Comments Add Comment

दल दर्ताको निवेदनउपर आयोगले छानबिन थाल्यो

राप्रपा प्रजातान्त्रिकको हलो र राजपाले मागेको छाता चिह्नमा विवाद


२० भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका राजनीतिक पार्टीहरुको आधिकारिकता अध्ययन थालेको छ । १/२ दिनभित्रै चुनावमा भाग लिन योग्य दलहरुको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ ।

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निवेदन उपर जाँचबुझ भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले भने, ‘१/२ दिनमै दलहरुको सूची सार्वजनिक हुनेछ ।’

चुनावमा भाग लिन योग्य दलहरुको सूची बनेपछि उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने प्रवक्ता ढकालले बताए । यसपटक आयोगलाई राप्रपा प्रजातान्त्रिक र राष्ट्रिय जनता पार्टीलाई चुनाव चिन्ह प्रदान गर्न समस्या देखिएको छ ।

पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले हलो चुनाव चिन्ह मागेको छ । यसअघि पार्टी एकीकरणका बेला ‘होल्ड’मा राखिएको हलो चिन्हमा प्रकाशचन्द्र लोहनीले पनि दाबी गरेका छन् ।

यस्तै, राजपा नेपालले छाता चुनाव चिन्ह मागेको छ । छाता चिन्ह यसअघि संघीय समाजवादी पार्टीको थियो । अशोक राईको सो पार्टी उपेन्द्र यादवको फोरम नेपालसँग मिलेपछि छाता चिन्हबारेमा अहिले अदालतमा मुद्दा बिचाराधीन छ ।

नयाँ शक्ति पार्टीले आँखा चिन्ह मागेको छ । यसअघि चुनाव चिन्ह नपाएकै कारण उसले संघीय समाजवादी फोरमको चिन्ह लिएर चुनाव लडेको थियो भने राप्रपा प्रजातान्त्रिकले प्रदेश २ को चुनावमा साइकलको चक्का चुनाव चिन्ह लिएर भाग लिँदैछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सकेसम्म दलहरुले मागेको चुनाव चिन्ह दिने प्रयास भइरहेको बताए । तर, विवाद भएका र अदालतमा मुद्दा परेका चुनाव चिन्ह दिन नसकिने उनले प्रष्ट पारे ।

दलहरुलाई चुनाव चिन्ह वितरण गरेलगत्तै समानुपातिक निर्वाचनका लागि मतपत्र छाप्न दिने तयारी आयोगको छ । समानुपातिकतर्फको मतपत्रमा जति राजनीतिक दल दर्ता भएका छन्, तीनको चुनाव चिन्ह मात्र रहनेछ ।

मतपत्रमा यसरी राखिनेछ चुनाव चिन्ह

मतपत्रमा दलहरुको चुनाव चिन्ह राख्दा ०७० सालको संविधानसभा निर्वाचनमा ती दलले समानुपातिकतर्फ पाएको मतको आधारमा ठूलो दलको चिन्ह माथि राखिनेछ ।

जसअनुसार पहिलो नम्बरमा कांग्रेसको रुख रहनेछ भने दोस्रोमा एमालेको सूर्य, तेस्रोमा माओवादीको गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राप्रपाको गाई रहनेछ । यद्यपि, राप्रपा विभाजन र राजपा एकीकरणपछि राजपा चौथो दल बनेको छ ।

विभाजन भएका र एकीकरण भएका दलहरुको हकमा उनीहरुले पाएको त्यसबेलाको मतलाई नै आधार मानेर चुनाव चिन्ह वितरण गरिने यादवले बताए । नयाँ दर्ता भएका दलहरुको हकमा भने वर्णानुक्रम अनुसार चुनाव चिन्ह राख्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment