Comments Add Comment

हात पर्‍यो नयाँ नोट, लाग्यो दशैं (फोटो फिचर)

वितरण प्रणालीमा सुधारले घट्यो लाइनको चाप

२८ भदौ, काठमाडौं । गत वर्षसम्म दशैंको नोट साट्न राष्ट्र बैंकको थापाथली कार्यालय अगाडि अघिल्लो दिन ३/४ बजेदेखि नै लामो लाइन लाग्ने गर्दथ्यो । कार्यालय भित्रदेखि सुरु हुने लाइन मुख्य सडक पेटीमा समेत आउने गर्दथ्यो । तर यसपटक भने त्यस्तो चाप देखिएन ।

सर्वसाधारणको लागि नयाँ नोट वितरण सुरु भएको पहिलो दिन बुधवार बिहानपख करिब दर्जन मानिसहरु मात्र देखिन्थे । दिउँसो १२ बज्दा भने करिब करिब २ देखि ३ सय मानिसहरु नयाँ नोट लिने लाइनमा थिए ।

यसपटकबाट राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल बैंकबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था गरेपछि तुलनात्मक रुपमा थापाथलीमा चाप घटेको हो । यसपटक कुल १७ स्थानबाट नोट सटही सुविधा दिइएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन बिभागका निर्देशक भिष्म प्रसाद उप्रेतीले बताए ।

त्यसबाहेक यसपटक १० दिनसम्म नोट सटही सुविधा दिइएको छ । अघिल्लो पटकसम्म मात्रै ७ दिन नोट सटही सुविधा दिइएको थियो । त्यस्तै, यसपटक भदौं २१ गतेदेखि नै सरकारी निकाय, कुटनीतिक निकाय लगायतका संस्थाहरुलाई नोट साट्न सक्ने व्यवस्था गरिएको भएपनि नोट साट्न जाने अन्यले समेत यो सुविधा पाइरहेकोले पनि चाप घटेको उप्रतीको अनुमान छ । मंगलवारसम्ममा भने ६ अर्ब ९१ लाख रुपैयाँ सटही भएको छ ।
यता, बुधवार राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयमा भने खासै चाप देखिएको छैन् । १०र१५ जना मात्र नोट सटहीको लाइनमा बसिरहेका देखिन्थे ।

वाणिज्य बैंकको टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि वितरण भइरहेको छ ।  नेपाल बैंकको बैंकिङ अफिस, न्युरोड बालाजु, पाटन कीर्तिपूर र भक्तपुर शाखाबाट नोट साट्न सकिने भएको छ ।

कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नोट सटही सुविधा दिइएको छ ।
यसपटक करिब ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण हुने अनुमान गरेको राष्ट्र बैंकले आफ्नै थापाथली र क्षेत्रीय कार्यालयमा पुग्नेलाई प्रतिव्यक्ति २७ हजारसम्म सटही सुविधा दिने र सरकारी कार्यालयबाट भने २० हजारको दरमा वितरण गर्ने व्यवस्था मिलाएको हो । करिब १० दिन नयाँ नोट विरतण हुने बताइएको छ ।

बैंकहरुले ५,१०,२०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् । निजी बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । यसको लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई ३ देखि ११ करोड रुपैयाँसम्म नयाँ नोट दिएको उल्लेख गरेको छ ।

तस्वीर श्रीधर पौडेल/अनलाइनखबर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment