Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः महिना दिनदेखि पालमै बाढीपीडित

२८ भदौ, काठमाडौं । नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आपूर्ति मन्त्री शिवकुमार मण्डललाई कारबाहीको प्रस्ताव ल्याउन दिएको निर्देशनलाई काठमाडौंबाट प्रकाशित हुने अधिकांश दैनिक पत्रिकाहरुले अाज मुख्य खबर बनाएर छापेका छन् ।

आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा अदालतबाट पराजित भएपछि डीआईजी नवराज सिलवालले मंगलबार प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।

बाढीपीडितका दुःखलाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । पत्रपत्रिकाका अनुसार, बाढीपीडित अझै पनि पालमुनि नै दिन गुजार्न बाध्य छन् । राहत नपाएपछि उनीहरु भोट माग्दै आउने नेताहरुसँग आक्रोसित बन्ने गरेका छन् ।

काठमाडौं उपत्यकाकाे बढ्दो प्रदूषण र यसकाे असरलाई पनि आजका केही पत्रपत्रिकाहरुले उठाएका छन् ।

कांग्रेस–माओवादी गठबन्धनको भविष्यदेखि त्रिविका उपकुलपति कांग्रेसको अन्तरघातीको सूचीमा परेकोलगायतका खबरले आजका पत्रपत्रिकाहरु भरिएका छन् ।

कांग्रेसले मात्रै मधेसको समस्या सम्बोधन गर्न सक्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको भनाइलाई गोरखापत्र दैनिकले आज मुख्य खबर बनाएर छापेको छ । आचारसंहितामा कडाइ गरिएको, सिलवालको रिट खारेज भएकोलगायत खबर गोरखापत्रको पहिलो पृष्ठमा अटाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले राजधानीमा प्रदूषण बढेको विषयलाई मुख्य खबर बनाएको छ । उसले लेखेको छ – प्रदूषणका कारण बालबालिका थलिँदै गएका छन् । अन्नपूर्णमै आयोग नबन्दा महाकाली सन्धि विवाद जटिल बनेको खबर छ ।

‘पूर्वसांसदलाई पनि पेन्सन’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुरले आयल निगमका प्रमुख कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीका लागि आपूर्ति मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको लेखेको छ ।

नागरिक दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल खड्कालाई कारबाही प्रस्ताव
ल्याउन निर्देशन दिएको लेखेको छ ।

नयाँ पत्रिका दैनिकले आज कांग्रेस–माओवादी गठबन्धनको भविष्यदेखि कांग्रेसले तयार पारेको अन्तरघातीको सूचीबारे चर्चा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment