Comments Add Comment

एमालेमा मैले भेटेका संग्राम सिंह !

म वर्गीय हिसाबले तेह्रथुम जिल्लाको एक आधारभूत श्रमजीवी  वर्गको परिवारमा जन्मिएँ । श्रमजीवी किसान परिवारको भए पनि मेरा पिताजी परमानन्द दुलाल चेतनाको हिसाबले समाजमा अगाडि नै हुनुहुन्थ्यो।  भौतारिँदै घुम्ने क्रममा बनारस पुगेर केही संस्कृत पढेर फर्किनुभएकाले शिक्षाको महत्वका बारेमा बुबा केही जानकार नै हुनुहुँदोरहेछ।  त्यसैले गाउँमा शिक्षाको विकास गर्ने क्रममा गाउलेहरूसँग मिलेर एउटा विद्यालय आफ्नै गाउँ पौंठाकमा स्थापना गराउनुभयो । ।प्राईमरी स्कुल मात्रै भएकाले त्यहाँ ५ कक्षासम्म पढेर अगाडिको शिक्षाका लागि म शंकर हाईस्कुल जलजले गएँ ।

नेपाली कम्युनिष्ट आन्दोलन झांगिइरहेको त्यसबखतमा तेह्रथुमको जलजले क्षेत्रमा पनि वाम गतिविधिहरू चलिरहन्थे । पार्टी कमिटीहरू बनेर भूमिगत रूपमा जनचेतना प्रवाह भैरहेको थियो । कमिटीहरू भूमिगत थिए । पार्टी कमिटी र सेल्टरहरू बनेका थिए । आठराई क्षेत्रले त्यसको अगुवाइ गरिरहेको थियो। मार्क्स, एङ्गेल्स,  लेनिन, स्तालिन र माओका पोष्टर र ब्याचहरू पनि पाइन्थे । रशियाको कम्युनिष्ट आन्दोलनका पुस्तकहरू,  चाइना रिभ्युका साथै  माओका राता किताबहरू पढ्न पाइन्थे।

विद्यार्थीहरूवीचमा पनि राजनीति पुगिसकेको थियो। म पनि वाम आन्दोलनबाट प्रभावित बनिरहेको थिएँ । ०२७ सालमा त्यहाँ नेकपाकै तीन सदस्यीय एउटा युनिट विद्यार्थी वीचमा बन्यो । टंक खड्का,  म (किशोरचन्द्र दुलाल) र हस्त खड्का कमिटीमा संगठित भएका थियौं । त्यसबेला म कक्षा ८ मा पढ्थें ।

राजनीतिक गतिविधिहरू तेजले नै बढिरहेका थिए । आठराईको प्रतक्ष्य सम्पर्क र प्रभाव थियो। किसान आन्दोलन, शैक्षिक आन्दोलन एकपछि अर्को गर्दै बढिरहेका थिए ।

यसैवीच ०२९ सालको को झापा बिद्रोहको प्रभाव तेह्रथुममा पनि व्यापक पर्यो। विशेष गरी आठराई क्षेत्र निरंकुश तन्त्रको प्रहार भोग्न बाध्य भयो।आन्दोलनलाई अस्तव्यस्त  पारियो । संगठन,  सेल्टर, सम्पर्क सबै छिन्नभिन्न पारिए । धेरै कमरेडहरूलाई जेलनेल भोग्न वाध्य पारियो । त्यसपछि लामो समयसम्म तेह्रथुमको सम्पर्क व्यवस्थित हुन सकेन ।

पछि ०३४ सालदेखि ०३६ सालसम्म उच्च शिक्षा अध्ययन गर्न म धनकुटा बहुमुखी क्याम्पस गएँ । त्यहाँ अनेरास्ववियुको सदस्यता लिएर काम गरें।

यसै क्रममा ०३५ पुस ११ मा तत्कालीन नेकपा.(माले) को स्थापना भयो । तर, त्यसपछि पनि तेह्रथुमको सम्पर्क व्यवस्थित हुन सकेन । आठराईसहितको पूर्वी भेग ताप्लेजुङ र छथर सहितको पश्चिमी भेग धनकुटाबाटै हेर्न थालिए पनि पुराना सबै सम्पर्कहरू ब्यवस्थित हुन सकिरहेका थिएनन् । यसैवीच “सुधारिएको पञ्चायती व्यवस्था कि वहुदलीय व्यवस्था” भन्ने विषयमा आधारित भई जनमत संग्रहको घोषणा भयो।

यो जनमत संग्रहमा  भाग लिने वा नलिने भन्ने विषयमा उपयुक्त समयमा नेकपा(माले)ले निर्णय लिन नसक्दा केही साथीहरू जनमत संग्रह बहिस्कार गर्नेतिर  देखिए। त्यसबखत मैले भने पौंठाक  गाउँपञ्चायतमा बहुदलको पक्षबाट एजेण्ट बसेरसमेत पक्षमा भाषण गरें । त्यसबेलासम्म आइपुग्दा म “प्रगतिशील लेखक कलाकार संघ” तेह्रथुमको जिल्ला तहको कमिटीमा बसेर सकृयतापूर्वक काम गरिरहेको थिएँ ।

मलार्इ ०३७ सालमा पार्टीले सम्पर्क गर्न मान्छे पठायो । सुनसरीका कमरेड ओम कोइराला नेकपा (माले) को सम्पर्क लिएर मकहाँ आइपुग्नुभयो। त्यसपछि २०४६ सालको जनआन्दोलन सम्पन्न नहुञ्जेलसम्म मैले भूमिगत रूपले काम गरें ।

तेह्रथुम जिल्लाको सम्पर्क व्यवस्थित गर्ने क्रममा कमरेड खगेन्द्र चुडाललाई पार्टीले तेह्रथुम पठाएको थियो । वहाँको अगुवाइमा शुरूमा पार्टी एक्टिभ ग्रुप (पीएजी) र त्यसपछि एरिया पार्टी एक्टिभ ग्रुप (एपीएजी) हुँदै जिल्लाव्यापी सम्पर्क व्यवस्थित भै सकेपछि डीपीएजी बनाएर हामीले पार्टी कामलाई अगाडि बढाउँदै गयौं । यी सबै कमिटीमा म कमरेड खगेन्द्र चुडालसँग संगठित हुँदै आएको हुँ ।

पार्टीभित्र राजनैतिक  डीपीएजी  गठन गर्ने सन्दर्भमा जिल्लाको पश्चिम क्षेत्र छथरको ओख्रेमा ०४१ साल कार्तिक २० र २१ गतेको कार्यक्रम तय भएको थियो। पार्टी केन्द्रबाट पनि कोही कमरेड आउने भन्ने संकेत कमरेड खगेन्द्र चुडालले गर्नुभएकाले उच्च सतर्कताका साथ त्यहाँ पुग्नु पर्दथ्यो । प्रशासन र उनीहरूका गुप्तचरले केही आशंका गरेर पत्ता लगाए भने पार्टीलाई ठूलो नोक्सान पुग्दथ्यो। पञ्चायती शासकबाट ज्यान जोगिदैनथ्यो । उच्च जोखिम थियो।

म पौंठाकबाट त्यहाँ पुग्नुपर्ने,  बिहान सबेरै उठेर  खाना खाने बेलामा सदरमुकाम म्याङ्लुङ पुगें । यातायातका लागि बाटो न‌ै थिएन । अत्यन्तै कष्टकर उकालीओराली पार गरेर साँझ पर्न लाग्दा ओख्रे डाँडामा पुगें । त्यो पूर्वनिश्चित सम्पर्क विन्दु थियो। त्यहाँबाट सेल्टरसम्म अगुवाई गर्न एकजना विश्वस्त कमरेड पठाउने सल्लाह वमोजिम कमरेड दुर्गा पोखरेल त्यहाँ पर्खेर बसिरहनु भएको रहेछ। आत्मीय अभिवादन साटासाट भयो ।

त्यहाँ अरू पनि स्थानीय मानिसहरू भएकाले नचिनेको बहाना गरेर कहाँ बस्ने ? कता जाने ? जस्ता प्रश्नोतरपछि मैले छिमेकको स्थान शुक्रबारे पुग्ने भनें । अहिले राति भयो, पुगिन्न आज मेरोमा बास बसेर बिहान जाँदाहुन्छ भन्ने कुरा वहाँले मिलाएपछि म वहाँसंगै सेल्टरतिर लागें । म अघि नै त्यही बाटो सेल्टर क्रस गरेर आधि घण्टाको बाटोमाथि पुगिसकेको रहेंछु । सेल्टर त तल वहाँकै घरमा  रहेछ ।

म बाहिर सिकुवामा बसिरहेको थिएँ । गाउँकी एकजना आमा आएर मेराबारेमा सबै सोध खोज गर्न थाल्नु भएपछि घरभित्रबाट एकजना दिदी आउनु भयो । वहाँबाट जोगाउन “आमा वहाँ मेरा साइला काका ससुराको काईला देवर धनकुटाबाट आइपुग्दै हुनुहुन्छ ” भनेर पठाइदिनु भयो । आमा ढुक्क भएर घरतिर जानु भयो ।

त्यसपछि मलाई तलामाथि कमरेडहरू भएको कोठामा पुर्याइयो । त्यहाँ खगेन्द्र चुडाल (चेतन) संग एकजना मोटोमोटो अग्लाँ जस्ताँ लाग्ने कमरेड  कुराकानी गरेर बसिरहनुभएको रहेछ। मैले अभिवादन गरें। चेतनले वहाँतिर देखाएर कमरेड “संग्राम सिंह” भनेर परिचय गराउनु भयो । मैले म “सुजन” भनें । कस्सिलो गरी हात मिलाइयो । पूर्वपरिचित जस्तै वहाँले मेरा वारेमा सबै कुराको सोधीखोजी गर्नुभयो ।

कमरेड बालकृष्ण बुढाथोकी (गोपाल) पनि आउनुपर्ने तर वहाँ आइपुग्नु भएको थिएन, त्यसैले अनौपचारिक कुराकानी गर्ने समय मैले अलि बढी पाएँ । नयाँ कमरेडलाई हेर्ने, नियाल्ने, कुराकानी गर्ने समय मलाई मिल्यो। मंकी क्याप (कान छोपेर लगाउने उनीको टोपी ),  खैरो उनीको  भेष्ट र पाटे लुङ्गी बेरेर बस्नुभएको जुँगा पालेको वहाँ अलि बुढो जस्तो देखिनुहुन्थ्यो ।

मेरो घरायसी विवरण, घरको अवस्थिति, पारिवारिक विवरण आदि वहाँको मुखबाट सुनेर म जिल्ल परिरहेको थिएँ। त्यस बखत कमरेड संग्राम सिंहले पौंठाकको फाक्साखाम नामको गाउँको बारेमा सोध्नु भएको थियो। लिम्बू भाषामा रहेको त्यो गाउँको नामको अर्थ फाक्सा भनेको सुँगुरको मासु र खाम भनेको माटा । सुँगुरको मासुजस्तै कमलो माटो भएको भनिएको रहेछ।

यसरी कुरा भैरहँदा मेरा मनमा जिज्ञासा बढिरहेको थियो, यसरी मेरो गाउँ र परिवारका बारेमा हुबहु परिचित मान्छे को होला भनेर । गाउँबाट कोही युवा हराएको भन्ने सुनेको थिएँ । मैले त्यता पनि असफल अनुमान गरें । मेरो मन यस्तै यस्तै कल्पिइरहेको थियो । कमरेड चेतन त्यति बोलिरहनु भएको थिएन । वालकृष्ण बुढाथोकी पनि आइपुग्नुभयो ।

भेटघाटपछि कमरेड संग्राम सिंहको अध्यक्षतामा कार्यक्रम शुरू भयो । त्यसदिन ३५ बर्ष भन्दा कम उमेर भएका पार्टीका कमरेडहरूलाई पार्टिको तत्कालीन नीति बमाजिम “युथ कम्युनिष्ट लिग मेम्बर सीप” नामको पार्टी सदस्यता दिने कार्यक्रम थियो । शुरुमा प्रशिक्षणको कार्यक्रम चल्यो। अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली कम्युनिष्ट आन्दोलन, राष्ट्रिय परिस्थिति, पार्टीको नीति तथा कार्यक्रम, कम्युनिष्ट पार्टीको सदस्यताको महत्व आदि महत्वपूर्ण विषयहरूमा प्रशिक्षण भयो।

यति प्रभावकारी प्रशिक्षणको अवसर यो भन्दा अगाडि मैले कहिल्यै प्राप्त गरेको थिइनँ। म त मन्त्रमुग्ध नै भएँ । हामी दुई (किशोर र बालकृष्ण) को पार्टी सदस्यताको घोषणा पश्चात् शपथ ग्रहण भयो। मैले मेरो जीवन पार्टीलाई त्यही क्षणमा समर्पण गरें । त्यसबेला कमरेडले  “शपथ ग्रहण क्षणको स्मरणले अप्ठ्यारा परिस्थितिमा मनोवल थप्नेछ ,बलिदानी भावना वढ्ने छ” भन्नुभएको थियो।

दोश्रो दिन ०४१ कार्तिक २१ गते  डीपीएजी कमिटी गठन भयो । कमरेड संग्राम सिंहकै  उपस्थितिमा गठित कमिटीको सचिव खगेन्द्र चुडाल र सदस्यहरूमा म किशोरचन्द्र दुलाल र बालकृष्ण बुढाथोकी रह्यौं ।

यो कमिटीको निर्णयले ७ दिनपछि कार्तिक २८ देखि तीन दिने आवासीय प्रशिक्षण कार्यक्रम आठराईको ह्वाकुमा कमरेड भानुभक्त र कमरेड चुडामणि सिटौलाको घरमा कमरेड संग्राम सिंहकै प्रमुख आतिथ्यतामा जनताको सुव्यवस्थित कडासुरक्षा र कडा भूमिगत शैलीमा सम्पन्न भयो। १३ जना अगुवा कार्यकर्ता वीचमा सम्पन सो प्रशिक्षण कार्यक्रमले ज्यादै उत्साह थपेको थियो । राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, विश्व तथा नेपालको कम्युनिष्ट आन्दोलन, पार्टीको मार्गदर्शक सिध्दान्त, रणनीति, कार्यनीति,  संगठनात्मक सिध्दान्त, पार्टी कार्यकर्ताको दायित्व इत्यादिका बारेमा प्रष्ट परिएको थियो ।

प्रशिक्षण चलिरहँदा हाम्रो पार्टीभित्र यस्ता प्रतिभाशाली, क्षमतावान् व्यक्तित्वहरू पनि हुनुहुँदो रहेछ भनेर पार्टीप्रति झन धेरै भरोशा र विश्वास थपियो। कमरेड संग्राम सिंहको विषयवस्तुको प्रस्तुतीकरण,  व्यक्तित्व र हार्दिक व्यवहारले मेरा मनमा ससम्मान आकर्षण थपेको थियो । यो प्रशिक्षणपछि संग्राम सिंहसँग भेट हुने अवसर तत्कालै मिलेन ।

यसै क्रममा ०४२ मा  पार्टीले पञ्चायत उपयोग गर्ने नीति लिई राष्ट्रिय पञ्चायतमा केही सदस्य विजयी बनाएर पठायो । तेह्रथुमको तर्फबाट पनि पार्टीले परशुराम खापुङलाई विजयी बनायो। तर, वहाँ जनताको पक्षमा टिक्न सक्नुभएन । ०४३ सालमा गाउँ पञ्चायतमा पनि नेकपा मालेले जनपक्षीय प्रधानपञ्च,  उप प्रधानपञ्च,  वार्ड अध्यक्ष र सदस्यहरू जिताएर उपयोग गरेको थियो । तेह्रथुमका त्यहाँ जिम्मेवारी सम्हाल्नु भएका नेत्र पन्धाक,  हरि चोङवाङ, तीर्थ ढकाल र मनोज गौतम अहिलेसम्म नेकपा(एमाले) मै रहनुभएकै छ ।

वर्गीय संगठनको क्षेत्रीय चुनाव धरानमा भैरहेको थियो । काम विशेषले म धरान झरेको थिएँ। चतरा लाइनमा प्रगतिशील पुस्तक, पत्रपत्रिका पाइने पसल सायद “पूर्व क्षितिज पुस्तक पसल” नाम हुनुपर्छ, त्यहाँ म पत्रिका पढेर बसिरहेको थिएँ । एकजना युवाले आएर हात मिलाउनुभयो । कहिले आउनुभयो ? उताको खबर केछ ?  भनेर सोध्नुभयो । दिउँसो गर्मी गर्मी न‌ै थियो । फ्रेञ्चकट दारी, टोपी नलाई केश कोरेको, सर्टपेन्ट र जुत्ता लगाएको थारै मोटो जस्तो देखिने मान्छे, मैले धेरै अनुमान लगाएँ । तर, चिन्नै सकिनँ ।

कमरेडलाई गारो पर्यो,  म संग्राम सिंह ।  मैले त कमरेडलाई परैबाट चिनें ।

चिन्न नसकेकोमा  मलाई ग्लानी भयो । त्यो कुरा वहाँले थाहा पाउनु भएर परिस्थिति सहज बनाउँदै हामी झट्ट चिन्न नसकिने भएर नै बाहिर निस्कन्छौं भन्नुभयो। मैले तेह्रथुमका बारेमा छोटो रिपोर्ट गरें ।

केही क्षणमा सानो झोला भिरेर कमरेड मित्रलाल सुवेदी आइपुग्नुभयो । कार्यक्रम रहेछ । सलकपुरतिर लाग्नुभयो । पञ्चायत ढाल्ने अभियान चलिरहेकै थियो । पार्टी काम क्रमश: बढ्दै थियो । डीपीएजी तेह्रथुम चार सदस्यीय भएको थियो । कमरेड देवी शर्मा पन्थी भारत प्रबासबाट सम्पर्क लिएर आउनुभएपछि ०४२ को शुरुमै थप भइसक्नु भएको थियो । ०४४ सालसम्म आइपुग्दा कमरेड देवी पन्थी शिक्षणको क्रममा ईलाम जानुभयो । पार्टीमा तीन सदस्य भए पनि फेरि सुरेन्द्र फम्वो थप हुनु भएर ४ सदस्य नै भएको थियो । तर, सचिव खगेन्द्र चुडाल राजधानीतर्फ जानुभएपछि ३ सदस्यीय डीपीजीले नै ०४६ को जिल्लाको जनआन्दोलनको नेतृत्व गरेको थियो । ०४६ पछि पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भएपछि हाम्रो पार्टीले खुल्ला राजनीति गर्ने निर्णय गर्यो।

बहुदल स्थापना भएपछि  सबैभन्दा पहिला पार्टी प्रवक्ता खुल्ने काम भयो । पत्रपत्रिकाहरु कमरेड मदन भण्डारी नेकपा (माले)का प्रवक्ता भनेर  वहाँका तस्वीरहरुले भरिए । मैले भेटेको संग्रामसिंह कमरेड त मदन भण्डारी पो हुनुहुँदोरहेछ भन्ने कुरा मलाई तस्वीरले खुलायो ।

त्यसरी नै एकपछि अर्को गर्दै नेता कमरेडहरूका तस्वीर छापिन थाले । नेताहरू सार्वजनिक हुने क्रम केही समय जारी रह्यो । कार्यकर्ताहरूले कुन कमरेडलाई भूमिगत अवस्थामा कुन कार्यक्रममा भेटेको हो निर्क्योल गर्न लागे । मैले पनि त्यसै गरेको थिएँ ।

पार्टी खुल्ला भएपछि कमरेड मदन भण्डारीलाई मेरा पितामाताले पनि चिन्नुभएको कुरा गर्नुभयो। वहाँ देवीप्रसाद भण्डारीका माहिला छोरा । र, देवीप्रसाद भण्डारी केही समय फाक्साखाम, पौंठाकमा घरबास गर्नु भएको रहेछ ।

पार्टी खुल्ला भएपछि पार्टी खुल्ला गर्नुपर्ने कारण पार्टी कार्यकर्तावीच पुर्याउने सन्दर्भमा  धनकुटाको सामुदायिक हलमा एकदिने कोशी अञ्चल स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि कमरेड मदन भण्डारी नै उपस्थित हुनुहुन्थ्यो । त्यो अवसरसम्म आइपुग्दा जिल्ला तहका कमिटीहरू आवश्यकता अनुरुप विस्तार भैसकेका थिए । तेह्रथुमको कमिटी १० सदस्यीय विस्तार भैसकेको थियो ।

“वहुदलीय व्यबस्था स्थापित भैसकेपछि दलहरूवीच खुल्ला प्रतिस्पर्धा कासाथ आफ्ना पार्टीको नीति तथा कार्यक्रम जनतामा लागू गर्दै जनतामाझ जानुपर्छ । जनताबाट अनुमोदित भएर श्रेष्ठता स्थापित गर्नु पर्दछ। पार्टीलाई खोपीको देउता बनाएर कुनै उपलव्धी प्राप्त गर्न सकिन्न।” कमरेड मदनले भन्नुभएको थियो।

अधिकांश सहभागी कमरेडहरुले पार्टी सबै खुल्ला गर्दा नोक्सान हुन सक्ने आशंका व्यक्त गरेका थिए । तर, मदन कमरेडले “यो पार्टीको निर्णय हो लागू हुन्छ” भन्नुभएको थियो ।

हाम्रो पार्टी र नेकपा मार्क्सवादी वीच एकता भई २०४७ मा नेकपा(एमाले) बन्याञ् । ०४८ को आम निर्वाचनमा पार्टी जनता माझ देशव्यापी उपस्थित भयो। त्यो निर्वाचनमा भूमिगत अबस्थाबाट भर्खरै बाहिर निस्किएको भए पनि जनताले हाम्रो पार्टीलाई देशको दाश्रो पार्टीमा  स्थापित गराए। पार्टीलाई यो अवस्थासम्म ल्याइपुर्याउन कमरेड मदनको भूमिकालाई कसैले नकार्न सक्दैन ।

२०४८ कै चुनावको सन्दर्भमा कोशी अञ्चलका अगुवा कार्यकर्ताहरुको धरानको भेलामा जिल्लाका अगुवाहरुबाट रिपोर्ट लिने कार्य कमरेड मदनकै प्रमुख आतिथ्यतामा चलिरहेको थियो। त्यसै सन्दर्भमा सुनसरी जिल्ला कमिटीका तत्कालीन सचिवले आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गर्दै धरान बजारमा पर्ने १ नं निर्बाचन क्षेत्रबाट प्रतिनिधि सभामा उमेद्वारी दिँदा पूर्वमालेका कमरेड अशोक राईलाई दिए मात्रै जित्न सकिने, अन्य जो कोही भए पनि जित्न नसकिने भन्दै यदि अन्य कसैलाई उमेद्वारी दिइए जिल्ला कमिटीले स्वीकार गर्न नसकिने र चुनावमा खट्न नसकिने चेतावनीयुक्त प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

त्यस क्षेत्रबाट कमरेड अध्यक्ष मनमोहन अधिकारीको उमेद्वारीको चर्चा चलिरहेको थियो । प्रमुख अतिथिको सम्वोधन भाषणको क्रममा “जस्ले आफ्नो सम्पूर्ण जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा समाहित गरेको छ, वहाँ अहिले हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ, वहाँले इच्छा गर्नुभएको स्थानमा कसरी हुन्न भन्न सकिन्छ ?  हाम्रो जस्तो जनताको माझबाट हुर्केको पार्टीले वहाँलाई गरिने मूल्याङ्कन सही हुनुपर्छ। त्यसैले वहाँले उम्मेद्वारी दिने क्षेत्र सुनसरी १ नै हुनेछ, जिल्ला कमिटीलाई लक्षित गर्दै मदनले भन्नुभयो, तपाईंहरु यदि असहयोग गर्ने नै हो भने स्पष्ट भन्नुस म विद्यमान कमिटी विघटन गरी नयाँ कमिटी निर्माण गरेर जानेछु ।”

त्यस भनाईको प्रतिवाद कसैले गर्न सक्ने हिम्मत नै भएन । पछिबाट मनमोहन अधिकारी त्यसै क्षेत्रबाट उमेद्वार बन्नुभई विजयी बन्नुभयो र संसदीय दलको नेता समेत बन्नु भई प्रमुख प्रतिपक्षी दलको नेतासमेत बन्नु भएको थियो ।

यसैक्रममा ०४९ माघ १४ देखि २० सम्म हाम्रो पार्टी नेकपा (एमाले) को पाँचौं महाधिवेशन कमलादीमा सम्पन्न भयो । सो महाधिवेशनमा तेह्रथुम जिल्लाबाट म पनि प्रतिनिधिका रुपमा सहभागी थिएँ । राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान, कार्यक्रम र कार्यनीति आदि दस्तावेज पारित गरी पार्टीलाई पद्दति संगत ढंगले अगाडि बढाउनुपर्ने परिस्थिति थियो । यी सबै दस्तावेज अगाडि नै छलफलका लागि मातहतका कमिटीहरूमा पठाइएका थिए । शास्त्रीय जनवाद ,परिमार्जित नौलो जनवाद र जनताको वहुदलीय जनवाद जस्ता कार्यक्रमहरू प्रस्तावका रुपमा अगाडि सारिएका थिए । अधिवेशन हलमा कतिपय विषयमा मतविभाजन हुँदा अल्पमत र वहुमतका आधारमा पारित हुन्थे । हलभित्र निकै असहज स्थिति पनि देखा पर्थे ।

कमरेड मदन कहिल्यै आत्तिनु र हतोत्साहित हुनु हुन्थेन ।समस्याहरूलाई सहजै पार लगाउने तरिकाहरू वहाँबाट प्रस्तुत हुन्थे । “जनताको वहुदलीय जनवाद” को कार्यक्रम वहुमतद्वारा पारित भयो । कार्यक्रमका आधारमा अरु दस्तावेजहरु पारित भए। मैले त्यसबेला जनताको वहुदलीय जनवादमा आफ्नो अभिमत जाहेर गरेको थिएँ । नेतृत्वको विषयमा पनि मतहरु फरक फरक थिए । अध्यक्ष सहित महासचिव समेत र महासचिव मात्रै रहेको नेतृत्वको कमिटी निर्माण गर्ने छलफलमा अध्यक्षसहित महासचिव भएको कमिटी बनाउने र आफ्नो कार्यक्रम पारित भए पनि दोश्रो  तहको नेतृत्वमा बस्न मदन सहमत हुनुभएको थियो । यो महान कार्यले त्यसबेला पार्टीलाई एक ढिक्का राख्न सफल भएको  थियो ।

तेह्रथुम जिल्लाको अधिवेशनको उद्घाटन कार्यक्रम ०५० जेठ ९ गते निर्धारण भएको थियो। त्यस कार्यक्रममा सम्वोधन गर्ने समेत योजनाका साथ कमरेड मदन भण्डारी पोखरा, चितवन र वीचमा बाटोमा पर्ने अन्य कार्यक्रमहरूमा उपिस्थत हुँदै तेह्रथुम पुग्ने भन्ने कार्यक्रम तय भएको थियो । तेह्रथुमवासी जनता कार्यकर्ता हामी सबै प्यारा नेतालाई भेट्न लालायित थियौं ।

तर, दुर्भाग्य जेठ ३ गते नै महासचिव कमरेड मदन र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय हत्या भयो । देश विह्वल भयो । प्यारा नेताहरू गुमाउनु पर्दा सिंगो देश शोकाकुल भयो ।सारा देशवासी  शोकमा डुबे कार्यक्रमहरू सबै स्थगित भए । पार्टीले “शोकलाई शक्तिमा बदल्न ” नेता ,कार्यकर्ता र शुभेच्छुक सबैलाई आह्वान गर्यो ।

अहिले हामी सबै कमरेड मदन भण्डारीद्वारा प्रतिपादित “जनताको वहुदलीय जनवादको सिद्धान्त ” लाई आत्मसात गरेर लागु गर्दै मानिसको जीवनमा उतार्दै समृद्धिको वाटामा अगाडि बढ्न निरन्तर लागिरहेका छौं ।

(एमाले नेता दुलाल तेह्रथुमका पूर्वजिविस सभापति हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment