Comments Add Comment

‘नेपालमा क्रिकेटको वातावरण सुधार्न जरूरी छ’

म्रुगाङ्ग (मन्टी) देसाई भारतीय क्रिकेट जगतका एक चिरपरिचित हस्ती हुन् । हालैका वर्षमा देसाईले युवा प्रतिभा चिन्ने र उनीहरूलाई ठूला टोलीहरूमा स्थान दिलाउने काम गर्दै आएकाले उनलाई ट्यालेन्ट पहिचान गर्न सक्ने प्रशिक्षकको रूपमा हेरिन्छ । देसाई जहाँ जान्छन्, आफ्नो नोटबुक साथै लिएर हिँड्छन् अनि आफूले देखेका कुरा टिपोट गर्छन् ।

मुम्बई घर भएका देसाई इण्डियन प्रमियर लिग (आर्इपीएल)का टोलीहरू राजस्थान रोयल्स र गुजरात लायन्ससँग पनि आबद्ध भइसकेका छन् । हालै नेपालको युवा टोललाई १० दिन ब्याटिङ प्रशिक्षण दिन काठमाडौं आएका देसाईसँग अनलाइनखबरले कुराकानी गरेको थियो :

तपाईंले यहाँ पनि आफ्नो नोटबुक ल्याउनुभएको छ ?

ल्याएको छु तर, अहिले भने त्यो मेरो ब्यागमा छ । म जहाँ जाँदा पनि लिएर जान्छु । मैले नोट गर्ने भनेको खेलाडीको खुबी हो, जो पछि काम लाग्न सक्छ ।

के त्यो नोटबुकमा कुनै नेपाली खेलाडीको पनि नाम छ ?

(हाँस्दै) त्यसो गरिहाल्न छिटो हुनेछ । तर हो, यहाँ मैले निकै राम्रा खेलाडीहरू देखेको छु ।

तपाईं सन् २०१५ नेपालले विश्व कप छनौट खेल्दा सल्लाहकार प्रशिक्षक रूपमा टोलीसँग आबद्ध हुनुहुन्थ्यो । तर, यो तपाईँको पहिले नेपाल भ्रमण हो ?

हो यो मेरो पहिलाे नेपाल भ्रमण हो । सन् २०१५ मा मलाई लाग्छ मैले पुबुदुसँग राम्रो साझेदारी गर्ने अवसर पाएँ । तर, नेपाली खेलाडीहरूसँग यो मेरो पहिलाे अनुभव होइन । केही नेपाली खेलाडीहरू मुम्बईमा हामीसँग प्रशिक्षण लिन आएका थिए । २०१२ मा म राजस्थान रोयल्ससँग हुँदा हामीले शक्ति गौचनलाई हामीसँग अभ्यास गर्न बोलाएका थियौं । त्यसैगरी प्रदिप ऐरी र पृथु बास्कोटाले पनि मुम्बईमा खेलिसकेका छन् ।

तपाईंले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने मौका पाउनु भएको बेला नेपालका कोच पुबुदु पनि टोलीसँगै हुनुहुन्थ्यो । तर, उहाँ अहिले नेपालसँग आबद्ध हुनुहुन्न । उहाँको अनुपस्थितिमा काम गर्न गाह्रो भइरहेको छ ?

पुबुदु टोलीसँग हुनुहुँदा विनोद दासले बलिङ कोचको भूमिका निर्वाह गर्न सुरु गर्दै हुनुहुन्थ्यो । हामीले एक अर्कालाई चिन्ने मौका पाइसकेका थियौं । विनोदकै आग्रहमा म यहाँ आएको हुँ । विनोदले युवा टोलीलाई राम्रै प्रशिक्षण दिँदै आएका छन् ।

तपाईँ १० दिनको लागि आउनुभएको हो । दश दिनमै टोलीको ब्याटिङमा गुणात्मक सुधार सम्भव छ र ?

राम्रो प्रश्न गर्नुभयो । पछिल्लो पटक पनि पुबुदु चाहन्थे कि म सकेसम्म चाँडै राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन आऊँ । तर, परिस्थितिका कारण म टोलीसँग प्रतियोगिता सुरु भएपछि मात्रै जोडिन पुगें ।

तपार्इले भने जस्तो दश दिनमा धेरै परिवर्तन ल्याउन त सकिन्न तर, हामीले दुई कुरामा जोड दिएका छौं: पहिलो ब्याट्सम्यानहरूको रन बनाउने क्षमता बढाउने र दोस्रो साझेदारीको विकास गर्ने । हामीलाई थाहा छ कि अहिले युवा टोलीमा रहेका खेलाडीहरूले रातारात क्रिकेट खेल्न शुरु गरेका होइनन् । उनीहरूले ४-५ वर्ष क्रिकेट खेलिसकेका छन् र आफ्नो आफ्नो रन बनाउने क्षेत्रहरू छन् उनीहरूको । त्यसैले हामी उनीहरूलाई आफ्नो रन बनाउने क्षेत्रमा अझै सबल बनाउन खोज्दैछौं र सम्भव भएसम्म रन बनाउने अर्को एउटा क्षेत्र पहिचान गर्न सघाउँदै छौं ताकी उनीहरूको ‘व्यागन व्हिल’मा अर्को एउटा क्षेत्रले ठाउँ पाओस् ।

हालै सम्पन्न युवा विश्वकप छनौटमा त नेपालको ब्याटिङ त धरासायी नै देखियो नि त

मलाई यसबारे प्रत्यक्ष अनुभव त छैन । तर, विनोद र मैले यो विषयमा छलफल गरेका छौं । यस्ता प्रतियोगिताहरूमा के हुन्छन् भने जब अनपेक्षित परिणाम आउँछ, टोलीको मनोबल गिर्न पुग्छ र खेलाडीहरू आफ्नै क्षमतामाथि शंका गर्न थाल्छन् । त्यसैले उनीहरूलाई ‘स्पेस’ चाहिन्छ ताकी उनीहरू पूरै प्रतियोगिताको समिक्षा गर्न सकून् । हामी त्यो प्रतियोगिताबारे धेरै बोल्न चाहँदैनौं । खेलाडीहरूलाई थाहा छ कि जे भएको छ, त्यो कुनै पनि टिमलाई हुन सक्छ तर, सकारात्मक सोचका साथ यसबाट अघि बढ्न सकिन्छ ।

हामीले क्रिकेटका महानतम् खेलाडीहरूको सन्दर्भमा पनि देखेका छौं कि यदि रन बनिरहेको छ भने उनीहरूमा छुट्टै आत्मविश्वास हुन्छ । खेलाडीहरू नेट अभ्यासमा राम्रो प्रदर्शन गर्छन् र कोचको काम भनेको त्यस्तै प्रदर्शन खेलमा कसरी ल्याउने भनेर सोच्नु हो ।

हामीले अहिले ‘प्रेसर’ (दबाव) भन्ने शब्द नै प्रयोग गर्न छोडिसक्यौं । हामी यसलाई ‘च्यालृञ्ज’ (चुनौती) भन्न रुचाउँछौं ।

त्यस्तो ‘स्पेस’ खेलाडीहरूले पाइरहेका छन् त ?

 

 

हामीले गर्न खोजेको पनि त्यही हो । हामीले एउटा कार्यशाला नै आयोजना गरेर एउटा सफल ब्याटिङ टिममा हुनुपर्ने गुणहरूका बारे छलफल गरेका थियौं । हामीले साझेदारी र स-साना साझेदारीले नै हो टोलीले रन बनाउने भन्ने कुरा उनीहरूलाई सिकाइसकेका छौं । टोलीले सिनियर टिमसँग हालै दुई म्याच खेलेको थियो । एउटा खेल हामीले हार्यौं तर, हारका बाबजुद पनि त्यो खेलबाट निकै सकारात्मक कुराहरू निस्के । हामीले एक समय ६ रनमै २ विकेट गुमाइसकेका थियौं तर हामी १९०को टार्गेटको निकै नजिक पुगेका थियौं ।

नेपालको युवा टोली होस् या सिनियर, समस्या भनेको धेरै डट बल खेल्नु नै हो भन्ने विश्लेषण गरिन्छ नि

हो तपाईंले ठीक भन्नुभो । तर, विगतका दिनहरूमा हामीले ब्याट्सम्यानको ‘फुटवर्क’ (खुट्टाको चाल) माथि धेरै काम गरेका छौं । हो रिजल्ट आजको भोलि नै नदेखिएला र डट बलको संख्या नघट्ला तर, फुटवर्क राम्रो भए पछि र खेलाडीको रन बनाउने क्षेत्र ठूलो हुँदै गए पछि डट बल आफै कम हुँदै जानेछन् ।

यसो हुनुमा कीर्तिपुरको ‘स्लो’ विकेट पनि एउटा कारण हो ?

हुन सक्छ । ‘स्लो’ विकेटहरूमा टिकेर खेल्नुपर्ने हुन्छ । यदि तपाईं स्लो विकेटमा मात्रै खेल्नुहुन्छ भने ब्याटिङका लागि राम्रो पिचमा पनि तपाईं खुलेर खेल्न सक्नुहुन्न ।

अर्को चाहिँ नेपालमा ५० ओभरको खेल हुने प्रतियोगिताको कमी पनि होला ?

यदि कुनै ब्याट्सम्यानले ५० वटा टी-२० खेल्न र १० एकदिवसीय खेल्छ भने स्वाभाविक रुपमा उसले टी- २० को हिसाबले मात्र सोच्छ । तर, टी-२० र एकदिवसीय खेलमा धेरै भिन्नता छन् । यसमध्ये सबैभन्दा ठूलो भनेको बीचका ओभरहरूमा टी-२० मा ४ जना खेलाडी मात्रै एक रन जोगाउन सर्कल भित्र हुन्छन् भने एक दिवसीयमा ५ जना । एकदिवसीयमा त्यसैले बीचका ओभरहरूमा रन बनाउन त्यति सहज हुँदैन । फेरि टी-२० मा  १-२ बल डट खेलेर खासै केही हुँदैन किनभने तपाईं बाउण्ड्रीका बारे सोचिरहनु भएको हुन्छ ।

तपाईंलाई चाही नेपाली टोली सिनियर, जुनियर दुवैको कमजोर पक्ष के हो जस्तो लाग्छ ?

मलाई लाग्छ यहाँ क्रिकेटको वातावरण सुधार्न जरूरी छ । भारतकै कुरा गरौं न, आर्इपीएल शुरु भएको १० वर्ष भइसक्यो । आर्इपीएल आएपछि भारतमा ‘नलेज सेयरिङ’ (ज्ञानको आदान प्रदान) ह्वात्तै बढेको छ । उदाउँदा खेलाडीले राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रिय खेलाडीहरूसँग खेल्ने र उनीहरूसँग सिक्ने मौका पाउँदैछन् । भारतमा अहिले सिनियर टोली मात्रै नभएर जुनियर र ‘ए’ टिम पनि अन्तराष्ट्रिय टुरमा जाने गर्छन् । भारतमा राष्ट्रिय टोलीमा खेल्न सक्ने खेलाडीको सङ्ख्या राम्रै बढेको छ । नेपालले पनि यस्तै गर्न सक्छ ।

नेपालमा क्रिकेट प्रतिको अथाह उत्साह छ, पैसाको हिसाबले धेरै नभए पनि । मैले आफैंले देखेको छु, कोही खेलाडीलाई बिहानदेखि बेलुकासम्म ट्रेनिङ गर भन्यो भने पनि ऊ तयार हुन्छ ।

केही वर्ष अघिको कुरो हो, प्रदिप ऐरी मुम्बई आएका थिए । पुबुदुले उनलाई त्यहाँ पठाएका थिए । के बुझ्नुस् भने यहाँ मैले उनको तरफदारी गर्न खोजेको होइन, एक दिन बेलुकीपख ऐरी ब्याटिङ अभ्यास गर्दै थिए । प्रकाश कम भएकाले मैले बलरलाई ड्राइभ गर्न मिल्ने बल फ्याल्न भनेको थिएँ, उसले बाउन्सर फ्याल्यो अनि बल लाग्यो ऐरीको टाउकोमा । म त साह्रै नर्भस भएँ तर, उनी जुरुक्क उठेर फेरि ब्याटिङ गर्न तयार भए !

यस्तो गुणहरू कुनै पनि राष्ट्रिय टोलीलाई चाहिन्छ । तपाईंहरूले यस्तो गुणलाई कतै न कतै जोगाएर राखिरहनुपर्छ ।

मलाई लाग्छ पारस र पुबुदुको साझेदारीका कारण नेपाली क्रिकेट यहाँसम्म आइपुगेको छ । डिभिजन १ मा खेल्न लालायित धेरै टोली छन् संसारभर नै । व्यक्तिगत रूपमा पनि मैले पुबुदुबाट धेरै सिकेको छु । उनलाई थाहा छ जितका लागि के चाहिन्छ र खेलाडीहरू पनि उनलाई आदर गर्दछन् ।

तपाईं ब्याटिङ प्रशिक्षक भए पनि बलरहरूका लागि तपाईंको सहानुभूति रहेको बताउँदै आउनु भएको छ नि

म तपाईंलाई एउटा प्रश्न सोध्छु । यदि एउटा बलरले १० ओभर बलिङ गर्दै २० रन मात्र दिन्छ तर ,अर्कोले चाहिँ ३-४ विकेट लिन्छ । के दुवैको प्रदर्शनको सराहना हुन्छ त ? टीभीमा पनि हाइलाइट्स देखाउँदा चौका र छक्का मात्र देखाइन्छ; राम्रो डट बलले स्थान पाउँदैन ।

अचेल सबै कोचहरू आफ्नो टोलीमा एक जना अतिरिक्त ब्याट्सम्यान राख्न चाहन्छन् । तर हो, बलिङ पनि उत्तिकै महत्वपूर्ण छ ।

उसो भए यदि सन्दिपले ४-५ विकेट लिए भने अर्को तर्फबाट कसले बलिङ गरिरहको छ भनेर पनि हेर्नु पर्यो ?

हो ।

कुनै पनि एकदिवसीय खेलमा पहिले बलिङ गर्दा सुरुमै विकेट लिन सके ब्याटिङ टिममाथि दबाव राख्न सकिन्छ भन्ने सिद्धान्त छ । तर, नेपालले यसो गर्नुको साटो अरू टोलीले नेपालविरुद्ध यो सिद्धान्त लागु गर्न सफल भएको देखिन्छ ।

हो हामीले यो विषयमा पनि कुरा गरेका छौं । हामीले हाम्रा प्रारम्भिक ब्याट्सम्यान पहिचान गरिसकेका छौं र खासै परिवर्तन गर्दै छैनौं । हामीले चाहेको भनेको ७ इनिङमा कम्तीमा आदिमा १० ओभर जति टिकेर हाम्रा ओपनरहरू मध्ये १ ब्याट्सम्यान खेलोस् । हामीले ७०-० वा १००-० को सुरूवात पाउने आशा गर्नु हुँदैन, ६०-० भयो भने पनि हुन्छ । हामीले सिनियर टोलीसँग खेलेको एक म्याचमा त्यसो गर्न सफल भएका थियौं ।

टोलीमा यस्ता खेलाडीहरू पनि छन् जसको प्राकृति खेल भनेकै आक्रामक छ । हामीले त्यस्ता खेलाडीको प्राकृतिक खेललाई परिवर्तन गर्ने कोसिस गर्नु हुँदैन तर, त्यस्ता ब्याट्सम्यानले आफ्नो निर्णय गर्ने क्षमता सुधार भने अवश्य गर्नु पर्छ । खराब बलमा सट लगाउनु पर्छ भने राम्रो बललाई सम्मान दिनुपर्छ ।

टोलीमा यस्ता खेलाडी पनि छन्, जसले त्रिवि मैदानमा घरेलु प्रतियोगिता गज्जब खेल्छन् तर त्यहाँ बाट हिँडेपछि उनको प्रदर्शन ओरालो लाग्छ

हामी फेरि आफैं निष्कर्शमा पुग्दैछौं । हामीले यसरी खेलाडीलाई ‘जज’ गर्न हुँदैन । मानौं तपाईं सँधै ४-५ फिटमा पौडी खेल्नुहुन्छ र अचानक समुद्रमा पौडी खेल्ने स्थिति आउँछ । तपाईंलाई ४ फिटको पोखरीमा के गर्न सकिन्छ, के गर्दा डुबिँदैन भन्ने थाहा हुन्छ तर समुद्रमा तपाईंलाई पौडिन अलि समय लाग्छ । हो त्यही भएको हो यो केसमा पनि ।

नेपालमा ट्यालेण्टको कमी छैन । तर, ट्यालेण्ट भन्नाले खाली बललाई गजबसँग हिर्काएर बाउण्ड्री पार गराउनु मात्र होइन । मिहिनेत गर्न सक्नु, आफ्नो समय व्यवस्थापन गर्नु र सहि मानसिकताको विकास गर्नु पनि त ट्यालेण्ट हो ।

तपाईंले भन्नुभो कि पुबुदुसँग तपाईंले धेरै कुरा सिक्नुभो । यदि तपार्इलार्इ नेपाली टोलीसँग पूर्णकालीन रूपमा ब्याटिङ प्रशिक्षक बन्ने प्रस्ताव आयो भने ? 

मलाई यदि यस्तो मौका दिइन्छ भने मैले त्यसबारे जरूर विचार गर्नेछु । तर, अहिले यस्तो कुरा भएको छैन ।

म नेपाली टोलीको फ्यान नै हुँ । नेपाल क्रिकेटको देश हो भनेर कुनै शङ्का छैन । आशा छ आर्इसीसीले नेपाललाई दिने सहयोग बढाउने छ र नेपालको क्रिकेट अझै उचाइमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment