Comments Add Comment

प्रेमले अमेरिका पुर्‍यायो, देशप्रेमले फर्कायो !

अमेरिकाबाट फर्केका डा. अरुणको संघर्षको कथा

२५ भदौ, काठमाडाैं । कान्ति बाल अस्पताल अन्तरगत चाइल्ड साइक्याट्री विभागका चिकित्सिक डा. अरुण कुँवरका विषयमा चर्चा गर्नुभन्दा पहिले केही बिरामी वालवालिकाहरुका विषयमा चर्चा गराैं –

पिसाब नफेर्ने समस्या लिएर चितवनका चार वर्षीय बालकसहित उनका अभिभावक कान्ति बाल अस्पतालको बाल मनोरोग बहिरङ्ग विभाग (चाइल्ड साइक्याट्री विभाग) पुगे । २४ घण्टासम्म पनि पिसाब नफेर्ने समस्याबाट ग्रसित ती बालकलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा समाधान नभएपछि अभिभावकहरुले दिल्ली लैजाने तयारीमा गर्दैथिए ।

दुई-तीन दिनसम्म पनि पिसाब नफेरेपछि चिकित्सकहरुले उनलाई बेहोस पारेर क्याथेटरद्वारा मुत्रनलीमा पाइप हालेर पिसाब फेराउँदै बचाइरहेका थिए ।

‘दिल्ली जानुपूर्व ग्राण्डीका युरोलोजिस्टले उक्त बालकलाई मकहाँ रिफर गरेका रहेछन्’, कान्ति बाल अस्पतालका बाल मनोरोग विशेषज्ञ डा.अरुण कुवँरले अनलाइनखबरसँग भने, ‘कुरा बुझ्दै जाँदा पिसाबको नली साँघुरिएर उनको एकपटक शल्यक्रिया समेत गरिएको रहेछ । पिसाब फेर्न समस्या भएपछि ती बालकले पिसाब फेर्दा दुख्ने डरले पिसाब रोक्ने गरेका रहेछन् ।

डाक्टर भन्छन्, ‘पिसाब फेर्न भन्यो कि ऐया ऐया मात्र गर्ने, पिसाबै फेर्न नमान्ने । जतिखेर पनि कि त आमाले, नत्र बुबाले बोक्नुपर्ने ।’

हदै भएपछि पिसाब नफेरेसम्म बच्चालाई नबोक्न अभिभावकलाई अनुरोध गरेका डा. अरुणले बच्चालाई तर्साउनकै लागि भए पनि अर्को दिन पुनः अस्पतालमा ल्याउन र पिसाब नफेरे पूरा दिन अस्पतालमै राखिदिने चेतावनी दिए । यस्तो चेतावनीलगत्तै ती बच्चाले पिसाब फेरेको उनी सम्झन्छन् ।

डाक्टर अरुण भन्छन्- ‘विभिन्न औषधि दिएर पनि उपाय नभएपछि अर्को दिन पुनः अस्पतालमा ल्याउन भन्दै राति करिब ६ बजे घर पठाएको मात्र के थिएँ, करिब ८ बजेतिर फोन आयो । लु, बच्चालाई केही भयो होला भन्दै फोन उठाएको त उताबाट डा. साब बच्चाले पिसाब फेर्‍यो पो भन्छन् ।’

भोलिपल्ट बालकलाई अभिभावकले अस्पताल ल्याए । पिसाब फेरे ‘फाइभ स्टार चकलेट दिने’ वाचा गरेलगत्तै बालकले बाथरुम जाना साथै तरररर….. पिसाब फेरेको उनले बताए ।

डाक्टर अरुणको विश्लेषण अनुसार पहिलेको शल्यक्रियाबाट त्रसित ती बालकको समस्या अर्कै थियो । यदि उनलाई समयमै यस क्लिनिकमा नल्याएको भए दिल्ली लगेर पनि उनी ठीक हुने थिएन ।

खाना नखानेदेखि विद्यालय नजानेसम्म

पिसाब नफेर्ने बालकको जस्तै काठमाडौंकै एक बालिकालाई विगत दुई-तीन महिनादेखि खाना नखाने समस्या थियो । उनलाई कान्ति बाल अस्पतालको चाइल्ड साइक्याट्री क्लिनिकमा रिफर गरियो ।

ती बालिकाले खान छाडेको एक महिना भएपछि उनलाई चिकित्सकहरुले नाकमा पाइप हालेर खाना ख्वाउँदै आएका थिए । विभिन्न उपचारका बाबजुद बालिकाको समस्या कम नभएपछि उनलाई चिकित्सकले कान्तिकै चाइल्ड साइक्याट्री क्लिनिक रिफर गरेका थिए । बुझ्दै जाँदा ती बालिकामा एन्जाइटी डिस्अर्डर भएको रहेछ ।

त्यस्तै गतसाता करिब ९/१० वर्षका एक बालकका अभिभावक कान्ति बाल अस्पतालमा पुगे । करिब १४ /१५ दिन सघन उपचार कक्ष -आईसीयू)मा राखेर उपचार गर्दा समेत रोग पत्ता नलागेपछि चिकित्सककै सुझावमा ती बालकलाई कान्ति बाल अस्पतालकै बाल मनोरोग बहिरङ्ग विभाग (चाइल्ड साइक्याट्री क्लिनिक) मा सारिएको थियो ।

उनीजस्तै अन्य एक बालक पनि केही दिन पहिले कान्ति बाल अस्पतालको चाइल्ड साइक्याट्री डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गतको क्लिनिकमा आए । खायो कि वान्ता गर्ने समस्याबाट ग्रसित उनलाई वान्ता गरेकै कारण हप्तामै २/३ पल्ट स्लाइन चढाउनुपथ्र्यो । ती बालकको समस्या यति गम्भीर भैसकेको थियो कि परिवारले बालकको उपचारमै करिब ८ लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेका थिए ।
डा. कुँवर भन्छन्- ‘हेर्दा पुक्लुक्क गाला निस्किएका ती बालकलाई जाँच्दै जाँदा के थाहा भयो भने विभिन्न परीक्षणकै कारण उनको मनोविज्ञानमा यसरी नकारात्मक प्रभाव पारेको रहेछ कि मानौं उसलाई ठूलै रोग लागेको छ । र, अब यो रोग कहिल्यै निको हुँदैन भन्ने बच्चाले सोच्न थालेपछि उसमा तनाव बढेको रहेछ ।’

‘बच्चालाई पनि ठूलो मान्छेलाई जस्तै तनाव हुन्छ’

डा. कुँवरका अनुसार पछिल्लो समय उक्त विभागमा खाना नखाने, २४ घण्टासम्म पनि पिसाब नफेर्ने, स्कुल जान नमान्ने, रोइरहने लगायतका समस्या लिएर आउने बिरामीको संख्या बढ्दो छ ।

विशेष गरी, डर, त्रास, हीनतावोध, प्रतिस्पर्धा लगायतका विभिन्न कारणहरुले बालबालिका तनाव उत्पन्न भई एञ्जाइटी डिस्अर्डरको समस्या बढेको कान्ति बाल अस्पतालका बाल मनोरोग विशेषज्ञ डा. कुवँर बताउँछन् । उनी भन्छन्, ‘हामी ठूलाहरुलाई मात्र तनाव हुन्छ भन्ने सोच्छाैं । जबकि ठूलालाई भन्दा बालबालिकालाई अझ बढी तनाव हुने गर्छ । तर, यसबारे मानिसहरुलाई पर्याप्त जानकारी नहुँदा अभिभावकहरुले हरेक दिन यस्ता समस्या भोग्नु परेको छ ।’

बच्चालाई टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, अचानक ढल्ने, मास हिस्टेरिया लगायतका सम्पूर्ण समस्या मनोविज्ञानसित सम्बन्धित रहेको र यसमा तनाव नै मुख्य कारण रहेको डा. अरुणको विश्लेषण छ ।

‘तर यहाँ बच्चालाई सानो समस्या भए पनि आमाबुबालाई तनाव हुन थालिहाल्छ । र, आमाबाबुको तनावमा बालबालिका पिल्सने गर्छन्,’ डा. कुँवर भन्छन्- ‘बाबुआमालाई शान्त बनाएर निर्धक्क नबनाएसम्म बच्चा ठीक हुँदैनन् ।’

डा. कुँवरका अनुसार आमाबुबा तनावमा भएसँगै बालबालिका पनि तनावमा रहने र तनावका कारण बालबालिकामा रोग थपिने गर्छ ।
बच्चाहरुलाई अलिकति पेट दुख्दा पनि हामी तुरुन्तै चिकित्सकका लिएर जान्छाैं । अझ एउटा चिकित्सक नभए अर्कोमा लिएर जान्छौं । जसले गर्दा बच्चाले के सोच्न थाल्छन् भने उसलाई ठूलै रोग लागेको रहेछ ।

यसले गर्दा बालबालिकामा नकारात्मक समस्या उत्पन्न हुने तथा बालबालिकामा तनाव तथा एञ्जाइटी डिस्अर्डरको समस्या बढ्ने बाल मनोरोग विशेषज्ञ डा. कुवँरको भनाइ छ ।

अब बच्चाको हैन, डाक्टरको चर्चा गरौं –

पहिलो बाल मनोरोग विशेषज्ञ

डा. अरुण कुवँर नेपालका पहिलो बाल मनोरोग विशेषज्ञ हुन् । नेपालकै दोस्रो मनोरोग विशेषज्ञ डा. देशराज बहादुर कुवँरका कान्छा छोरासमेत रहेका डा. कुवँरले सानो छँदादेखि नै मानसिक रोगीहरुलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए ।

उनी सानो छँदै उनका बुबा डा. देशराजले मानसिक रोगीहरुलाई लक्षित गरी घरको भुईतल्लामै एउटा निजी मानसिक अस्पताल सञ्चालन गरेका थिए ।

‘त्यसबेला हामी घरको माथिल्लो तल्लामा बस्ने । तल्लो तल्लामा मानसिक रोगीहरु भएकाले विहान बेलुका २४ अै घण्टाजसो उनीहरुसँगै घुलमिल भइन्थ्यो, जसले गर्दा उनलाई मानसिक रोग विषय पढ्न केही हदसम्म प्रेरणा मिलेको थियो ।

तर, पनि उनी मानसिक रोग विषय पढ्ने नपढ्नेमा दोधारमा थिए ।

खासमा उनको रुची चिरफारमा थियो । ‘चट्ट काट्यो, सररर सिलाउना साथ नतिजा देखिने हुदाँ मलाई त्यसप्रति निकै लगाव थियो, डा. कुँवर भन्छन् ‘तर मलाई यत्ति थाहा थियो कि मनोचिकित्साको जुनसुकै विषयमा प्रभाव रहन्छ भन्ने थाहा थियो।’

लगत्तै, काठमाडौंको वनस्थली स्कुलबाट विद्यालयस्तरको पढाइ पूरा गरेका उनले सन् १९९६ मा दक्षिण भारतको केरलास्थित श्री देवराज हर्ष विश्वविद्यालय (पुरानो बैंगलोर विश्वविद्यालय) बाट एमबीबीएसको पढाइ पूरा गरे ।

त्यसपछि करिब एक वर्ष नेपालकै त्रिवि शिक्षण अस्पतालमा हाउस अफिसर भएर काम गरेका उनले आइओएमबाटै मानसिक रोग विषयमा एमडीको प्रवेश परीक्षामा एक नम्बरमा नाम निकाले ।

त्यसबेला, उनलाई मानसिक रोगबारे पढ्न तथा बुझ्न खासै समस्या भएन । उनी भन्छन्- ‘म सानैदेखि त्यही वातावरणमा हुर्किएकाले पनि होला, जे पढे पनि बुझेजस्तो, जुनसुकै बिरामी देखे पनि पुरानै जस्तो । नौलो त केही पनि लाग्दै नलाग्ने ।’

प्रेम विवाहले अमेरिका पुर्‍यायो

त्रि.वि शिक्षण अस्पतालको इमर्जेन्सीमा कार्यरत डा. ज्योती भट्टराईसित उनको प्रेम विवाह भयो । विवाहपछि उनको जीवनले अर्कै मोड लियो ।

‘मेरा बुवा पनि पहिले बेलायत बस्नुभएको, दाइ पनि अमेरिका बस्नुभएको र म आफैं पनि भारतमा पढेकाले अबचाहिँ नेपालमै बस्छु भन्ने सोच थियो’, डा. कुँवरले भने, ‘जबकि डा. ज्योती भने अमेरिका जाने भनेरै बसेकी थिइन् । भर्खर भर्खर विवाह भएको, त्यो पनि लभ म्यारिज । त्यस्तो बेला छुटि्टएर बस्ने भन्ने कुरा त थिएन । ‘तर मलाई यति के थाहा थियो भने उता गएर ‘एक्सपोजर’ चाहिँ पाइन्छ ।’
यही सोचेर डा. कुँवर नेपालमा पढ्दै गरेको एमडीको पढाइसमेत बीचमै (दुई वर्ष पढेर) छाडेर डा. ज्योतीका साथमा अमेरिका हानिए ।
सन् २००० मा अमेरिकाबाटै रेसिडेन्टी लिएर उतैबाट सन् २००३ मा बाल मानसिक रोगमा एमडी गरेका उनले सन् २००३ देखि सन् २००५ सम्म बाल मनोरोग विषयमा दुई वर्षे ट्रेनिङ्ग लिए ।

त्यसपछि अमेरिकामै बसेर ‘अमेरिकी एकेडेमी चाइल्ड साइक्याट्री’ मार्फत विभिन्न समयमा अनुदान पाएर विभिन्न रिसर्चहरु सम्पन्न गरेका उनलाई त्यस दौरान पैसाको दुःख कहिल्यै भएन ।

‘यहाँ भनेको सधैं भद्रगोल देखिरहेको मान्छे, हरेक दिन अनेकौं बाधाको सामना गर्नु पर्थ्र्यो । उता भने दुःख भनेकै नहुने,’ डा. कुँवरले भने- ज्योति पनि निजी क्लिनिकमा काम गर्ने हुँदा हामीले ९८ प्रतिशत अमेरिकीले कमाउने भन्दा बढी नै पैसा कमाइरहेका थियाैं । त्यसले गर्दा हामीलाई पैसा दुखै भएन । यद्यपि त्यहाँको जीवनशैली एकानासको भएको र एउटै धारमा बग्ने हुँदा त्यसले जीवन उराठलाग्दो हुन्थ्यो । हामीले करिब १२ वर्ष अमेरिकाको न्युयोर्कमा बितायौं ।

नेपाल फर्केको त्यो क्षण

हरेक दिन एउटै गाडीमा चलिरहेको डा. अरुणको त्यो जीवन आफैंमा अनिच्छित थियो । नेपालको संघर्ष तथा नेपालको अव्यवस्था, बच्चाबच्चीको पढाइ, जागिर, धुलोधुवाँ, तनाव तथा पैसाको अभाव सम्झेर भने उनी नेेपाल र्फकने योजनालाई भने त्यतिकै स्थगित गर्थे ।
नेपालमा अरु तनाव त छँदै थियो । जागिरै खाए पनि ३० हजार भन्दा बढीको हुँदैन । त्यस्तोले जीवन कसरी चलाउने ? । जबकि पैसाविना जीवन त चल्दैन । त्यही सोच्दासोच्दै उनी नेपाल र्फकने योजना पुनः स्थगित गर्थे ।

एकदिन उनको जीवनमा ठूलो घटना घट्यो । अमेरिकामै कार्यरत उनका भारतीय साथीकी आमालाई क्यान्सर भयो । आमाको क्यान्सरको उपचारका लागि एक महिनाको छुट्टीमा घर गएका उनी अमेरिका फर्किएकै दिन राति बस्नका लागि डा. अरुणकहाँ गए । त्यहाँ ती साथीले अमेरिकाको जीवन जति सहज भएपछि आफ्नो परिवारलाई छोड्नुको पीडाबारे वयान गरे ।

त्यही राति डा. अरुण तथा उनकी पत्नी डा. ज्योतीबीच नेपाल फर्किने विषयमा अचानक चर्चा चल्यो । ‘जुलाइको महिना भएकाले बच्चाहरुको पनि स्कुल सकिने बेला थियो ।

डा. ज्योती पनि निजी क्लिनिकमा कार्यरत भएकाले उनलाई दुई हप्ताको समयावधि सहितको राजीनामापत्र दिएर नेपाल र्फकन खासै समस्या थिएन । तर, डा अरुणलाई भने अनुदानको काम तथा आफ्नो रिसर्च सक्नुपर्ने र घरको सबै व्यवस्थापन गर्नुपर्ने हुदाँ एक वर्ष अमेरिकामै बस्नुपर्ने बाध्यता थियो ।

तथापि डा. अरुणले आफ्ना बच्चाहरु लिएर दुई हप्तामै नेपाल र्फकन डा. ज्योतीसमक्ष प्रस्ताव गरे । डा. ज्योतीले पनि उनको कुरा सहजै स्वीकारिन् । त्यतिमात्र हैन, भोलिपल्ट दिउँसो करिब १२ बजे डा. ज्योतीले डा. अरुणलाई फोनमार्फत आफूले क्लिनिकबाट राजीनामा दिन लागेको कुरा समेत जानकारी गराइन् ।

नभन्दै दुई हप्ताभित्रमै उनी बच्चा तथा सामान लिएर नेपाल फर्किइन् ।

डा. अरुण त्यो दिन सम्झँदै भन्छन्- ‘हामीले सोचेको कुरालाई सोचमा मात्र राखेको भए शायद त्यो सम्भव नहुन पनि सक्थ्यो । तर, हामीले सोचेको कुरालाई पूरा मात्र गरेनौं, बरु उनीहरुलाई एयरपोर्ट पुर्‍याएर घर र्फके पछि बल्ल मलाई आभाष भयो, कि उक्त कुरा सत्य हो ।’

त्यसअघिसम्म उनलाई नेपाल र्फकने कुरा जिस्किएजस्तो महसुस भइरहेको थियो ।

तीनवर्ष संघर्षमै बित्यो

जब उनीहरु नेपाल फर्किए, उनको २-३ वर्ष संर्घषमै बित्यो । भएको पैसा सकिने र आम्दानी नहुने भएपछि उनी सन् २०११ मा पैसा कमाउनकै लागि करिब तीन महिनाका लागि अमेरिका फर्किए ।

‘एक त अमेरिकामा चाइल्ड साइक्याट्रीको माग नै बढी थियो । त्यस अनुपातमा चिकित्सक निकै कम भएकाले त्यहाँ जागिर पाउन खासै दुःख थिएन ।’ डा. अरुणले अनलाइनखबरसँग भने ।

तीन महिना अमेरिका बसेर नेपाल फर्किएका उनले फेरि पैसा कमाउनकै लागि अमेरिका जानु परेको छैन ।

जे गरे पनि सानो गर्ने तर आफैं गर्ने र समाजका लागि केही गर्ने सोचअनुसारै काम गर्दै आएका उनले दुई वर्ष काठमाडौ मेडिकल कलेज (केमसीमा ) मा एशोसिएट प्रोफेसरका रुपमा काम गरे ।

त्यसपश्चात्त करिब पाँच वर्ष त्रिवि शिक्षण अस्पतालमा हप्ताको दुई दिन निशुल्क सेवा दिएका उनको एउटै मात्र सपना थियो- ‘त्रिवि शिक्षण अस्पतालमा चाइल्ड साइकोलोजी सम्बन्धी एउटा विभाग खडा गर्ने ।’

यही योजनालाई साकार पार्न उनले नेपाल सरकारसित मिलेर विभिन्न कामहरु गरे । उनले यसमा गृहकार्य गर्नुका साथै त्यसका लागि आवश्यक स्रोतसाधन समेत जुटाइसकेका थिए । त्यसबाहेक, उनी वीचवीचमा विभिन्न संघ संस्थाहरुसित मिलेर अन्य कामहरु पनि गर्थे । उनी निजीमा पनि काम गर्थे ।

तर, अस्पतालकै मानसिक रोग विभागमा कार्यरत केही चिकित्सकहरुले नेपालमा बालबालिका सम्बन्धी परामर्श केन्द्रको आवश्यकता नरहेको जनाउँदै उक्त विभाग नराख्न सुझावसमेत दिए । डा. कुँवर प्रश्न गर्छन्- ‘त्यतिबेला मलाई कति तनाव भयो होला ?’

नहुने ठाँउमा टाउको फुटाउन नहुने निष्कर्ष निकाल्दै उनले उक्त योजनालाई त्यसै थाती राखे । त्यसपछि उनी सिधै टिचिङ्ग छोडेर कान्ति आए । कान्तिमा अहिले उनले पूर्णरुपमै ‘चाइल्ड साइक्याट्री डेभलपमेन्ट प्रोजेक्ट’ सञ्चालन गर्दै आएका छन् ।

नेपालकै पहिलो ‘चाइल्ड साइक्याट्री’

कान्ति बाल अस्पतालको तल्लो तल्लामा सञ्चालित ‘चाइल्ड साइक्याट्र डेभलभमेन्ट प्रोजेक्ट अन्तर्गतको बाल मनोरोग बहिरङ्ग विभागमा हाल पाँचजना चिकित्सक कार्यरत छन् । त्यसमध्ये दुईजना मनोचिकित्सक, दुई अन्य चिकित्सकका साथमा एकजना बाल मनोचिकित्सक डा. अरुण कुवँर कार्यरत छन् ।

०७२ सालको महाभूकम्प पश्चात्त डा. अरुण कुवँरले सिविन भन्ने संस्थासित मिलेर उक्त क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

नेपालमै पहिलो यस किसिमको क्लिनिक डा. अरुण कुवँरकै पहलमा १५ सेप्टेम्बर २०१५ देखि सञ्चालनमा आएको हो ।

यसमा नर्वेजियन चाइल्ड साइक्याट्री एशोसिएसन तथा फ्रुट भन्ने संस्थाले आर्थिक सहयोग गरेको छ । उक्त क्लिनिकलाई कान्ति बाल अस्पताललेे निशुल्क ठाँउ उपलब्ध गराउँदै आएको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी सञ्चालित यस क्लिनिकमा गत छ महिनाको अवधिमा झण्डै ६ सय बालबालिकाले उपचार सेवा लिइसकेका छन् । त्यस्तै, गत वर्ष करिब २६ सयको हाराहारीमा विरामीले उपचार गराएका थिए ।

उपचार गराउनेमा एक वर्षदेखि १८ वर्ष उमेर समूहका विरामी धेरै भएको विभागले जनाएको छ । । त्यसबाहेक, केही विरामी एक वर्ष भन्दा मुनिका पनि आउने गरेको डा. कुवँर बताउँछन् ।

उनी भन्छन्, ‘यहाँ आउने बालबालिकामध्ये पनि विशेषगरी रोइरहने, दूध नखाने, आमा बाबुसित बढी टाँसिएर बस्ने, स्कुल जान नमान्ने बालबालिका धेरै आउने गर्छन् ।’

त्यसबाहेक दिनमै २/३ जना बालबालिका स्कुल जान नमानेरै चिकित्सकका आउने गरेका छन् । जब कि आजभन्दा करिब ४/५ वर्ष अगाडि स्कुल नजाने बच्चालाई पनि मानसिक रोग हुन सक्छ र भन्ने प्रश्न उठ्ने गर्थ्यो ।

चाइल्ड साइक्याट्रीका चुनौती

त्यसो त नेपालकै पहिलो यस क्लिनिकका चुनौती पनि प्रशस्तै छन् ।

चिकित्साशास्त्रमा समेत बाल मनोविज्ञानलाई उल्लेख नगरिदाँ बालबालिकाहरु थप समस्यामा पर्ने गरेको उनले बताए ।

यस्तोे समस्या कम गर्नका लागि पनि हरेकपटक हुने पेटियाटि्रक कन्फरेन्सहरुमा चाइल्ड साइक्याट्रीबारे कुरा राख्ने गरेको उनी बताउँछन् । ‘ कान्ति बाल अस्पतालमै वर्षमा करिब ४ वटा सेमिनार चाइल्ड साइक्याट्रीमा केन्द्रित रहेर गर्ने गरेको गर्छु’ उनले अनलाइनखबरसँग भने ।

परिणामस्वरुप पहिले चाइल्ड साइक्याट्रीबारे जानकारी नपाउने चिकित्सकहरुले समेत बिरामीको समस्या हेरेर कम्तिमा एकपटक डा. अरुणसमक्ष रिफर गर्ने गरेका छन् ।

यद्यपि, बाल मनोविज्ञानबारे बुझेका अभिभावकहरु नै पनि यसबारे त्यति बोल्न चाहँदैनन् । उनीहरु भित्र छिर्दा नै ‘सर मेरो बच्चा साइक्याट्रीको बिरामी त हैन, डाक्टरहरुले पठाए के गर्नु’ भन्दै आउने गरेको उनी सम्झन्छन् ।

डाक्टर कुँवरका अनुसार हाल पर्याप्त जनशक्ति अभावमा नेपालमा चाइल्ड साइक्याट्रीको अभाव खड्किएको छ । पर्याप्त जनशक्तिको अभावकै कारण हाल नेपालमा यस्ता समस्या पहिचानमा कठिनाई उत्पन्न हुने गरेको छ । जब कि अहिलेको आवश्यकता भनेको हरेक मेडिकल कलेजमा एउटा विभाग रहनु हो ।

‘नेपालमा अहिले यसको आवश्यकता खड्किसकेको छ, फरक यत्ति हो कि बालबालिका स्कुल गएन भनेर लात्ताले हिर्काएर जर्बजस्ती स्कुल पठाउने कि कुनै समस्या भयो कि भनेर समस्या पहिचान गर्नतिर लाग्ने ? डाक्टर प्रश्न गर्छन् ।

डा. अरुणका अनुसार साइक्याट्री आफैंमा नराम्रो रोग हैन । यो बालबालिकाको व्यवहार, मानसिक स्थिति तथा भावनात्मक सम्बन्धसित जोडिएको हुन्छ । धेरै रुने, धेरै हाँस्ने, बोलिरहने, नबोल्ने, एक्लै बस्न रुचाउने लगायतका समस्या चाइल्ड साइक्याट्रीमा पर्छन् ।
यसबाहेक, बालबालिकाले आफ्नो दैनिक व्यवहार भन्दा फरक रहेर कुनै काम गरेमा वा फरक किसिमको गतिविधि देखाएमा पनि अभिभावकले चिकित्सकका लैजान आवश्यक छ ।

कस्तो अवस्थामा अस्पताल लैजाने ?

१. धेरै रिसाएमा
२. धेरै झगडा गरेमा
३. बालबालिकाको दिनचर्या तथा दैनिक क्रियाकलापमा परिवर्तन देखिएमा
४. बच्चा रातभर नसुत्ने भएमा
५. स्कुल जान नमानेमा
६. रोइरहने
७. हाँसिरहने
८. साथीभाइसित धेरै नबोल्ने, धेरै नखेल्ने, भएमा पनि उसको त्यसबारे सजग रहन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment