Comments Add Comment

दशैंको टिकट बुकिङ रोकेर बार्गेनिङ गर्दै यातायात व्यवसायी


२१ भदौ, काठमाडौं । भोलि बिहीबारबाट खुल्नेे भनिएको दशैंको अगि्रम टिकट बुकिङ अन्योलमा परेको छ । यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्ने बनाएपछि सरकारको निर्णय अन्यौलमा परेको हो ।

सरकार पनि अग्रीम टिकट बुकिङ खुलाउने वातावरण बनाउन गम्भिर पहल गरेको देखिँदैन । यसले यो वर्ष पनि अग्रीम टिकटमा कालोबजारी हुने खतरा बढेको छ ।

यातायात व्यवस्था विभागले १६ भदौमा सरोकारवालाको बैठक गरेर दशैंका लागि अग्रीम टिकट बुकिङ २२ गतेबाट खोल्ने निर्णय गर्‍यो । त्यतिबेला यो निर्णयलाई आलोचनात्मक समर्थन जनाएका यातायात व्यवसायी अहिले बार्गेनिङ थालेका छन् ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला सरकारले दशैंमा यात्रुलाई सहजसँग घर जाने वातावरण नबनाएसम्म अग्रीम टिकट बुकिङ नखोल्ने बताउँछन् ।

व्यवसायीहरुले अगि्रम टिकट बुकिङ खोल्न बसमा छत राख्न पाउनु पर्ने सर्त राखेका छन् ।

छतमा सामान र यात्रु राख्ने र ओभरलोडका कारण दुर्घटना बढेपछि सरकारले केहीमहिना अघि बसहरुमा छत नै राख्न नपाउने नियम ल्याएको थियो ।

व्यवसायीले यो नियम उल्ट्याउन दशैंको अग्रीम टिकटलाई ढाल बनाएका छन् । ‘२० किलोसम्म मात्रै सामान बोक्न आह्वान गरेर हुँदैन । विदेशबाट फर्किएका नेपालीको समान कहाँ राखेर लैजाने र भारतीय नाका हुँदै दशैंलाई घर फर्किनेका समान कहाँ राख्ने भन्ने अप्ठोरो छ’ सिटौलाले भने ।

व्यवसायीले सडकको अवस्था खराब भएकाले त्यसलाई मर्मत गरेर गाडी चल्न योग्य बनाउनुपर्ने माग गरेका छन् । मुग्लिन-नारायणगढ सडकको अवस्था दयनीय भएपनि सरकारले ममर्त नगरेसम्म टिकट बुकिङ नखोल्ने सिटौला बताउँछन् ।

‘हामी नागरिकका पीडा बोलिरहेका छौं, राज्यले सुन्दैन भने सेवा दिन सहज अवस्था छैन’ सिटोलाले भने, ‘अग्रीम टिकट बुकिङ खोल्ने वातावरण बनाउने जिम्मेवारी विभागले बनाउनुपर्छ । एकोहोरो निर्णय लाद्न खोजिए हामी मान्दैनौं ।’

यति मात्र होइन, यातायात व्यवसायीहरुले दशैंकै मौका छापेर भाडावृद्धिको माग पनि अघि सारेका छन् । पुरानो भाडादर वैज्ञानिक नभएको बताउँदै उनीहरुले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गरेका हुन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे भने केही कम्पनीले अग्रीम टिकट बूकिङ खोलिसकेको बताउँछन् । उनले भोलिबाट अधिकांश क्षेत्रका बस ब्यवसायीले बुकिङ खोल्नेमा विभाग विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment