Comments Add Comment

‘मेरी आमा बाग्मतीमै छिन्’

'नेपाललाई आफ्नै कार्यकालमा कालोसूचीबाट हटाउन सकिनँ'

२२ भदौ, काठमाडौं । गत मङ्गलबार काठमाडौँको वसन्तपुर क्षेत्रमा हजारौँको भिडले इन्द्रजात्रा मनाइरहँदा नेपालमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेकी युरोपियन युनियनकी राजदूत रिन्चे टिरिन्क भने आफ्नो लाजिम्पाटस्थित कार्यालयमै बसेर गत वर्षको इन्द्रजात्रामा आफूलाई कुमारी रथ तान्न निम्त्याइएको कुरा सम्झँदै थिइन् ।

युनियनको कुटनीतिक सेवा सुरु गर्नुअघि मानवशास्त्रीका रूपमा काम गरेकी टिरिन्कले नेपाल बसुन्जेल यहाँको समाज, सभ्यता र संस्कृतिलाई राम्रैसँग नियालेकी छिन् । नेपालको मुख्य दातृ निकायको आवासीय प्रतिनिधिका रूपमा उनी यहाँ बस्दा धेरैजसो समय समाचारहरूमा चर्चामै रहिन् । सामाजिक सञ्जाल तथा पत्रपत्रिका मार्फत् आफूलाई लागेको कुरा बताउन हतार नगर्ने स्वाभावका कारण यी राजदूत कतिपय सन्दर्भमा विवादमा पनि परिन् । तर, समग्रमा भने उनलाई नेपाल बसाइ रमाइलो र सफल लागेको छ । किन त ? अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले राजदूत टिरिन्कसँग गरेको कुराकानी  :

महामहिमज्यू, समग्रमा नेपाल बसाइ कस्तो रहृयो ?

म नेपाल बसेको ठ्याक्कै चार वर्ष पूरा हुन लागेको छ । युरोपियन एक्स्टर्नल एक्सन सर्भिस (इइएएस्)ले मलाई राजदूतका रूपमा नियुक्त गरेपछि मैले १७ सेप्टेम्बर २०१३ मा आफ्नो कार्य सुरु गरेकी थिएँ । राजदूतका रूपमा यो मेरो पहिलो कार्यकाल हो । त्यसअघिका नौ वर्ष म इइएएस्कै मुख्यालयमा कार्यरत थिएँ । तर, त्यहाँ रहँदा पनि मैले नेपाललाई नजिकबाट नियालेकी थिएँ र बेलाबेला काठमाडौँ आएकी थिएँ ।

त्यसैले नेपाल बसाइ सजिलै भयो । यहाँका सहकर्मी र आम जनता मित्रवत् र खुला छन् । तर, अलि पछि भने धेरै असहज अवस्था पनि आयो । सुरुमा भूकम्पको महाविपत्ति, त्यसपछि नाकाबन्दीको सकस ।

म चाहान्थेँ मेरै कार्यकालमा नेपाल युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा सूचीबाट हटोस् र नेपाली विमानहरूले पनि युरोपेली आकाश प्रयोग गर्न पाऊन् । तर, त्यो सम्भव भएन

तर, मेरो कार्यकालमा नेपालमा धेरै सकारात्मक घटना भए । म आएको दुई महिनापछि संविधानसभाको दोस्रो चुनाव भयो । निर्वाचनको पर्यवेक्षणका लागि युरोपियन युनियनले एउटा ठूलै टोली खटाएको थियो । मैले त्यसको नेतृत्व गरें । नेपाल सरकार र तत्कालीन विद्रोहीबीच भएको विस्तृत शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुगोस् भनेर हामी दातृ निकायले सरकारलाई नेपाल शान्ति कोष स्थापना गर्न लगायौँ र युरोपियन युनियनका तर्फबाट मैले त्यसको दातृ समूहको नेतृत्व गरेँ ।

म खुसी छु कि मेरो कार्यकाल सकिन लाग्दा नेपालले नयाँ संविधान पाइसकेको छ । संविधान कार्यान्वयनको पहिलो खुटि्कलाका रूपमा सबै तहमा निर्वाचनहरू सम्पन्न हुने क्रममा छन् । नेपाल दिगो लोकतान्त्रिक राष्ट्र बन्ने क्रममा छ । यस हिसाबले हेर्दा मेरो कार्यकाल पूर्ण र सन्तोषजनक भएको छ ।

त्यसो भने तपाईँले गर्न चाहेर पनि नसकेका कुनै काम बाँकी छैनन् ?

त्यसो पनि होइन । म चाहान्थेँ मेरै कार्यकालमा नेपाल युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा सूचीबाट हटोस् र नेपाली विमानहरूले पनि युरोपेली आकाश प्रयोग गर्न पाऊन् । तर, त्यो सम्भव भएन । हुन त नेपालको नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थामा धेरै सुधार ल्याएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले त यसलाई स्वागत पनि गरिसकेको छ । आगामी नोभेम्बरमा युरोपियन उड्यन सुरक्षा निकायको पनि बैठक बस्दै छ र यसले नेपाललाई कालोसूचीबाट हटाउने आशा गर्न सकिन्छ ।

व्यक्तिगत कुरा गर्ने हो भने मलाई त नेपाल खोतल्न पुगेकै छैन । हुन त म सोलुखुम्बु, मुस्ताङ्, अन्नपूर्ण क्षेत्र, बर्दिया लगायतका पर्यटकीय स्थलहरू गइसकेकी छु । तर, अझै घुम्न मन छ । तर, मेरो ‘स्वार्थी’ असन्तुष्टिको अहिले कुरा नगरौँ होला ।

नेपाल छाडेर कहाँ जाँदै हुनुहुन्छ ?

धेरै टाढा होइन । आगामी चार वर्षका लागि तपाईँहरूकै छिमेकी बङ्गलादेशमा मेरो सरुवा भएको छ । मलाई धेरै टाढा गएजस्तो महसुस हुनेछैन किनकि नेपाल र बङ्गलादेश दुबै सार्क लगायतका सङ्गठनमा आवद्ध भएर क्षेत्रीय एकताका लागि कार्यरत छन् । क्षेत्रीय एकताले गर्दा नै आज युरोप विकसित र बलियो भएको छ । म चाहान्छु, नेपाल र बङ्गलादेश लगायत यस क्षेत्रका अन्य छिमेकीले पनि युरोपियन युनियनको कार्यशैली अपनाऊन् र आफूलाई बलियो बनाऊन् । हुन त सार्क, बिमस्टेक र बीबीआइएन् लगायतका समूह विभिन्न तहमा सक्रिय नै छन् ।

युरोपियन युनियन सार्कको पर्यवेक्षक पनि हो । तपाईँका आँखाले हेर्दा यसबीचमा सार्कका गतिविधि कस्ता देखिए ?

हो, सार्क सचिवालय काठमाडौँमा भएका कारण युरोपियन युनियनको काठमाडौँ मिसनका प्रमुखका रूपमा सार्कका लागि पनि युनियनको आधिकारिक प्रतिनिधि म नै हुँ ।

आतिथ्य, मित्रता र सहयोगजस्ता कुरा पनि नेपाली समाजका अनुकरणीय पक्ष हुन् । बुद्ध धर्मका सन्देशहरू लगायत यहाँका धार्मिक मान्यता पनि प्रशंसनीय छन् । वास्तवमा नेपालमा युरोपेलीले सिक्नुपर्ने धेरै कुरा छन्

सार्क आफैँमा एउटा अत्यन्त राम्रो सुरुवात हो । यसका क्रियाकलापले सदस्य राष्ट्रहरूलाई व्यापार व्यवसाय प्रवर्द्धन गर्न, आपसी सम्बन्ध र सामीप्य बढाउन, विश्वास कायम गर्न सहयोग गर्छन् । तर, समस्या के भयो भने अन्तर सरकारी संयन्त्रका रूपमा विकास गरिएको यस सङ्गठनलाई अगाडि बढाउनका लागि राजनीतिक इच्छाशक्ति देखिएन । सचिवालय स्थापना त गरियो, तर यसलाई बलियो बनाइएन । कुनै पनि अधिकार नभएको एउटा प्रशासनिक अङ्गका रूपमा यसलाई सीमित गरियो । सचिवालयलाई क्षेत्रीय कानुनको मस्यौदा तयार गर्ने र अन्य निर्णय कार्यान्वयन गर्ने लगायतका अधिकार दिइनुपर्छ । तर, यहाँ त सङ्गठन छ भनेरै खुसी हुनुपर्ने अवस्था छ ।

के भविष्यमा सार्कमा पनि युरोपको जस्तै प्रवेशाज्ञा नचाहिने र एउटै मुद्रा प्रयोग हुनेजस्ता व्यवस्था कायम गर्न सकिएला ?

यस्तो व्यवस्था भयो भने यस क्षेत्रका सबैका लागि नै सजिलो हुन्छ । हामी सानो हुँदा युरोपका देशहरूबीचका सीमा बन्द थिए । देशैपिच्छे फरक मुद्रा प्रचलनमा थिए । यसले गर्दा अन्तर्देशीय व्यापारमा धेरै झन्झट आउँथेँ । आज युरोपियनलाई युनियनभरि यात्रा गर्न न कुनै प्रवेशाज्ञा चाहिन्छ, न कुनै मुद्रा साट्ने झञ्झट छ । विद्यार्थी र श्रमिकहरूलाई झन् फाइदा हुन्छ । आफूले चाहेको देशमा गएर पढ्न अनि काम गर्न सजिलो हुन्छ ।

यस्तो व्यवस्थाले साना देशहरूलाई अझ फाइदा गर्छ जस्तो मलाई लाग्छ । म नेदरल्यान्ड्स (हल्यान्ड) कि नागरिक हुँ । मेरो देशको जनसङ्ख्या एक करोड ७० लाख मात्र छ । तर, पनि हामी अन्तर्राष्ट्रिय व्यापारमा अगाडि बढेका छौँ । यसै पनि एउटा सानो देशलाई यस्तो शक्तिशाली सङ्गठन मार्फत् संसारभर प्रतिनिधित्व गर्न पाउँदा खुसी नै लाग्छ ।

नेपाल मेरो आफ्नै घर हो जस्तो लाग्छ । यसको एउटा विशेष कारण छ । म मेरी आमाकी एक्ली सन्तान हुँ

अब अलि फरक कुरा गरौँ । पढाइका हिसाबले तपाईँ एक मानवशास्त्री हुनुहुन्छ । चार वर्ष नेपाल बस्दा यहाँको समाज र संस्कृतिलाई पनि राम्रै अध्ययन गर्नुभयो होला ?

हो, मैले यहाँको समाज र संस्कृतिलाई ध्यानपूर्वक हेरेकी छु । नेपाली समाज अझै पनि परिवारमुखी छ । परिवारका सबै सदस्यको एकअर्कासँग तादात्म्य हुन्छ । यहाँ परिवारमै वृद्धवृद्धा र बालबच्चाको स्याहार हुन्छ । युरोपेली समाजले विस्तारै यस्ता मूल्यमान्यता गुमाउन चाहेजस्तो देखिन्छ । म यसप्रति खुसी छैन । साथै आतिथ्य, मित्रता र सहयोगजस्ता कुरा पनि नेपाली समाजका अनुकरणीय पक्ष हुन् । बुद्ध धर्मका सन्देशहरू लगायत यहाँका धार्मिक मान्यता पनि प्रशंसनीय छन् । वास्तवमा नेपालमा युरोपेलीले सिक्नुपर्ने धेरै कुरा छन् ।

 

त्यति हुँदाहुँदै पनि यहाँ केही समस्या छन् । जुगौँ पुरानो जातीय व्यवस्थाले जरा गाडेर बसेको छ । धेरै समुदायले आफूलाई बहिष्कार गरिएको र आफूमाथि भेदभाव गरिएको जस्ता आवाज उठाएका छन् । म चाहान्छु, नेपाली समाज अझ समावेशी र लोकतान्त्रिक बनोस् ।

काठमाडौँका विभिन्न चाडपर्व र जात्राहरूमा पनि यहाँ सहभागी हुनुभएको देखियो । कस्तो लाग्यो ?

गत वर्ष इन्द्र जात्रामा टिरिन्कले कुमारी रथ तान्दै । तस्वीर: रिन्चे टिरिन्ककै फेसबुक

काठमाडौँमा मनाइने सबै जात्राहरूमा म खुबै रमाएँ । गत वर्षको इन्द्र जात्रामा मलाई पनि कुमारीको रथ तान्न निम्ता गरिएको थियो । मैले रथ तानेँ पनि । त्यसपछि मलाईँ आफैँप्रति एकदमै गर्व महसुस भयो । मेरो कार्यकालको सबभन्दा खुसीको क्षण त्यो पनि हो ।

हामीले उहाँलाई पशुपति आर्यघाटमा जलायौँ । म आफैँले दागबत्ती दिएँ

यहाँका जात्रामा समुदायका सबैजना सहभागी भएका हुन्छन् । तपाईँ बाटोमा उत्सव मनाउन निस्कनुहुन्छ, अनि अन्य सबै स्थानीय र रमिता हेर्नेले पनि तपाईँलाई सहर्ष स्वागत गर्छन् । कस्तो रमाइलो कुरा ! फेरि, जात्राका क्रममा गरिने पूजाआजा, अन्य संस्कार, अनि तिनका पछाडि रहेका पौराणिक कथा पनि कस्ता चाखलाग्दा छन् ।

हुन त युरोप पनि सभ्यता र संस्कृतिमा धनी छ । तर, विगतका केही वर्षयता हेर्नुभयो भने त्यहाँका सार्वजनिक स्थानमा वा यस्ता सार्वजनिक उत्सवका कार्यक्रममा आतङ्ककारी आक्रमणको क्रम बढेको छ । अब कतिपय युरोपेलीहरू सार्वजनिक स्थानमा हुने भिडभाडमा सहभागी हुन डराउन थालेका छन् । यहाँका जात्रामा पनि भिड त हुन्छ, हुलदङ्गा पनि अलिअलि हुन्छ । तर, तपाईँलाई आफू असुरक्षित भएको कत्ति पनि महसुस हुन्न ।

भनेपछि नेपालबाट के चिनो लिनेर जाने हुनुभयो त ?

यी सबै मीठा सम्झनाहरू, अनि खुसीले भरिएको मेरो मन । चाहेको सबै पूरा हुन्थ्यो भने म चाहान्थेँ मेरो कार्यकाल थप चार वर्ष लम्बियोस् ता कि मलाई नेपालमा घुम्न मन लागेका बाँकी सबै ठाउँ घुम्न पाइयोस् । तर अहिलेका लागि त्यो सम्भव छैन ।

अब छाड्ने बेला म चाहान्छु, नेपालले दिगो विकासमा अझ धेरै प्रगति गरोस् । जलवायु परिवर्तनका असरसँग जुध्न अझ बलियो बनोस् । युरोपियन युनियनले नेपाललाई अझ सहयोग गरोस्

नेपाल मेरो आफ्नै घर हो जस्तो लाग्छ । यसको एउटा विशेष कारण छ । म मेरी आमाकी एक्ली सन्तान हुँ । काठमाडौँ मिसनमा सरुवा भएपछि मैले आमालाई पनि काठमाडौँमै लिएर आएकी थिएँ । तर गत फेब्रुअरीमा ९० वर्षको उमेरमा उहाँको निधन भयो । यहाँकै सहकर्मी र साथीहरूको सल्लाह र सहयोगमा हामीले उहाँलाई पशुपति आर्यघाटमा जलायौँ । म आफैँले दागबत्ती दिएँ । यस अर्थमा म उहाँकी एकमात्र सन्तानका रूपमा खुबै गर्व गर्छु जब कि यहाँको परम्परा अनुसार छोराहरूलाई मात्र दागबत्ती दिने अधिकार हुन्छ ।

हिन्दू विधिअनुसार नै आमाको अस्तु बाग्मतीमा सेलाइयो । त्यसैले मलाई लाग्छ, मेरी आमा बाग्मतीमै छिन्, अनि काठमाडौँ आफ्नै घर हो । यसले मलाई सदैव स्वागत गर्नेछ ।

कतिपय युरोपेली समाजमा पनि शव जलाउने अभ्यास छ । तर, यहाँको दाहसंस्कार विधि मेरा लागि नितान्त नौलो थियो । अनि दुःखका बेला सहकर्मी र साथीहरूले दिएको साथ र सहयोग । युरोपेली समाजमा त्यो सामीप्य कल्पना पनि गर्न सकिँदैन । पछि मैले युरोपेली साथीहरूलाई यो कुरा सुनाउँदा उनीहरूले अचम्म माने । यिनै संस्कार र सम्बन्धले मलाई नेपालसँग कहिल्यै नछुटि्टने गरी भावनात्मक रूपमा जोडेका छन् ।

बाग्मतीसँगको मेरो नाता अझ पुरानो हो । म हप्तैपिच्छे हुने सफाइ अभियानमा धेरै पटक सहभागी भएँ । त्यहाँ मैले धेरै राम्रा साथीहरू बनाएँ र उनीहरू म बाँचुन्जेल मेरा साथीकै रूपमा रहनेछन् ।

त्यसो भए बिर्सिएर जानुपर्ने के छ त ?

केही पनि छैन । म त भुइँचालोलाई पनि बिर्सन चाहान्नँ । सबै कुराले, सबै क्षणले मलाई केही न केही दिइरहे । समग्रमा मेरो नेपालको कार्यकाल उपलब्धिमूलक रहृयो, एकदमै उपलब्धिमूलक ।

अब छाड्ने बेला म चाहान्छु, नेपालले दिगो विकासमा अझ धेरै प्रगति गरोस् । जलवायु परिवर्तनका असरसँग जुध्न अझ बलियो बनोस् । युरोपियन युनियनले नेपाललाई अझ सहयोग गरोस् ।

अन्त्यमा ?

आशा छ म बारम्बार नेपाल आइरहनेछु । म टाढा जान लागेकी होइन । ढाकाबाट काठमाडौँ आउन विमानमा जम्मा एक घण्टा त लाग्छ । नेपालसँग मेरो आफ्नै गहिरो नाता छ । त्यसैले यहाँका साथीहरूसँग सम्पर्कमै रहनेछु । अनि, समाचारहरू पढिरहनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment