Comments Add Comment

चितवनबाट चुनाव लड्दा प्रचण्डलाई जोखिम

कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् प्रचण्ड ?

२८ भदौ, भरतपुर । गत संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिरहाबाट निर्वाचन लड्ने तयारी गर्दै गर्दा उनले भनेका थिए, मेरो मधेससँग लभ परेको छ ।

अब आउने संघीय संसदको निर्वाचनमा प्रचण्डले आफ्नै गृहजिल्ला चितवनबाट निर्वाचन लड्ने घोषणा भाद्र २४ गते चितवन नै आएर गरेका छन् ।

प्रचण्डले चितवनबाट निर्वाचन लड्ने घोषणा गरेपछि जिल्लामा यो विषयले राजनीतिक बहसको पारो बढाएको छ । क्षेत्र निर्धारण आयोगले चितवनलाई ५ वटा निर्वाचन क्षेत्रबाट घटाएर ३ वटा मात्रै तय गरेपछि प्रचण्ड तीनमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्नेछन् । उनी सम्भवतः तीन नम्बर क्षेत्रबाट चुनाव लड्नेछन् ।

चितवनबाट निर्वाचन लड्ने प्रचण्डको तयारीलाई विभिन्न कोणबाट लिन थालिएको छ । उनको यो अत्यासित आगमन वा निर्णय भने होइन । उनले यसअघि प्रधानमन्त्री भएकै बेलामा चितवनको पश्चिम क्षेत्रका लागि मात्रै ६९ करोडभन्दा बढी बजेटमात्रै पठाएनन्, भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणु दाहाललाई मेयरमा उम्मेदवारी दिन लगाएर यसका लागि वातावरणसमेत बनाए ।

प्रचण्डले छुट्याएको बजेटमध्ये २८ करोडभन्दा बढी रकम फि्रज भयो । कुनै निर्वाचन क्षेत्र वा जिल्लाको कुनै एक विषेश भूभागमा पहुँचका भरका यतिका रकम पठाउँदा यसलाई कुन रुपमा लिने वा राष्ट्रिय नेताको जिम्मेवारी र दायित्व कुनै जिल्ला विषेश मात्रै हुन्छ कि देशभरि नै भन्ने प्रश्न पनि खडा हुन सक्छ । यो अर्को बहसको बिषय हो ।

त्यसो त प्रचण्ड कुनै क्षेत्र वा जिल्ला विषेशको मात्र नेता नभई देशकैै नेता हुँ भन्ने भावनाका कारण उनले चितवनलाई महत्व नदिएको गुनासो यहाँ हुँदै आएको थियो । जिल्लामा आउन उनी त्यति मन गर्दैनथे ।

यसका पनि कारण छन् । चितवनकै नेताको अगुवाइमा चलेको जनयुद्धका बेलामा माडीको बाँदरमुडेमा ४२ जनाको ज्यान जाने गरी गराइएको नरसंहारका कारण प्रचण्डलाई नैतिक संकट परेकै थियो । सबैभन्दा बढी उनलाई यही घटनाले बिझाउँथ्यो । अर्कोतर्फ चितवनलाई भन्दा उनी जनयुद्धमा बढी क्षति भोगेका र प्रभाव क्षेत्रको जनप्रतिनिधि भएर त्योसँग आफ्नो सम्वन्ध नटुटेको देखाउन पनि खोज्थे । यही कारण उनको प्राथमिकतामा चितवन परेन ।

रेणुको उम्मेदवारीलाई धेरैले दाहालको सम्भावित चितवन आगमनमा रुपमा धेरैले हेरेका थिए जुन स्वाभाविक र सत्य पुष्टि भएको छ । अनलाइनखबरसँग भएको एक कुराकानीमा रेणुले प्रचण्डको संघीय संसदको निर्वाचन लड्ने चाहनालाई घुमाउँरो तरिकाले स्वीकार गरेकी थिइन् ।

किन आउन चाहे प्रचण्ड चितवन ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवन हो । उनी कास्कीको ढिकुरपोखरीमा जन्मिएका भए पनि वाल्यकाल चितवनमा नै बिताएका हुन् । विद्यालय तहको शिक्षा र उच्च शिक्षा उनले चितवनमा नै लिएका थिए । साविक शिवनगर गाविस हाल भरतपुर महानगरमा प्रचण्डको पुरानो घर छ ।

प्रचण्डलाई जिल्लाका माओवादीका नेता र अन्य शुभेच्छुकहरुले चितवनको कुनै एक निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न पटकपटक दबाव दिने गरेको माओवादी कार्यकर्ता बताउँछन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले जहिले पनि डडेल्धुराबाट निर्वाचन लड्ने, एमाले अध्यक्ष केपी ओली झापाबाट, माधव नेपाल रौतहटबाट, झलनाथ खनाल इलामबाट निर्वाचन लड्दै आएका छन् । सबै नेता आ-आफ्नो गृहजिल्लाबाट प्रतिनिधित्व गर्ने तर प्रचण्डले किन नगर्ने भन्ने प्रश्नहरु उनीमाथि तेर्सिँदै आएकोथियो । सायद यही कुराको वोध उनले यसपटक बेलैमा गरे । र, चितवनबाट निर्वाचन लड्ने घोषणा समयभन्दा निकै अघि गरे । ठुलै न्यास्रोपन लागे जस्तै शैलीमा प्रस्तुत भए ।

कुन क्षेत्रबाट चुनाव लड्लान् प्रचण्ड ?

चितवनका तीनवटा निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि उपर्युक्त क्षेत्र भनेकै निर्वाचन क्षेत्र नं ३ हो । यो क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २० वटा वडाहरु छन् । प्रचण्डका लागि यो क्षेत्र सुखद के छ भने, भरतपुर महानगरपालिका र माडी नगरपालिकाको मेयर पद माओवादी केन्द्रले जितेको छ ।

माओवादीका तर्फबाट उम्मेदवार बनेका ठाकुर ढकाल माडीका मेयर हुन् । यता, महानगरमा माओवादीले जितेका ३ वटा वडाहरु यही निर्वाचन क्षेत्रमा पर्छन् । माओवादीले वडा नं १३ मा प्यालन जितेको छ भनेवडा नं २५ र २६ मा वडाध्यक्ष जितेको छ ।

अर्कोतर्फ प्रचण्डले बाल्यकाल बिताएको, पढेको र अधिकांश साथीभाइ एवं नातागोता भएको क्षेत्र पनि यहीनै हो । त्यसैले उनी चितवनबाट निर्वाचन लड्ने घोषणा गर्दै गर्दा निर्वाचन क्षेत्र नः ३ उनका लागि सबैभन्दा बढी अनुकूल देखिन्छ । साविक पटिहानी, जगतपुर, मैघौली लगायतका क्षेत्र कम्युनिष्ट रुझान भएका क्षेत्र हुन् ।

के-के छन् चुनौती ?

चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डका लागि केही चुनौतीहरु छन् । कांग्रेसको प्रभाव रहेको महानगरको पश्चिमी क्षेत्र यही निर्वाचन क्षेत्रमा पर्छ । अर्कोतर्फ माडीको बाँदरमुडे पनि यही क्षेत्रमा पर्छ ।

हुन त बाँदरमुढे रहेकै क्षेत्रमा माओवादीले स्थानीय चुनाव जितेको छ । तर, साविक जनमोर्चा रहेका मेयरठाकुर ढकाल माओवादी शान्ति प्रकृयामा आएपछि मात्रै माओवादीमा गएका नेता हुन् । उनी बाँदरमुडे घटनाका बिरोधी हुन् । ढकाललाई माडीका जनताले हेर्ने दृष्टिकोण र प्रचण्डलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ ।

अर्कोतर्फ, यो क्षेत्रमा एमाले समेत कमजोर छैन । यो निर्वाचन क्षेत्र अन्र्तगत एमालेले १९ मध्ये ६ वटा वडा जितेको छ भने कांग्रेसले ११ वटा वडा जितेको छ ।

जितको जमिन कति ?

स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने, माडी र भरतपुर महानगरपालिकाका १९ वटा वडा मिलेर बनेको क्षेत्र नं ३ मा माओवादीको अवस्था तेस्रो स्थानमा देखिन्छ । भरतपुर महानगरका १९ वटा वडाहरुमा कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ छ ।

एमालेको १९ वटा वडाको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३८ सय २६ गर्दा २४ हजार ९ सय ५६ हुन आँउछ ।

माओवादीको मत महानगरका १९ वटा वडाको १३ हजार ६ सय ३६ र माडी नगरपालिकाको मत ३८७२ गर्दा १७ हजार ५ सय ८ हुन आउँछ । जुन मत माओवादीको जितका लागि प्रयाप्त छैन् ।

निर्वाचन सम्वन्धी ऐनमा अब कुनै पनि नेताले एक मात्रै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्नुपर्ने र दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न नपाउने व्यवस्था गरे पनि दाहालका लागि झनै बढी दवाव यहाँ हुनेछ ।

पार्टी अध्यक्ष नै पराजित हुँदा त्यसले सन्देश पनि राम्रो दिने छैन । त्यसैले उनी कुनै दलको साथविना निर्वाचनमा पाइला टेक्छन् भन्ने अनुमान लगाउन सकिँदैन । स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसले गठवन्धन गरेर भरतपुर महानगरको मेयर र उपमेयर जितेका कारण सम्भवतः कांग्रेसले नै प्रचण्डका लागि काँध थापिदिने चर्चा चितवनमा चल्न थालेको छ ।

प्रचण्डले पनि केही न केही ग्रिनसिंग्नल नपाइकन चितवनबाट निर्वाचन लड्ने घोषणा पक्कै गरेका होइनन् । कांग्रेससँग सत्ता गठवन्धनमा रहेेको र विपक्षी एमालेलाई पराजित गर्न दाहाल र देउवा यसमा सहमत बन्न सक्छन् ।

चितवनको साविक निर्वाचन क्षेत्र नः ४ कांग्रेसको सबैभन्दा बलियो क्षेत्र हो । तत्कालीन पार्टी सभापति स्वर्गीय शुशिल कोइरालालाई जिताउनका लागि भन्दै कांग्रेसले नेपालकै सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र छानेर चितवन ४ मा शुशीललाई ल्याएको थियो ।

संविधानसभा निर्वाचनमा आफ्नो पार्टी सभापतिलाई जिताएका कांग्रेसजनलाई ०७४ मा माओवादीका अध्यक्षलाई जिताउनुपर्ने दायित्व नआउला भन्न सकिँदैन ।
प्रचण्ड चितवनबाट निर्वाचन लड्ने घोषणा गरेसँगै जिल्लाका कांग्रेसजनहरु फेरि पनि माओवादीलाई मत दिनुपर्ने अवस्था आउने भयो भन्नेमा लगभग ‘कन्भिन्स’ छन् ।

तर, कांग्रेसभित्रै विवाद पनि आउन थालेको छ । प्रचण्डले जुुन क्षेत्रबाट उम्मेदवार दिन्छन् त्यहीँबाट उम्मेदवार दिने भन्दै केही तरुण दलका नेताले सामाजिक सञ्जालमा घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment