Comments Add Comment

२० वर्षमा शेरबहादुर देउवाका १२ बिचलन

प्रधानमन्त्री देउवा इतिहासका प्रश्नबाट भाग्न सक्लान् ?

२७ भदौ, काठमाडौं । आफ्नै रेकर्ड ब्रेक गरेर ५४ सदस्यीय मन्त्रिपरिषदको भार नेपाली जनताको टाउकोमा थोपर्ने ऐतिहासिक अवसर शेरबहादुर देउवाले पाएका छन् । आधुनिक नेपालको इतिहासमा सम्भवतः देउवा नेतृत्वको यो मन्त्रिपरिषद सबैभन्दा जम्बो हुनेछ । किनकि नेपालको संविधानले अब नयाँ संसद निर्वाचनपछि २५ सदस्य भन्दा ठूलो आकारको मन्त्रिपरिषद गठन गर्न रोकेको छ ।

इतिहासमा देउवा नै यस्ता नेता बने, जसले २० वर्षअघि इतिहासकै सबैभन्दा जम्बो मन्त्रिपरिषद बनाएका थिए । र, आफ्नो नाममा रहेको सो विकृतिको रेकर्ड उनी आफैंले तोडेर इतिहासको एक कालखण्डको खाता बन्द गरेका छन् । त्यसैले भन्नै पर्ने हुन्छ-नेपाली राजनीतिमा विकृतिका संवाहकको बहीखाता तयार हुन्छ भने एक नम्बरमा देउवाकै नाम लेखिनुपर्छ ।

शेरबहादुर देउवा एक लचिला पात्र हुन् । सिद्धान्त, बिचार र आदर्श नभएको मान्छे जोसँग पनि मिल्न लचिलो बन्न सक्छ र जस्तोसुकै सम्झौता गर्न तयार हुन्छ । यही लचिलो र सम्झौतापरस्त स्वभावकै कारण देउवा विभिन्न कालखण्डमा फरक-फरक शक्तिबाट प्रयोग हुन सहज पात्र बने ।

गिरिजाप्रसाद विरुद्ध एमालेले प्रयोग गर्‍यो । लोकतन्त्र विरुद्ध राजाले प्रयोग गरे । राजा बिरुद्ध माओवादीले पनि प्रयोग गरे । भारत विरुद्ध अमेरिकाले प्रयोग गर्‍यो, प्रकारान्तरले चीनविरुद्ध भारतले प्रयोग गर्दैछ ।

पद, पैसा र पावरका लागि जोसँग पनि सम्झौता गर्ने स्वभावकै कारण देउवा राजनीतिमा टिकिरहेका छन् । चारपटक प्रधानमन्त्री बन्दा पनि उनको त्यो सत्तामोह अझ उदात्त बनेर प्रकट भइरहेको बुझ्न सकिन्छ । आफूले भनेको आइजीपी नबनाएवापत उनले किचन क्याबिनेटकै पात्र गृहमन्त्री बिमलेन्द्र निधीलाई समेत बाँकी राखेनन् भने अरुको हबिगत के होला ?

पदका लागि देउवा एक मिनेट पनि पर्खिन सक्दैनन् भन्ने उदाहरण मनमोहन अधिकारी र प्रचण्डको हकमा देखाइसकेका छन् । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएर टिचिङ अस्पतालको आइसियुमा छटपटाइरहेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी विरुद्ध ०५२ असोजमा अविश्वास प्रस्ताव ल्याउँदा उनले एक दिन पनि पर्खिन मानेनन् ।

मृत्युसँग लडिरहेका पिता समानका नेतालाई उनले अपमानजनक ढंगले हटाएर प्रधानमन्त्री बनेदेखि नै नेपाली राजनीतिमा विकृतिको विजारोपण भयो । लगभग त्यही शैलीमा उनले गिरिजाप्रसाद कोइरालालाई ०५८ मा सत्ताच्यूत गर्न राजालाई उकासेका थिए । होलेरी काण्डपछि उनी सत्तामा पुग्न सफल भए ।

एक टेलिभिजन कार्यक्रममा आफूलाई प्रश्न सोध्ने नागरिकलाई हप्काउँदै ‘तपाई बढी बोल्दै हुनुहुन्छ’ भनेर मुख थुन्न खोज्ने देउवाले उनका यी दर्जन विकृतिमाथि प्रश्न सोध्ने जनताको मुख सधैं बन्द गर्न सक्ने छैनन्

चौथोपटक प्रधानमन्त्री बन्न उनलाई कुनै अड्चन थिएन । प्रचण्डले छाड्छु भनेकै थिए । तर, पहिलो चरणको चुनाव सफलतापूर्वक सम्पन्न गरेका प्रचण्डलाई दोस्रो चरणको चुनाव गर्न नदिई उनले सत्ताप्रतिको आशक्ति प्रकट गरे ।

पार्टीमा कोइरालाहरुले परिवारवाद लादेको भन्ने नारा लिएर कांग्रेसभित्र बैकल्पिक नेतृत्वको अभ्यास गरेका देउवा,कांग्रेसको सभापति भएपछि शासन सत्ताको डिफ्याक्टो बागडोर पत्नी आरजु देउवाको हातमा छ । मन्त्रीहरुले ठेक्कापट्टाका फाइलमा हस्ताक्षर गर्नुभन्दा अघि ‘भाउजूलाई सोध्नुपर्छ’ भन्ने अवस्था देउवाले सिर्जना गरेका छन् ।

कांग्रेसजनले देउवाका बारेमा गर्ने मूल्यांकनका धेरै ठेली भइसकेका छन् । पार्टीभित्र देउवाको कार्यशैलीबारे बोल्ने अधिकार कांगे्रसजनलाई नै छ । तर मुलुकको प्रधानमन्त्रीका रुपमा देउवाले नेपाली राजनीतिलाई दिएका केही विकृत उपहार इतिहासका हरेक मोडमा बहस हुनैपर्छ । किनकि एउटा शासक बहुलठ्ठी हुँदा र विवेक गुमाउँदा त्यो देशको पुस्तौं पुस्ताले सजायँ भोग्नुपर्छ ।

देउवाले आफू प्रधानमन्त्री भएका बेला कमैया मुक्ति, सुदुरपश्चिमको भौतिक पुर्वाधार विकास लगायतका कतिपय सकारात्मक काम नगरेका होइनन् । तर, उनले गरेका श्रृंखलावद्ध अनुचित र अनावश्यक निर्णयहरुले नेपाली राजनीतिलाई विकृत बनाएको छ भने उनको निधारमा विकृतिको टीका लागेको छ ।

नेपाली राजनीतिलाई विकृत बनाउने देउवाका एक दर्जन विकृत कार्य एकपटक पुनः स्मरण गरौं ।

विकृति १ः पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले २०५३ सालमा इतिहासकै जम्बो मन्त्रिपरिषद गठन गरे । ५२ सदस्यीय मन्त्रिपरिषद गठन गरेर उनले पहिलो विकृतिको टीका लगाए ।

विकृति २ः सत्ता टिकाउन जुनसुकै काम गर्न तयार हुने देउवाले तत्कालीन राप्रपाका सांसदहरुलाई बैंकका रेडलाइट एरियामा लगेर राखेको चर्चा चल्यो । अविश्वास प्रस्ताव फेल गराउन उनले राप्रपाका ४ सांसदलाई बैंकक पुर्‍याएको चर्चा चले पनि यसबारे अहिलेसम्म कतैबाट अनुसन्धान भएको छैन ।

विकृति ३ः नेपालको राजनीतिमा सुरासुन्दरी काण्ड मच्चाउने पनि देउवा सरकार नै रहेको बताइन्छ । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार टिकाउन सत्तापक्षका सांसदलाई काठमाडौंकै तारे होटलमा सुरा र सुन्दरीसहित राखेको विषय नेपाली राजनीतिको इतिहासजस्तै बनेको छ ।

विकृति ४ः नेपाली राजनीतिलाई विकृत बनाउने र राज्यकोष दोहन गर्ने सन्दर्भमा देउवा सधैं उदार रहे । सांसदहरुलाई भन्सार छुटमा गाडी सुबिधा दिलाएर करोडौं राजश्व मार्ने काम पनि देउवा प्रधानमन्त्री भएकै बेलामा २०५३ मा भयो । सांसदको भन्सार छुट दुरुपयोग गरेर दलाल ब्यापारीले फाइदा लिए ।

विकृति ५ः देउवा प्रधानमन्त्री भएकै बेलामा नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै खुलेआम सुन तस्करीलाई छुट दिइयो । सुन तस्करीको लाइन मिलाउनेमध्येका भनिएका दीपक बोहोरालाई नै उनले अहिले आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिँदा मुछिँदै मन्त्री बनाएका छन् । नेपालमा सबैभन्दा ठूला भ्रष्टाचारका प्रकरण देउवा प्रधानमन्त्रीत्वकै बेला भए ।

विकृति ६ः देउवा दोस्रो पटक प्रधामन्त्री भएका बेला ०५९ जेठमा स्थानीय निकायका निर्वाचित प्रतिनिधिको ५ वर्षे कार्यकाल सकियो । उनले स्थानीय चुनाव पनि गराएनन् र जननिर्वाचित प्रतिनिधिको म्याद थप्न पनि मानेन् । लोकतन्त्रको जरा मास्ने कार्यको श्रीगणेश उनले त्यही बिन्दुबाट गरेका थिए ।

विकृति ७ः सत्ताका लागि देउवा जे पनि गर्छन् भन्ने उदाहरण उनले पार्टीको निर्देशन अवज्ञामात्र गरेनन्, कांग्रेस पार्टी नै फुृटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए । पार्टीले उनलाई स्वेच्छारी निर्णय नगर्न, भ्रष्टाचारमा संलग्न मन्त्रीलाई हटाउन र दरवारसँग साँठगाँठ नगर्न चेतावनी दिएको थियो । तर, उनले पार्टीनै फुटाइदिए ।

विकृति ८ः स्थानीय निकाय मासेलगत्तै उनले ०६१ सालसम्मका लागि निर्वाचित र बाँकी रहेको एकमात्र जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा भंग गरे । तत्कालीन राजाको चाहनाबमोजिम संसद भंग गरेर जंगबहादुर बन्न खोजेका शेरबहादुरलाई ६ महिना नपुग्दै चुनाव गराउन असक्षम घोषित गर्दै राजाले अपदस्थ गरेर शेरलाई स्याल बनाइदिए ।

विकृति ९ः जतिबेला अछाम, हुम्ला, मुगु, बाजुरा जस्ता जिल्लामा भोकमरीले जनता मरिरहेका थिए । त्यतिनै बेला राजाको प्रधानमन्त्री बनेका देउवाले गोरखाका राजालाई गुन तिर्न राजपरिवारको भत्ता बढाउने निर्णय गरे ।

देउवाले क्याबिनेटबाट निर्णय गराएर राजपरिवारकी सदस्य हेलेन शाहलाई डेढ करोड उपचार खर्च पनि दिलाए ।

विकृति १०ः जनप्रतिनिधिमूलक संस्था विघटन गरेर प्रजातन्त्र दरवारलाई बुझाएका देउवाले सडकमा फालिँदा पनि राजाको आश गर्न छाडेनन् । जुन अभियोग लगाएर उनी हटाइएका थिए, त्यो पुष्टि नभई वा राजाले गल्ती भयो नभनी उनी आफैं प्रतिगमन आमा सच्चियो भन्ने एमालेको साथ लिएर पुनः राजाकै टिके प्रधानमन्त्री बन्न पुगे । उनले त्यसपछि भनेका थिए-गोरखाका राजाबाट न्याय पाएँ ।

गोरखाका राजाबाट न्याए पाएँ भनेको ७ महिना नपुग्दै देउवा तिनै गोरखाली राजा राम शाहका खलकबाट पुनः बर्खास्त भए र दोस्रो पटक लोकतन्त्र दरबारमा बुझाए । राजाबाट २ पटक बर्खास्त हुँदा र शाही आयोग लगाएर भ्रष्टाचार प्रकरणमा जेल हाल्दा पनि उनले पछिसम्म गणतन्त्रमा जान मानेका थिएनन् ।

विकृति ११ः देउवा चौथोपटक प्रधानमन्त्री बन्नुअघि नै कांग्रेसको सभापति भए । न्यायिक सर्वोच्चता मान्ने कांग्रेसको आदर्शलाई कुल्चेर उनले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराए र सिंगो न्यायपालिकालाई दीर्घकालीनरुपमा त्रासमा राख्न हरसम्म हर्कत गरे । आफू अनुकुल नहुनासाथ लोकतन्त्रका कुनै पनि मूल्य मान्यता मान्दिनँ भन्ने उनले प्रष्ट सन्देश दिए ।

विकृति १२ः चौथो पटक प्रधानमन्त्री भएपछि पनि देउवाको चरित्र फेरिएन । धेरैले अब देउवा सुधि्रने अपेक्षा गरेका थिए । उनले ५४ सदस्यीय मन्त्रिपरिषद गठन गरेर इतिहासको आफ्नै रेकर्डमात्र ब्रेक गरेका छैनन्, राजनीतिमा विकृतिको बाहक मै हुँ भन्ने स्वीकार गरेका छन् ।

इतिहासको प्रश्नबाट देउवा भाग्न सक्छन् ?

बाढी पीडितले गाँस र बास पाएनौं भनेर रुवाबासी गरिरहेका बेला देउवाले पूर्वपञ्चहरुलाई फुटाएर दीपक बोहोरा जस्ता पात्रलाई मन्त्री नबनाई नहुने भाउँतो किन आइलाग्यो ? इतिहासले देउवामाथि यो प्रश्न गरिरहनेछ ।

एक टेलिभिजन कार्यक्रममा आफूलाई प्रश्न सोध्ने नागरिकलाई हप्काउँदै ‘तपाई बढी बोल्दै हुनुहुन्छ’ भनेर मुख थुन्न खोज्ने देउवाले उनका यी दर्जन विकृतिमाथि प्रश्न सोध्ने जनताको मुख सधैं बन्द गर्न सक्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment