Comments Add Comment

इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको एकेडेमी अब नेपालमा, गेट कलेजसँग सहकार्य


२५ भदाै,  काठमाडाैं । विश्वकै अग्रणी होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)लाई चयन गरेको छ ।

नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टरकन्टिनेन्टल होटल्स् ग्रुपको आधिकारिक ध्वजाबाहक होटल रहँदै आएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टरकन्टिनेन्टल होटल्स ग्रुप र गेट कलेजबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको हो । आईएचजी दक्षिण पूर्वी एसियाका प्रमुख सान्ता डी सिल्भाको विशेष उपस्थितिमा सम्पन्न समझदारी पत्रमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक-प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्र अनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहने छ ।

विश्वकै अग्रणी होटल कम्पनीहरूमध्येको इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)का विश्वभर करिब एक सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाहरूबाट अतिथिहरूलाई स्नेहपूर्वक सेवाप्रदान गरिँदै आएको छ । संयुक्त अधिराज्य बेलायतको डेनह्याममा आईएचजीको मुख्यालय रहेको छ भने यसअन्तर्गत ३ लाख ५० हजार कर्मचारीहरू कार्यरत छन् ।

आईएचजीको ब्रान्डभित्र इन्टरकन्टिनेन्टल होटल्स् एन्ड रिजोर्टस्, किम्पटन होटल्स् एन्ड रेन्टुरेन्ट्स्, एभेन होटल्स्, हायलक्स होटल्स् एन्ड रिजोर्टस्, क्राउन प्लाजा होटल्स एन्ड रिजोर्टस्,होडिले इन, होलिडे इन भ्याकेसन्स्, होलिडे इन् एक्सप्रेस, होलिडे इन रिजोर्टस्, स्टेब्रिज सुइट्स् एन्ड क्यान्डलउड सुइट्स् रहेका छन् । नेपालमा विगत ५० वर्षदेखिको वैभवशाली इतिहास भएको डिलक्स पाँच तारे होटल सोल्टी क्राउन प्लाजा, आईएचजीको एकमात्र ध्वजाबाहक होटल हो ।


आईएचजी एकेडेमीका माध्यमबाट आईएचजी समूहअन्तर्गतका होटलहरू र कर्पोरेट कार्यालयहरूले आतिथ्य सत्कार सीप सिर्जना एवं उनीहरूको रोजगारीको स्तरमा सुधार एवं सहयोग गर्नका लागि शैक्षिक सेवा प्रदायक र सामुदायिक समूहहरूसँग सहकार्य गर्दै आएका छन् ।

सन् २००६ मा आरम्भ गरिएको आईएचजी एकेडेमी निरन्तर रूपमा वृद्धि हुँदै गइरहेको छ र अहिले विश्वका ६० भन्दा बढी मुलुकहरूमा फैलिइसकेको छ ।

ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट) नेपालको आतिथ्य सत्कार र पर्यटन शिक्षाका लाग अग्रणी शैक्षिक प्रतिष्ठान हो र यसले विश्वव्यापी आतिथ्य सत्कार उद्योगको पेशागत करिअरका लागि युवाहरूलाई शिक्षित तथा प्रशिक्षित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

गेटले सञ्चालनमा आएको १० वर्षभित्र विद्यार्थीहरूले  सिकेका सीपलाई व्यवहारिक र व्यावसायिक जीवनमा लागू गर्नका लागि आवश्यक पर्ने व्यवहारिक तालिमसहित विशिष्टकृत शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । गेट कलेज विश्व प्रसिद्ध हस्पिटालिटी अवार्ड प्राप्त गर्ने एसियाकै पहिलो शैक्षिक प्रतिष्ठान हो, यसले सन् २०११ मा फ्रान्सको पेरिसमा आयोजना भएको विशेष कार्यक्रमबीच उक्त अवार्ड प्राप्त गरेको हो ।

साथै, गेट कलेज स्विजरल्यान्डको प्रसिद्ध स्विस होटल एसोसियसन होटलरी स्विससँग सम्बन्धन प्राप्त गर्ने एसियाकै पहिलो र एकमात्र शैक्षिक प्रतिष्ठान हो ।

आईएचजी एकेडेमीसँगको सहकार्यका माध्यमबाट गेट कलेजले आतिथ्य सत्कार र पर्यटन क्षेत्रका भावी नेतृत्वकर्ताहरू प्रशिक्षित एवं विकसित गर्ने लक्ष्य राख्दै दक्ष जनशक्ति उत्पादन गरी  आईएचजीको तीव्र वृद्धिलाई सहयोग गर्ने र गुणस्तरीय मानव संशाधनको आवश्यकता पूरा उद्देश्य लिएको गेट कलेजले जनाएको छ ।

नेतृत्वदायी र अन्तर्राष्ट्रिय स्तरको अवसरहरूका साथ आईएचजीले गेटबाट दीक्षित जनशक्तिलाई उत्कृष्ट होटल सञ्चालनका प्रवेश र बहिर्गमनका बारे सिक्नका लागि प्राथमिकता दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment