Comments Add Comment

ओम अस्पतालमा विरामीको अपरेशनलाई लिएर तनाव

२८ भदौ, काठमाडौं । चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा विरामीको चिन्ताजनक अवस्थालाई लिएर तनाव भएको छ ।

बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशन गरेको करिब २२ घण्टा पछि अचानक स्वास्थ्यमा समस्या देखिएपछि तनाव भएको हो ।

विरामीका आफन्तका अनुसार विरामी कमलालाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको छ ।

उनको अवस्था चिन्ताजनक रहेको विरामीका आफन्तहरुले बताएका छन् ।

‘अस्पतालले अहिलेसम्म विरामीको मृत्युको घोषणा नगरेपनि अवस्था चिन्ताजनक भएको बताउँदै आएको छ’, विरामी कमलाका भाइ नारायण न्यौपानेले भने, ‘सामान्य हिँडेर आएको मानिसको अहिले अवस्था एकाएक चिन्ताजनक बन्दै गएकोमा हाम्रो आपत्ति छ ।’

नारायणका अनुसार कमलालाई सुरुदेखि नै नाकमा समस्या थियो । बेला-बेलामा रुघा लाग्ने, चिसो लाग्न नहुने समस्याबाट ग्रसित उनलाई चिकित्सकहरुले यसअघि नै नाकको सामान्य शल्यक्रिया गर्न सुझाव दिँदै आएका थिए । काठमाडौं आएको मौका पारेर विरामी चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पुगे । उनको स्वास्थ्य परीक्षण नाक कान घाँटी विशेषज्ञ डा. राजेन्द्र प्रसाद गुरागाईले गरेका थिए ।

‘समस्या त पहिलेदेखि नै थियो तर शल्यक्रिया गर्ने कि नगर्ने भन्नेमा हामी दोधारमा थियौं’, न्यौपानेले भने, ‘काठमाडौं आएको बेला राम्रो डाक्टरलाई देखाऔं न त भनेर अस्पतालमा आयौं । हिँड्दै आएको सामान्य मान्छे अहिले यो अवस्थामा कसरी पुग्न सक्छ ?’

बिरामीका आफन्तले ओम अस्पतालका डाक्टरको लापरवाहीले बिरामीको अवस्था गम्भीर बनेको आशंका गरेका छन् ।

डा. गुरागाईंले नाकको हड्डी बांगो भएकाले सामान्य शल्यक्रिया गर्न सुझाव दिएपछि कमला यही भदौ २३ गते शुक्रबार ओम अस्पताल भर्ना भएकी थिइन् । उनको शनिबार विहान ८ बजे शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्न २ घण्टा लाग्ने भनेपनि चिकित्सकले करिब ४० मिनेटमै शल्यक्रिया सम्पन्न गरी विरामीलाई पोस्ट अपमा सारेका थिए । आइतबार विहान करिब ७ बजे विरामीका आफन्त त्यहाँ पुग्दा उनलाई त्यहाँ एक्लै राखिएको थियो ।

बेलुकी उनलाई ‘पोस्ट अप’बाट वार्डमा सार्ने क्रममा व्लडप्रेसर ७०/५० पुगेको थियो भने उनले करिब ३ पटक बान्ता गरेको नर्सहरुले बताएका छन् । त्यतिबेलासम्म उनको स्वास्थ्य राम्रै थियो । उनी सामान्य कुराकानी गर्ने अवस्थामा थिइन् ।

लगत्तै नर्सहरुले उनलाई दालको रस खुवाउन आफन्तलाई भनेका थिए । ‘त्यतिबेला पुनः विरामीलाई बान्ता भएपछि हामीले बान्ता हुनुको कारण सोधेका थियौ’, नारायणले भने, ‘नर्सहरुले खाली पेटका कारण बान्ता भएको बताएका थिए ।’

त्यसलगत्तै छातीमा समेत पीडा भएको र बेलुकी ४ बजेदेखि पिसाबसमेत हुन छाडेको थियो ।

त्यतिमात्र हैन, विरामीलाई समस्या भएको करिब ११ घण्टापछि मात्र करिब राती आठ बजे उनलाई अपरेशन गर्ने डाक्टर उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए । त्यस अघिसम्म त्यहाँ कुनै चिकित्सक नभएको पीडित पक्षको आरोप छ ।

त्यसपछि राती करिब १२ बजे एकजना चिकित्सकले उनलाई गाह्रो भयो भन्दै आईसीयुमा लैजान सुझाव दिएका थिए । ‘हामी त जसरी हुन्छ विरामी निको हुनुपर्‍यो भन्नेमा थियौ । त्यसैले चिकित्सकहरुले जे-जे भन्दै गए, त्यही गर्दै गयौं । आइसीयुमा लगेको केहीबेरमै उनलाई अचानक हृदयाघात भएको चिकित्सकहरुले बताए ।’

त्यसपछि, तुरुन्तै कार्डियोलोजिस्टलाई बोलाउन अनुरोध गर्दा अस्पतालले डाक्टर आउँदै हुनुहुन्छ मात्र भनेको न्यौपाने बताउँछन् ।

अन्ततः सोमबार राती करिब ८ बजे टिचिङ अस्पतालका एक काडियोलोजिस्टले चेकजाच गर्दा कमललाई हृदयाघात नभई उनको मिर्गौला, लिभर लगायत शरीरमा विभिन्न ठाउँमा संक्रमण भएको बताएका थिए ।

‘त्यसपछि हामीले यो कुरा अस्पताल व्यवस्थापनसित समेत राखेका थियौं । उनीहरुले विरामीको डायलासिस गरे तुरुन्तै समस्या समाधान हुने बताएपछि हामीले त्यो पनि गर्‍यौं,’ नारायणले भने ।

आज विहान अस्पतालले कमलाको हालत अझ नाजुक भएको र विभिन्न अंगहरुले काम गर्न छोडेको बताएका छन् । जबकी उनलाई कुनै दिर्घकालीन रोग तथा वंशाणुगत रोग नभएको आफन्तको भनाइ छ ।

‘अपरेशन गरेर पोस्ट अपमा राख्दासम्म सबै ठीक भएको मानिसलाई अचानक संक्रमण कसरी भयो, यसबारे न त अस्पतालले केही भन्छ, न त हामीलाई जानकारी दिन्छ’, उनले भने, ‘यसबारे यकिन जानकारी गराउन हामी अनुरोध गर्छौं ।’

यता अस्पतालले भने विरामीको रगतमा संक्रमण देखिएका कारण नै उनलाई आइसीयु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको बताएको छ ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले अनलाइनखबरसँग भने, ‘नाकको शल्यक्रियाका क्रममा उनको अवस्था गम्भीर भएको सही हो ।’

यद्यपी यो समस्या अस्पतालको लापरवाही नभई सेप्टेरोमिया नामक नाकको संक्रमणका कारण भएको उनले दाबी गरे । संक्रमण भएको थाहा पाउनासाथ विरामीको उपचार सुरु गरिएको उनले जानकारी दिए । ‘जतिबेला उनलाई संक्रमण भएको थाहा भयो, त्यतिबेला नै हामीले आवश्यक उपचार सुरु गरेका थियौं,’ गौतमले भने ।

उनले विरामीको पिसाब रोकिएकै कारण डायलासिसमार्फत उक्त पिसाब निकाल्ने प्रयास गरिएको समेत जानकारी दिए । यसको बाबजुद विरामीको अवस्था अझ जटिल रहेको डा. गौतम स्वीकार्छन् ।

डा. गौतमका अनुसार यस्तो संक्रमण दश हजारमा एक जनालाई हुने गर्छ । संक्रमण भएमा त्यसले मानिसको मिर्गौला, मुटु, कलेजोले नियमित काम गर्न छाड्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment