Comments Add Comment

बुलेटको समस्या समाधान नभए दशैंतिहारमा ग्यास ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी


१९ भदौ, काठमाडौं । व्यावसायीहरूले बुलेट सञ्चालनको समस्या समाधान नभए दशैं, तिहारमा खाना पकाउने एलपी ग्यासको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारकै स्वीकृतिमा भारतमा निर्माण भइसकेका बुलेट सञ्चालनमा ल्याउन पहल नगरेको भन्दै दवावस्वरुप आगामी दशैं तिहारमा ग्यास ढुवानी ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका हुन् ।

‘नेपालीको महान पर्व दशैं, तिहार, छठ तथा प्रदेश र संघको चुनाव समेत नजिकिँदै जाँदा पनि बाध्यात्मक परिस्थितिका कारण ग्यासको आपूर्तिमा अवरोध सृजना हुनसक्छ,’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

गत शुक्रबार बसेको संघको २२ औं साधारणसभाले बुलेट सञ्चालनको वातावरण बनाउन सरकारलाई १५ दिनको अल्टिमेटमसमेत दिएको छ ।

बुलेटको समस्या समाधानका लागि पहल र समन्वय गर्न संघका नवनिर्वाचित अध्यक्ष गोकुल भण्डारीको संयोकत्वमा निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे, कार्यसमिति सदस्य जितवहादुर कार्की, राजकुमार सिन्धी, सल्लाहकार कृष्णकुमार श्रेष्ठ सम्मिलित पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।

‘सरकारकै स्वीकृतिमा बुलेट निर्माणका लागि व्यवसायीले अर्डर गरेका थिए,’ संघका अध्यक्ष भण्डारीले भने, ‘तर, ४ सय बुलेट बनिसकेर थन्किएको पनि नौ महिना बितिसकेको छ ।’ बुलेट सञ्चालन गर्ने अनुमति नपाउँदा त्यसमा गरेको लगानी जोखिममा परेको संघले बताएको छ ।

‘बुलेट निर्माणका लागि बैंकबाट लिएको ऋणको किस्ता तिर्न पनि धौधौ पर्दा व्यवसायी मर्कामा परेका छन्,’ भण्डारीले भने । बुलेट सञ्चालन गर्ने वातावरण नबने व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने संघको माग छ ।

सरकारले ०७३ असार २७ गते ७ सय ७५ वटा नेपाली नम्बरप्लेटका ग्यास बुलेट सञ्चालनका लागि अनुमति दिएको थियो । अनुमति पाएर झण्डै चार सय ग्यास बुलेट निर्माण भइसके पनि भारतले खतरामुक्त प्रमाणपत्र ‘एक्प्लोसिभ लाइसेन्स’ जारी नगरिदिँदा ती बुलेट त्यत्तिकै थन्किएर बसेका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको हालै भएको भारत भ्रमणमा बुलेट सञ्चालनको मुद्दा उठाइए पनि समाधान हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment