Comments Add Comment

‘निसानलाई ३ वर्षमा नेपालको टप-२ ब्राण्ड बनाउँछौं’


जापानिज अटो ब्राण्ड निसानले नेपालमा नयाँ आधिकारिक वितरक तोकेको छ । आफ्नो सब्सिडरी डाटसन गाडीको वितरकको रुपमा सफल भएपछि निसानले पायोनियर मोटोकर्पलाई आधिकारिक वितरक नियुक्त गरेको छ ।

निसानको वितरकको जिम्मेवारी पाउनासाथ पायोनियरले गाडीको मूल्य घटाएर आक्रमक बजार विस्तारको संकेत गरेको छ । स्थापित ब्राण्ड भएर पनि सबैजसो पाटोबाट नेपालमा कमजोर उपस्थिति जनाइहेको निसान अब नयाँ रुपमा आउने प्रारम्भिक संकेतहरु देखिएका छन् ।

निसानको खस्किएको साखलाई पुनर्जिवित गर्न पायोनियरले के गर्दै छ त ? पायोनियर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीप सारदासँग कुराकानी गरेका छौं । सारदासँगको कुराकानीको सार संक्षेपः-

नेपालमा २० औं बर्षदेखि निसानको उपस्थीति थियो । हालै तपाईहरुले आधिकारिक विक्रेताको जिम्मेवारी लिनुभएको छ । अब हिजोको दिनमा भन्दा के हिसावले फरक हुने निसानको रणनीति ?

बिश्व बजारको कुरा गर्नुहुन्छ भने निसान संसारकै एग्रेसिभ कम्पनी हो । सन् २०१७ को पहिलो ६ महिनामा विश्वकै सबैभन्दा बढी गाडी बेच्ने ब्राण्ड हो निसान । हामीले निसानको जिम्मेवारी लिएसँगै नेपालमा पनि हामी त्यहि गतिमा जान खोज्दै छौं ।

अहिले नै हेर्नुभयो होला, निसानको पहिलेको प्राइसिङ र अहिलेको प्राइसिङमा निकै फरक छ । अब पाट्र्सको प्राइसिङ पनि धेरै नै फरक हुन्छ । हामी सानो भोल्युममा काम गर्ने हिसावले आएकै होइनौं ।

हामी एकदमै एग्रेसिभ रुपमा प्रोमोसनमा लाग्नेछौं र ठूलो स्केलमा प्रोमोट गर्ने छौं ।

नाडा अटो सोमा आउने ग्राहकहरुमा निसान ब्राण्डप्रति कुनै द्विविधा नै छैन । हिजो आफ्टर सेल्स सर्भिस राम्रो थिएन होला, कष्ट अफ वनरसीप महंगो थियो होला, कष्ट अफ पार्टस् महंगो थियो, गाडीहरुको प्राइस महंगो थियो, मार्केटिङ र ब्राण्डिङ थिएन, स्किम थिएन । अब त्यो सबै कुरा हामीले एकसाथ ल्याएका छौं । त्यसैले अब निसान हिजोको अवस्थामा रहँदैन, केही समयमै धेरै कुरामा फरकपन पाउनुहुने छ ।

नेपाली अटो बजारमा धेरै विश्वस्तरीय कम्पनीहरु प्रतिस्पर्धामा छन् । यो बीचमा निसान कुन पक्षमा बढी एग्रेसिभ हुन्छ ?

हामी एक पाटोबाट मात्रै हैन, सबै पक्षबाट एग्रेसिभ हुने हो । अब हामी कस्ट अफ वनरसीपमा पनि एग्रेसिभ हुँदैछौं । जस्तो कि गाडी मान्छेले किन्छ, त्यसको पार्टसको सुविधा र कष्टको कुरा हुन्छ । त्यसलाई हामी उपभोक्तालाई सहज र सुलभ हुने गरी सम्बोधन गर्दैछौं ।

दोस्रो कुरा हिजो निसान गाडी कहाँ पाइन्छ भन्ने कुरामा नै पनि द्विविधा थियो, अहिले हामीले जुन किसिमले मार्केटिङ गर्दैछौं, त्यसले हामीलाई निकै अगाडी ल्याउने छ ।

तेस्रो कुरा, स्किम र प्राइसिङ अफरले सहज गर्छ । सर्भिसमा पनि हामी फोकस छौं । हामीले देशभर सर्भिस सेन्टर स्थापनाका लागि काम थालिसकेका छौं ।

हामीले १२ देखि १४ ठाउँमा डिलरसीप खोलेका छौं, जुन ३ देखि ४ महिनाभित्र सबै तयार हुन्छ । त्यसपछि हाम्रो सेवा अर्को स्केलको हुनेछ ।

तपाईंहरुले निसानमा के त्यस्तो सम्भावना देख्नुभयो जसले गर्दा निसानको डिलरसीप लिने निर्णयमा पुग्नुभयो ?

अहिले निसान के हो र कस्तो ब्राण्ड हो भनेर कस्टमरलाई बताइरहनु पर्दैन । हिजोको वितरक कस्टमरको माझ नगएको गुनासो सुनिएको हो ।

कष्टमर खोज्दै हिँडेका थिए, कहाँ गाडी पाइन्छ, कहाँ सर्भिस पाइन्छ, किन पार्ट्सको प्राइस राम्रो छैन, किन गाडीको दाम एग्रेसिभ छैन, किन हामीसम्म निसान आइदिएन भन्ने गुनासो थियो ।

त्यो कुरालाई हल गर्ने हो भने निसानका लागि नेपालमा प्रचुर सम्भावनाहरु छन् । हामी त्यही पाटोलाई चिर्दै कस्टमरमाझ उपस्थित भएर सम्भावनालाई खोतल्ने प्रयास गर्दैछौं ।


कस्टमरलाई कस्ट अफ वनरसीप, गूड प्राइसिङ, भिजिबिलिटी र स्तरीय सर्भिस चाहिएको छ । त्यो त हामी गछौं ।

डाटसनको वितरकका रुपमा तपाईंहरु सफल हुनुभयो । निसानले चाहिँ आगामी दिनमा नेपाली बजारमा आफ्नो कस्तो उपस्थीति देखाउने छ भन्ने लाग्छ ?

निसानको टार्गेट पहिलो वर्षमा टप-फाइभमा आउने हो । हामी महत्वकांक्षा बोक्दैनौं, अबको ३ वर्षमा हामी नेपालको टप-२ ब्राण्ड बन्छौं । यो नै हाम्रो लक्ष्य हो ।

हाम्रो ब्राण्डमा त्यतिको ‘वेट’ छ, मात्रै अब हामीले यसलाई कसरी मार्केटिङ गर्छौं भन्नेमा निर्भर हुन्छ । निसानको इण्डियाबाट धेरै ठूलो लाइन अप आउँदैछ । नयाँ एसयूभी आउँदैछ, स्मल एसयूभी र मिडियम एसयूभी पनि आउँदैछ । जापान र थाइल्याण्डबाट प्रिमियम गाडी पनि आउँदैछन् ।

अब हामी नेपाल सेन्ट्रिक मोडल ल्याउँछौं । निसानसँग कुल ४०-५० वटा मोडल छन् । सबै गाडी सबै देशका लागि उपयुक्त हुँदैन । त्यसै हामी यहाँका लागि रिसर्च गरेर ८-१० वटा उपयुक्त प्रोडक्ट मात्रै ल्याउँछौं । यी गाडी नेपाली बाटोको लागि उययुक्त हुनेछन् ।

हामी नेपाली ग्राहकको आवश्यक्ता र यहाँको बाटोको अवस्था दुबैलाई हेरेर रणनीति बनाउँछौं ।

त्यसोभए निसानले नेपालमा अब आफ्ना प्रोडक्टलाई क्लास र मास दुबैमा फोकस गर्छ ?

हो, हामी दुबैमा फोकस हुन्छौं । हामीसँग हरेक किसिमका हतियार छन् । हामीसँग न्यु माइक्रा एक्टिभदेखि टप निशान पेट्रोलसम्म छ । निशान पेट्रोल निकै प्रिमियम सेगमेन्टमा पर्छ ।

त्यसैले हाम्रो टार्गेट सबै किसिमका ग्राहकका लागि गाडी उपलब्ध गराउनेमा हुन्छ ।

हामी भारतबाट मात्रै होइन कतिपय प्रोडक्ट जापानबाटै पनि ल्याउँछौं । बी र सी सेगमेन्टका कारहरु त इण्डियाबाट आउँछ ।

स्मल कार, ह्याचब्याक, सेडान, स्मल र मिडियम एसयूभी भारतबाटै आउँछ । जापानबाट प्रिमियम गाडी आउँछन् । जापानबाट उर्बान, एक्स-ट्रेल, निसान पेट्रोल लगायत आउँछ भने थाइल्याण्डबाट नभारा आउँछ ।

त्यो सेगमेन्टहरु नेपालका लागि उपयुक्त मान्छौं । त्यसैले ग्राहकलाई हामी धेरै विकल्प दिन्छौं । सँगै सेवामा कुनै सम्झौता पनि गर्दैनौं ।

तपाईंले पटक-पटक कस्ट अफ अनरसीप र सर्भिसको कुरा गर्नुभयो । पार्टसमा सहजता र सर्वसुलभ सेवाका लागि तपाईंहरुले कसरी आफ्ना पूर्वाधारहरु बनाइरहनुभएको छ ?

हामी आवश्यक पूर्वाधार निर्माण र ब्यवस्थापनका लागि सक्यौं । तत्काल १४ वटा सर्भिस स्टेशन तयार गर्दैछौं । काठमाडौंको सर्भिस स्टेशन पनि हामी अपग्रेड गरिरहेका छौं । यो ठूलो रुपमा आउँछ । पार्ट्सलाई सर्भसुलभ पनि गर्छौं ।

पार्ट्स हरेक ठाउँमा पुग्ने र स्वभाविक मूल्यमा उपलब्ध गराउनु अहिलेको अवश्यकता हो । हामी एकदकै कम नाफा लिएर काम गर्ने योजनामा छौं । हामीले निसान गाडी न्युनतम् २३ लाख ९९ हजार रुपैयाँमा उपलब्ब्ध गराएका छौं ।

मान्छेले विश्वास गरेका छैनन् कि नेपालमा निसान गाडी २३ लाख ९९ हजारमा पाइन्छ भनेर । हो, हामीले मान्छेमा विश्वास जगाएका छौं कि निसान जस्तो ब्राण्डका गाडी यति सस्तोमा पनि पाइन्छ । त्यसैले हामी हाम्रो योजनामा सफल हुनेमा ढुक्क छौं ।


डाटसनलाई स्थापित गर्न तपाईंहरु सफल हुनुभयो । अब एउटै कम्पनीले निसानको पनि काम गर्दै छ । अब तपाईहरुको जोड निसानतिर धेरै हुने र डाटसनलाई स्याडोमा राख्ने हो ?

कम्पनी एउटै भए पनि निसानको टिम पूर्ण रुपमा नयाँ हुन्छ । डाटसनको टिमसँग यसको सरोकार हुँदैन । डाटसन र निसान पूर्ण रुपमा अलग रहन्छन र हामी दुवै ब्राण्डलाई उत्तिकै प्रोमोट गर्छौं । त्यो किनभने, डाट्सनको रेञ्ज जहाँबाट सकिन्छ, निसान त्यहीँबाट सुरु हुन्छ ।

निसानको टिम र मार्केटिङ स्टाटेजी पुरै बेग्लै हुन्छ । निसान मिडियम प्रिमियम रेञ्जमा भएकाले यसलाई हामीले फरक रुपमा प्रस्तुत गर्छौं ।

अन्तमा, निसानलाई माया गर्ने र यसबारे चासो राख्नेहरुलाई केही भन्नु छ ?

निसान अब नेपालमा निकै बलियो भएर आएको छ । हामी त्यतिकै एग्रेसनका साथ आएका छौं । अब तपाईंहरु कुनै आशंका र द्विविधा नमानी निसान लिनुस्, यसलाई माया गर्नुस् ।

हामी तपाईंको सेवामा तत्पर र जिम्मेवार छौं । सर्भिसदेखि, पार्टस्, प्राइस र अरु सबै कुरामा हामी प्रतिस्पर्धी भएर आएका छौं ।

हामी सबै सेगमेन्टमा सबैभन्दा प्रतिस्पर्धी र राम्रो भएर आउँछौं । जापनिज प्रोडक्टलाई नेपालीले वर्षौंदेखि विश्वास गर्दै आएका छन् । हामी यो विश्वासलाई अझ नयाँ उचाइ दिन चाहान्छौं ।

प्रस्तुतिः रविन्द्र घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment