Comments Add Comment

कांग्रेसलाई ‘अन्तरघात गर्नेको’ सूचीमा सांसददेखि त्रिविका उपकुलपतिसम्म !

अनुशासन समितिले माग्यो सातदिने स्पष्टीकरण

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै दर्जनौं नेता कार्यकर्ताहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ । बिभिन्न जिल्लाबाट प्राप्त उजुरीका आधारमा कांग्रेसले कारवाही थालेको हो ।

कारवाहीको प्रक्रिया भने स्पष्टीकरणबाट शुरु भएको छ । अन्तरघात गरेको आरोपमा स्पष्टीकरण सोधिएकाहरुमा बहालवाला र पूर्व सांसददेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसम्म छन् ।

उजुरीको सूचीमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्ल समेत परेका छन् । उनको देउवा पत्नी आरजु राणा देउवासँग लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।

बिभिन्न जिल्लाबाट अन्तरघातका २ सय बढी उजुरी अनुशासन समितिमा परेका छन् । उजुरी परेकाहरुलाई सात दिने स्पष्टीकरण सोधिएको छ । ‘पत्र प्राप्त भएको मितिले सात दिनको लिखित स्पष्टीकरण मागिएको छ, त्यसपछि थप प्रक्रिया अघि बढ्छ,’ कांग्रेस अनुशासन समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

क-कसलाई सोधियो स्पष्टीकरण ?

स्पष्टीकरण सोधिएकाहरुमा नुवाकोटका जिल्ला सभापति एवम् सांसद जगदिश्वरनरसिंह केसी, रुकुमकी सांसद मिठु मल्ल, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सांसद दिनबन्धु श्रेष्ठ छन् ।

यसैगरी जुम्लाकै जिल्ला सभापति जितबहादुर शाही, दैलेखका जिल्ला सभापति कृष्ण बिसी र डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल पनि छन् ।

यसैगरी चितवनका पूर्वसांसद तिर्थ भुसाल र चितवन घर भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसँग पनि स्पष्टीकरण सोधिएको छ । खनियाँ कांग्रेस महासमिति सदस्य हुन् ।

रुकुमकी सांसद एवम् पूर्वराज्यमन्त्री मिठु मल्ललाई नेपाली कांग्रेस रुकुमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

असोज १० गतेभित्र उजुरी दिन सकिने

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिका अध्यक्ष रमेश रिजालको अध्यक्षतामा बसेको बैठकले उजुरी परेकाहरुसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।

बैठकले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा पार्टीका कुनै सदस्यले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भए असोज १० गतेभित्र उजुरी दिन पनि आह्वान गरेको छ ।

अनुशासन समितिको सचिव पदमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव एवम् अधिवक्ता केशव रिजाल नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment