Comments Add Comment

चितवनमा सुपथ मूल्य पसल सञ्चालन

फाइल तस्वीर
१८ भदौ, चितवन। दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए ।

यसपाली बजारमूल्यभन्दा अलि सस्तो भएकाले सुपथ मूल्य पसलमा चिनी र नून धेरै बिक्री हुने अनुमान रहेको उनले बताए ।

उक्त पसलमा चिनी ७७.५० छ भने नून १८ प्रतिकिलो छ । बाहिर बजारमा भने चिनी  ८५ र नून २० मा बिक्री हुने गरेको छ ।

विगत वर्षमा सामान्य मात्रै फरक भए पनि यसपाली मूल्यमा निकै फरक रहेको भन्दै उनले सुपथ पसलमा ग्राहको संख्या बढ्ने आशा व्यक्त गरे ।

साल्ट ट्रेडिङमा स्टक सामान पर्याप्त रहेकाले चाडबाडका कुनै पनि ग्राहक फर्किनु नपर्ने जनाइएको छ । सरकारले दिएको निर्देशनअनुसार पसल शुरु गरिएको भन्दै यसले सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

गत वर्ष सुपथ पसलबाट रु ५६ लाखको बिक्री भएको थियो । यो वर्ष करिव एक करोड बराबरको सामान बिक्री हुने अनुमान छ । विगतका वर्षमा घुम्ती पसल सञ्चालन गरिएकाले गाउँगाउँका सर्वसाधारणलाई समेत राहत मिलेकामा यसपटक भने उक्त कार्यक्रम नहुँदा ग्रामीण भेगका सर्वसाधारण बजारको महँगो मूल्यमा सामान किन्ने अवस्था छ ।

मुग्लिन सडक खुकुलो पार्ने तयारी 

चाडबाड नजिकिएकाले चितवनको नारायणगढ–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा खुकुलो पार्ने तयारी गरिएको छ ।

दशैँका यात्रुलाई असर नपरोस् भनेर यातायात सञ्चालन खुकुलो पारी यातायात व्यवस्थापन चुस्त पार्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

दशैँमा राजधानी भित्रिनेभन्दा राजधानीबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गर्न लागिएको उहाँले बताए ।

मुख्यगरी अहिले रातिमा चितवनबाट जाने सवारीलाई ६ः०० बजे र मुग्लिनबाट आउने सवारीलाई ७ः०० बजेबाट रोक्ने गरिएकामा गाडी सञ्चालनको समय थपेर आउने गाडीलाई राति ९ः०० देखि १०ः०० बजेसम्म चल्न दिने तथा चितवनबाट जाने गाडीलाई एक घण्टा बढी चल्न दिने तयारी गरिएको छ ।

“प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्न बाँकी नै छ, तर यसरी सहज बनाउनुपर्ने सोच बनाएको छु”– पन्तले भने, “दशैँका यात्रुलाई ध्यान दिएर यातायात चुस्त पारिन्छ ।”

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव दशैँका यात्रुका लागि सडकमा खाल्डाखुल्डी पुरेर पानी हाल्ने तथा कुनै अवरोध भएमा तत्कालै समस्या समाधान गरिने उनले बताए ।

एक महिनाअघि साउन १८ गते आजैका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडक अनुगमन गरी दशैँसम्ममा यातायात सहज पार्न निर्देशनसमेत दिएका थिए ।

उक्त सडकको ठेक्का समय गुज्रिएर पाँच महिना पुग्दासमेत जम्मा ५४ प्रतिशत मात्रै काम भएको छ । नारायणगढ–मुग्लिक सडकको ३४ किमी क्षेत्रमा तीन वटा ब्लक बनाएर छ वटा ठेकेदारले काम गरिरहेका छन् ।

निर्माण सम्पन्न हुँदा सडक नौदेखि ११ मिटरको चौडा हुन्छ तर अहिले निर्माणकै क्रममा भित्तो खनेका क्षेत्रमा ठूलाठूला पहिरो जानेक्रम नरोकिँदा यात्रु प्रभावित हुँदै आएका छन् ।

विगतमा दुई वटा ठूला पहिराका कारण तीन प्रहरीसहित पाँच जनाको मृत्यु भइसकेको छ भने एक प्रहरी अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment