Comments Add Comment

शिवहरीको स्पष्टीकरणः मलाई असक्षम भन्न मिल्दैन


१८ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानका महाप्रवन्धक बन्ने दौडमा रहेका डा. शिवहरी श्रेष्ठले आफू असक्षम नभएको दाबी गरेका छन् ।

श्रेष्ठ संस्थानका निवर्तमान प्रमुख हुन् । फेरि महाप्रवन्धक हुने दौडमा लागेका उनले ‘खलनायक’ छवी बनाएको संस्थानकै कर्मचारीहरुले बताएका थिए ।

तर, श्रेष्ठले यो समाचारको खण्डन गर्दै आपूर्ति मन्त्रालयले कार्यसम्पादन सम्झौता नगरेकाले आफूलाई असक्षम भन्न नपाइने दाबी गरे । ‘सार्वजनिक संस्थान बोर्डले प्रतिस्पर्धा र क्षमताका आधारमा मलाई नियुक्ति दिएको हो,’ उनले आफ्नो स्पष्टीकरणमा भनेका छन्, ‘चार वर्षे कार्यकालमा मलाई मन्त्रालयले एकपटक पनि कार्यसम्पादन सम्झौता दिएन ।’

कार्यसम्पादन सम्झौता नै नदिएको अवस्थामा आफूलाई असक्षम भनेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

श्रेष्ठले बीमा संस्थानमा रहँदा आफूलाई हटाइए पनि सर्वोच्च अदालतले पुनर्स्थापित गरेको बताए । ‘बीमा संस्थानमा रहँदा मलाई सर्वोच्चले पुनर्स्थापित गरेको हो,’ उनले प्रश्न गरे, ‘सर्वोच्चले मेरो पक्षमा फैसला गरेपछि म कसरी असक्षम हुन्छु ?’

उनीमाथि आफूखुसी तलब सुविधा लिएको आरोप समेत लागेको छ । तर, उनले भने सरकारले निर्धारण गरेको मापदण्डअनुसार नै तलब सुविधा आफूले लिएको बताए । ‘मैले तत्कालिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोके अनुसार नै तलव, भक्ता र सुविधा लिएको छु,’ उनले भने ।

संस्थानको आगामी महाप्रवन्धकका लागि आफू उत्तम उम्मेदवार रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment