Comments Add Comment

‘भगवान’ बनाउने महादेवको प्रश्न-अब भगवान कसले बनाउने ? (तस्वीरसहित)

२७ भदौ, डडेल्ल्धुरा । दशै-तिहार नजिकिदैछ । दायाँ हातमा हतौडा,बायाँ हातमा फलामको पाता यसरीनै उनी झुपडीमा धमाधम फलाम पिट्दैछन् ।

नाम पनि महादेव । काम पनि भगवानको मूर्ती बनाउने । महादेव ताम्राकार विगत २२ वर्षदेखि आरन पेसा गर्दै आएका छन् ।

महादेवले आफ्नो आरनमा बसेर भगवानका मूर्ति, मन्दिरको गजुर, कलस, पानस, रुईसिङ, दमाहा, कुटो, कोदालो, माना लगायतका भाडाकुडा समेत बनाउने गर्छन ।

विहान ६ बजेदेखि साँझ ६ बजेसम्म महादेव ताम्राकारको यसरी नै तुफान डाँडामा रहेको जस्ता झुपडीमा दिन बित्छ ।

काठमाडौं, भारतको पिथौरागढ, अलमोडा लगायतका विभिन्न ठाँउमा पनि काम गरेका ताम्राकारले आफ्नो पूर्खाको पेशालाई जोगाउँदै कामलाई निरन्तरता दिएको बताउँछन् । यो पेशा उनको चौथो पुस्ताको हो ।

उनले अाफ्नो पूर्खाको पेसा भएको कारण आफू १८ वर्षको उमेरदेखि यो पेसामा लागेको बताए ।

गरिबीको कारणले सानो छँदा स्कुल जान नपाएको र त्यसकारण पनि यो पेशा अंगालेको उनी बताउँछन ।

किसानलाई चाहिने धेरैजसो कृषि सामग्री आफूले बनाउने भएकाले आरन पेशा छोडे भने कृषि सामग्रीको अभाव हुन्छ भन्ने डर उनलाई छ । अर्कोतिर उनलाई मन्दिरमा चाहिने मूर्ति तथा सामग्रीको अभाव हुँदा संस्कृति हराउँछ भन्ने डरसमेत छ ।

महादेवले चाड पर्वको बेला महिनाको १५ हजारदेखि १८ हजारसम्म कमाई गर्छन ।

चाडपर्वका बेला आफूले निमार्ण गरेको मूर्ति लगायत मन्दिरका सामग्रीे प्रदेश नं ७ का सबै जिल्लामा पुग्ने तर प्रतिस्पर्धीको रुपमा बजारमा पाईने अन्य ‘रेडिमेट’ सामानले गर्दा आफ्नो पेशा धरापमा पर्ने महादेवको चिन्ता छ ।

कलिलो उमेरदेखि नै यो पेशा गरेका महादेवले कमाएको पैसाले खानलाउन मात्र ठिक्क छ ।

उनलाई आरन पेशाले न घर परिवार पाल्न धौधौ नै छ, न त आर्थिकस्थिति मजबुत होला भन्ने आश छ । सामान्य रुपमा यही पेशाबाट उनले जीवन चलाइरहेका छन् । ‘नत राम्रो घर नै बनाउन सके, न बैंक व्यालेन्स नै छ,’ उनी भन्छन, ‘अहिले ४० लाग्नै लाग्यो, तर उपलब्धी भने केही देखिएको छैन् ।’

स्वदेशमै भारतभन्दा न्यून मूल्यमा मूर्ति पाइने गरेपनि भारतबाट मंहगो मूल्यमा मूर्तिहरु आयात हुँदा दुःख व्यक्त गरे ।

सडको छेउमा बनाएको झुपडीलाई नगरपालिकाले दुई चोटी भत्काइसकेको विगतको सम्झिदै महादेवले सरकारले आफ्नो पेशालाई व्यवसायिक बनाउन नसक्दा लोप हुँदै जान थालेको बताए ।

सरकारले पेशाको संरक्षणका लागि तालिम तथा ऋण नदिने हो भने यो पेशा नै हराउने भन्दै महादेवले प्रश्न गरे,’ यदी यो पेशा नजोगिने हो भने भोलीको दिनमा भगवान कसले बनाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment