Comments Add Comment

चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावासको उदघाटन

परराष्ट्रमन्त्री महराले अवलोकन गरे माओको सेल्टर

२५ भदौ, बेइजिङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावास कार्यालयको उदघाटन गरेका छन् ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री महराले आइतबार गुआङदोङमा आयोजना गरिएको एक विशेष कार्यक्रममलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चीन सरकार र गुआङदोङको प्रान्तीय सरकारलाई धन्यवाद दिए ।

मन्त्री महराले यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलाई यसले थप सबल बनाउने र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए ।

गुआङदोङसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यो कार्यालय स्थापनापछि आर्थिक एवम् व्यापारिक गतिविधि थप विस्तार हुने बताए ।

गुआङदोङमा झन्डै दुईसय नेपाली व्यापारीहरु विभिन्न व्यावसायमा संलग्न छन् । उनीहरुले महावाणिज्य दूतावास खुलेसँगै नेपाली व्यापारीलाई आइपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायतको उपस्थिति रहेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले बताए ।

माओको सेल्टरमा पुगे महरा

यसैवीच उपप्रधान तथा परराष्ट्रमन्त्री महराले शनिबार चीनको हवे प्रान्तको सिवाइपोस्थित माओत्सेतुङको सेल्टरको अवलोकन गरेका छन् ।

मन्त्री महराले त्यहाँस्थित संग्रालयमा राखिएका माओका जीवनकालका विविध घटनामा आधारित ऐतिहासिक संग्रहको अवलोकन तथा अध्ययन गरेका थिए ।

महराले अवलोकन गरेको यो घरमा चिनियाँ क्रान्तिका अगुवा माओत्सेतुङले सन् १९४८ मे देखि १९४९ मार्चसम्म आश्रय लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment