Comments Add Comment

पानीबारे अध्ययन गर्न उर्जामन्त्रीको टोली अस्ट्रेलियामा

अस्ट्रेलियाको पानी व्यवस्थापनबारे सिक्ने

१० सेप्टेम्बर, एडीलेड । नेपालका उर्जामन्त्री महेन्द्रबहादुर शाही केही सांसदहरू र सरकारी कर्मचारीको टोलीसहित आइतबार अस्ट्रेलिया आइपुगेका छन् । टोलीमा एमाले अनुशासन कमिटीका नेता अमृत बोहोरासमेत छन् ।

आइतबार बिहान दक्षिण अस्ट्रेलियाको एडीलेड आइपुगेका मन्त्री शाहीको भ्रमण दलमा सांसद सीता नेपाली, नेपालको व्यबस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बराल, सदस्यहरु अमृत बोहोरा, तारामान गुरुङ, गीता सिंह र नेपाल सरकारका दुई जना कर्मचारीहरु रहेका छन् ।

मन्त्री शाहीको टिमलाई एडीलेड अन्तर्रास्ट्रिय विमानस्थलमा दक्षिण अस्ट्रेलियाका लागि नेपालका अवैतनिक बाणिज्यदूत दीपक धमला, स्थानीय सामाजिक कार्यकर्ता कपिल पाण्डे तथा अस्ट्रेलियन सेन्टर अफ एक्स्लेंस इन वाटर रिसोर्सेज म्यानेजमेन्टका एक्जेक्युटिब सेक्टर स्पेसिलिस्ट एन्ड जोन्सनले स्वागत गरेका थिए ।

मन्त्री शाहीको नेतृत्वको टीम अस्ट्रेलियाको साताब्यापी भ्रमणका क्रममा दक्षिण अस्ट्रेलिया, भिक्टोरिया , क्यापिटल टेरिटोरी र तास्मनियाका विभिन्न जलविद्युत आयोजना र सिचाइँ आयोजनाहरुको निरीक्षण गर्नुका साथै अस्ट्रेलियन अधिकारिहरुसँग बैठक गर्ने बताइएकाे छ।

अस्ट्रेलियन सरकारी टोलीहरुसँंगको भेटमा नेपाली प्रतिनिधि मण्डलले कमनवेल्थ देशहरुको उर्जा, जलबिद्युत तथा सिचाइँ आयोजनाहरुको ब्यबस्थापनबारे अनुभव आदानप्रदान गर्नेछन् ।

यो टिमले अस्ट्रेलियाका विभिन्न राज्यहरुका बिचमा पानी तथा उर्जाको वितरण ब्यबस्थापन बारे पनि अध्ययन गर्ने बताइएकाे छ ।

नेपाल संघीय ब्यवस्थामा भर्खरै प्रवेश गरेकाले यो भ्रमण दलले अस्ट्रेलियाको उर्जा तथा जल वितरण सम्बन्धी ब्यवस्थाबारे ज्ञान आर्जन गर्नेछ ।

उर्जामन्त्रीको यो भ्रमणलाई अस्ट्रेलियाका नेपाली लगानीकर्ता तथा इन्जिनियरहरुले महत्वपूर्ण हुने विश्वास गरेका छन् । अस्ट्रेलियन गै आवासीय नेपालीहरुको लागानीमा निर्माणाधिन एक्सपोर्ट हाइड्रो इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी शेषमणि शर्माले भने,’नेपालका उर्जामन्त्री तथा संसदका सदृश्यहरुको अस्ट्रेलियाको उर्जा आयोजना क्षेत्रको अध्ययन नेपाली लगानिकर्ताहरुका लागि पनि निकै महत्वको छ ।’

अस्ट्रेलियामा कार्यरत नेपाली पानी विज्ञ डा. ज्ञानेन्द्र रेग्मीले नेपालको उर्जा मन्त्रालय तथा संसदीय समितिको लागि यहाँको संरचना निर्माण भन्दा पनि भ्रस्टाचार नियन्त्रण तथा खरिद अनुगमन सम्बन्धी यहाँको पारदर्शी ब्यबस्था अध्ययन गर्न लाएक भएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै डा. रेग्मीले भने-‘पानीको अभाव भएका ठाउँमा पनि फलफूल तथा कृषि उत्पादन कसरी बढाउन सकिन्छ र नेपालको भन्दा सस्तोमा उपभोक्तालाई बेच्न सकिन्छ भन्ने बारे पनि नेपाली प्रतिनिधि मण्डलले अध्ययन गर्नु ज्ञानबर्दक हुनसक्छ ।’

अस्ट्रेलियाको मौर्रे डारलिंग बेसिन प्राधिकरणमा सन् २००५ देखि कार्यरत नेपाली बरिस्ठ हाइड्रोलोजिस्ट डा. दुर्गादत्त कंडेलले अनलाइनखबरसँग भने, ‘यहाँको जलश्रोतको बिकास र ब्यबस्थापनको अध्ययन उपयोगी हुनसक्छ, यहाँ जलबिद्युत, कृषि सिचाइँ, खानेपानी र जलमनोरन्जन केन्द्रित ब्यबस्थापन नेपाल जस्तो विकाशोन्मुख देशले सिक्न लाएक हुनसक्छ ।’

उनले पानीको बहुउपयोगसँगै वातावरणीय प्रभाव तथा जैविक बिबिधता संरक्षण सम्बन्धी अस्ट्रेलियन रणनीति नेपालको सन्दर्भमा शिक्षा लिन उपयोगी हुने बताए ।

अस्ट्रेलियाको पुरानो मौरे सिचाइँ लिमिटेडमा कार्यरत बरिस्ठ इन्जिनियर रमेशबाबु श्रेष्ठले अस्ट्रेलियामा किसानहरु नै जलश्रोतको उपयोगमा सचेत रहेका बताए ।

नेपालको सुनसरी मोरङ् सिचाइँ आयोजनामा काम गरिसकेका इन्जिनियर श्रेष्ठले नेपालमा आयोजनाहरु सबै सरकारको भरमा मात्रै हुने गरेका भन्दै पानीका उपभोक्ता किसानलाई सचेत गराउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment