Comments Add Comment

समानुपातिक चुनावका लागि निवेदन दिने दलमध्ये कांग्रेस पहिलो, नयाँशक्ति दोस्रो

२५ भदौ, काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने १६ राजनीतिक दलहरुले आइतबार पहिलो दिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाली कांग्रेसले एक नम्बरमा निवेदन दर्ता गराएको छ । दोस्रोमा नयाँ शक्ति र तेस्रोमा कमल थापा नेतृत्वको राप्रपाले दल दर्ता गराएका छन् ।

आइतबार पहिलो दिन सबैभन्दा पहिले नेपाली कांग्रेसले निवेदन दिएको छ । निवेदन दिने दलमा नयाँ शक्ति पार्टी नेपाल दोस्रो बनेको छ ।

आइतबार अपरान्ह पौने पाँच बजेसम्म नेपाली कांग्रेस, नयाँ शक्ति, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादी, चुरेभावर, जनमोर्चा, नेकपा माले, जनमुक्ति, नेपाल मजदुर किसान पार्टी, मुस्कान सेना लगायतका १६ दलहरुले निवेदन दिएका आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फ भाग लिन इच्छुक दलहरुले यही भदौ २७ गतेसम्म निवेदन दिन पाउनेछन् ।

समानुपातिकको निवेदन पेस गर्दा सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमामात्र भाग लिने हो सोसमेत स्पस्टरुपमा खुलाएर निवेदन दिनुपर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निवेदनमा सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर चाहिन्छ ।

तोकिएको म्याद भदौ २५ देखि २७ गतेभित्र निवेदन पेस नगर्ने राजनीतिक दलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने आयोगले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment