।

गच्छदारले राजपा र संघीय फोरमबाट पनि प्रहारको सामना गरिरहनुपरेको छ । यस्तो बेलामा कांग्रेस, माओवादी सबैले गच्छदारको भोट आफूतिर तान्ने रणनीति बनाएको देखिन्छ ।

गत संविधान सभाको चुनावमा पनि दुई नम्बर प्रदेशमा गच्छदारको पार्टीले खासै धेरै मत ल्याएको थियो । अहिले मधेस आन्दोलनको राप र ताप घटेका बेलामा उनको पक्षमा खासै माहौल देखिँदैन ।

तर, राजपा नेताहरुको एउटा टोली भने विजय गच्छदारसँग पनि सहकार्य गरेर मधेसमा आफ्नो उपस्थिति मजबुद पार्ने रणनीतिमा छ ।

कांग्रेस र संघीय फोरममा सन्नाटा ?

मधेसको पहिलो ठूलो दल नेपाली कांग्रेस र मधेस आन्दोलनको अग्रणी दल संघीय समाजवादी फोरम भने चुनाव नजिक आइरहँदा पनि एमाले, माओवादी र राजपा भन्दा शान्त देखिएका छन् । उनीहरु उम्मदेवारी घोषणा गर्नतिर लागेका छन् ।

विगत ०७० को चुनावमा उपेन्द्र यादवको पार्टी मधेसमा चौथो स्थानमा रहे पनि अशोक राई समूहसँग पार्टी एकता गरेपछि उसको मत बढेको छ । साथै पछिल्लो मधेस आन्दोलनबाट पनि यादवले शक्ति आर्जन गरेको विश्लेषण गरिँदै आएको छ ।

यो स्थितिमा उपेन्द्र यादवका प्रतिस्पर्धी दलहरु भनेका एमाले र माओवादी हुन् । आगामी चुनावमा संघीय फोरमले माओवादी, राजपा र एमाले तीनैवटा दललाई जित्यो भने दोस्रो स्थानमा आफूलाई उभ्याउने छ । कांग्रेसलाई पनि जित्यो भने पहिलो स्थानमा आउने छ ।

तर, फोरमको प्रतिस्पर्धा पनि पहिलोका लागि नभएर दोस्रो वा तेस्रोका लागि हुन सक्ने ०७० सालको मत परिणामका आधारमा विश्लेषण गर्न सकिन्छ ।

तर, मधेसमा उपेन्द्र यादवका लागि राजपा मुख्य चुनौती बनेको छ । विगतमा एक्लाएक्लै लडेका मधेस केन्दि्रत दलहरुको सामना संघीय फोरमले एक्लै गर्नुपर्ने अवस्था छ ।

नेपाली कांग्रेस मधेसमा फेरि पनि सबैभन्दा ठूलो दल बन्नेमा ढुक्क देखिन्छ । र, यसैले हुनुपर्छ उसले २ नम्बर प्रदेशमा खासै चुनावी चहल-पहल बढाएको देखिँदैन । पार्टीका नेताहरु फिल्डमा भन्दा पनि टिकटका लागि काठमाडौंमा केन्दि्रत भएका छन् ।

तर, मधेसमा नेपाली कांग्रेसका मुख्य चुनौती भनेको एमाले र राजपा हुन् । माओवादी पनि उसका लागि थोरै तिनै चुनौती हो ।

तालमेलको हल्ला

दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनमा कतिपय दलवीच चुनावी तालमेल हुने हल्ला पनि चल्ने गरेको छ । एमाले र राजपावीच तालमेल हुने हल्ला लगभग खारेज भइसकेको छ ।

चुनावमा मधेस केन्द्रित तलहरुवीच मोर्चा बन्ने सम्भावना पनि नभएको होइन, तर राजपा र संघीय समाजवादी वीच बैचारिक कम तर जुँगाको लडाइँ बढ्दा मुखरित भएकाले चुनावी मोर्चाबन्दी दुरह बन्न थालेको छ ।

तथापि २ नम्बर प्रदेशको चुनावमा कांग्रेस र राजपा, माओवादी र कांग्रेस, माओवादी र मधेसवादी अनि एमाले र माओवादी समेतको तालमेलको हल्ला चाहिँ चल्न छाडेको छैन ।

तथापि अहिलेसम्मको जोडघटाउ हेर्दाखेरि दलहरु एक्लाएक्लै नै चुनाव लड्ने सम्भावना नै बढ्ता देखिन्छ ।

पहिलो र दोस्रो चरणको चुनावमा माओवादीले कांग्रेसलाई भोट लिएर गुन लगाएको थियो । तर, दुई नम्बर प्रदेशमा भने माओवादीले आफ्नो प्रतिष्ठा जोगाउनुपर्ने भएकाले उसले कांग्रेसलाई गुन लगाउने सम्भावना त्यति धेरै देखिँदैन ।

(माथि प्रस्तुत गरिएको ०७० सालको मतांकमा मधेस केन्द्रित दलहरुको मत पार्टी एकताका कारण केही तलमाथि हुन सक्छ- सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment