Comments Add Comment

अनस्क्रिन नेपाल आइडल, अफस्क्रिन जातीय वाकयुद्ध !

नेपाल आइडलको फाइनलमा पुगेका निशान भट्टराई, वुद्ध लामा र प्रताप दास (वायाँबाट क्रमशः) ।

अहिले अनस्क्रिन ‘नेपाली आइडल’ चलिरहेछ । र, अनस्क्रिन बाहिर ‘जातिय वाकयुद्ध’ । यस्तो लाग्छ, यो गायन प्रतियोगिता होइन, ‘त्यो जात’ र ‘यो जात’बीचको घम्साघम्सी हो । बुद्ध लामा, निशान भट्टराईहरु आफ्नो साधना, शिल्प र सुरको आलोकमा उभिइरहेका छन् । यता ‘लेडिज एन्ड जेन्टलमेन’हरु उनीहरुलाई दुई कित्तामा चिरा पारेर साम्प्रादायिक मुखुन्डो भिराइरहेका छन् ।

सामाजिक संजालमा देखिने असामाजिक स्टाटसहरुले बताउँछ, हामी कति संकिर्णता साँधेर पाखुरा सुर्किरहेका छौं ।

सन्देह छैन, नेपाल आइडलको खोजी सम्भावनायुक्त गायन प्रतिभा नै हो । यसमा उसैले बाजी मार्छ, जसले आफ्ना प्रतिस्पर्धीको आवाजलाई माथ दिन सक्छ । तर, प्रतियोगीको गायकी, मीठास, लयलाई साझा तराजुमा जोखेर होइन, नाखको लम्बाई नापेर पक्ष-विपक्षमा खडा भएका छन्, महापुरुषहरु । र, एक-अर्कालाई चोर औंला ठड्याएर तथानाम गाली गरिरहेका छन् ।

गायकीको उत्कृष्टता उसको स्वर, लय, सुर, तालले मापन गर्छ । संगीतका पारखीले गायकको रुप देख्दैन । रंग एवं वर्ण देख्दैन, नाक देख्दैन । उचाई र मोटाइ केहिपनि देख्दैन । किनभने संगीत सुनेर अनुभूत गर्ने कुरा हो । संगीत सुन्दा आँखा बन्द हुन्छ । र, उसले केवल स्वर र सुर मात्र सुन्छ । तर, तिनीहरुको कानले संगीतको यो माधुर्य ग्रहण गर्नै सक्दैनन्, जसको श्रवण यन्त्रमा ‘जातीयताको कानेगुजी’ भरिएको छ ।

जब एउटै मञ्चमा उभिएका दुई प्रतिस्पर्धीलाई मतुवाली/बाहुन/पूर्वेली/पश्चिमेली/पहाडे/मधेसी भनेर विभेदको आँखाले हेर्छ भने, उनीसँग संगीतलाई बुझ्ने र सुन्ने क्षमता छैन । एकरत्ति पनि ।

यसो भन्नुको अर्थ सबै प्रतियोगीप्रति समान झुकाव राख्नुपर्छ भन्ने होइन । त्यसमा निरपेक्ष हुन सकिँदैन । कुनै न कुनै प्रतियोगीलाई भावनात्मक रुपले सपोर्ट गरिन्छ नै । चाहे उसको पर्फमेन्स, चाहे उसको गायकी, चाहे उसको भोलापन, चाहे उसको गेटअप कुनैपनि कुराले हामीलाई तान्न सक्छ, लोभ्याउन सक्छ । यसमा कसैले छेकबार लगाउन मिल्दैन ।

यद्यपि नेपाली आइडलमा जसरी दर्शकहरु विभाजित हुँदैछन्, त्यो केवल लहड मात्र होइन । एउटा प्रवृत्ति हो । भयानक प्रवृत्ति । यहि प्रवृत्ति सघन हुँदै जाँदा सामाजिक सदभाव नराम्ररी विथोलिने खतरा रहन्छ ।

हेर्नुहोस् वुद्ध लामाको फेसबुक स्टाटस

भाँडिदैछ सदभाव

भट्टराई बाजेको भान्सामा नुन सकिँदा मगर दाइकोमा पैंचो माग्नुपर्ने, विश्वकर्मा काका थला पर्दा शेर्पा कान्छाले बोकेर अस्पताल पुर्‍याउनुपर्ने सामाजिक धरातलमा उभिएका छौं, हामी ।

यसरी एकअर्काको परिपूरक भएर बाँचिरहेका हाम्रो समाजमा केहि यस्ता तत्व छन्, जसले आपसी सद्भाव नै भाँडिदिन्छ । जातियताको नाममा, क्षेत्रियताको नाममा हामी पल्लाघरे हितैषीमाथि धारे हात लगाउन थाल्छौं । पाखुरा सुर्कन थाल्छौं । अन्ततः यसले हामीलाई झन्-झन् एक्लो बनाउँदै लान्छ । हाम्रो बाँच्ने समाज खुम्चदै जान्छ । हाम्रो खेल्ने आँगन साँघुरिदै जान्छ । हाम्रो दुःखसुख बाँढ्ने चौतारो कित्ताकाट हुँदै जान्छ । एकदिन यस्तो अवस्था आउँछ कि, खुट्टा तन्काएर बस्ने ठाउँ रहँदैन ।

त्यसबेला हाम्रो खुसीमा नाच्न च्याङ्वा दाइ आउँदैनन् । त्यसबेला हाम्रो दुःखमा रुन घर्ती कान्छा आउँदैनन् । मर्दा-पर्दा, मलामीमा, भोजभत्तेरमा हाम्रो आँगन रित्तिँदै जान्छ । हामी रित्तिँदै जान्छौं । हाम्रो खुसी, हाम्रो बैभव, हाम्रो एकता, हाम्रो सद्भाव रित्तिँदै जान्छ ।

किन यस्तो हुँदैछ ?

आफ्नो जात, आफ्नो समुदायप्रति भावनात्मक अट्याचमेन्ट हुन्छ । हुनुपर्छ पनि । तर, त्यो त्यसबेलासम्म मात्र निश्कलंक र न्यायिक हुन्छ, जबसम्म त्यसमा साम्प्रदायिकताको रंग लेपिँदैन । जबसम्म त्यसमा विभेदको कुनै अंश रहँदैन ।

तर, साम्प्रदायिक मनोवृत्तिबाट ग्रसित भएर आफ्नो जातको पक्ष बोक्नु सुहाउँदो र सुपाच्य होइन । त्यसले हामीलाई संकिर्ण बनाउँछ ।

हुन त अहिले जातीयताको कुरामा उग्र हुने प्रवृत्ति हावी हुँदै गएको छ । कोहि जातीयताको झन्डा बोकेर राजनीति गरिरहेका छन् । कोहि व्यापार गरिरहेका छन् । कोहि राज्यको कोटा खाइरहेका छन् । कोहि सेवा-सुविधा भोग गरिरहेका छन् । कोहि अनुदान र सहयोग लिइरहेका छन् । र, उनीहरु नै हुन्, समाजमा जातीय पर्खाल ठड्याउने । उनीहरु नै हुन्, साम्प्रदायिक भावना पैदा गर्ने । उनीहरु नै हुन्, ‘तँ दलित/तँ बाहुन’ भनेर कित्ताकाट गर्ने । किनभने, जब जातीय विभेद र वैमनश्य पैदा हुन्छ, त्यो धन्दा झन् झन् फस्टाएर जान्छ ।

हामी थाहै नपाई यस्ता धन्दावालको गोलचक्करमा फँसेर जातीयताको संकिण लडाँई गर्न उद्दत हुँदैछौं । आफू बाँच्ने परिधीलाई झन्-झन् साँघुरो बनाउँदैछौ ।

हामी जुन विन्दुमा अल्झिएको छौं त्यो भन्दा निकै फराकिलो छ अर्को संसार । त्यो संसारमा बाहुन क्षत्रीहरु बुद्ध लामाको गुणगान गाइरहेका छन्, जनजातिहरु निसान भट्टराईलाई प्रेम बर्सारहेका छन् । त्यो संसारमा हो हामीले आफ्नो अस्तित्व खोज्नुपर्ने । त्यही संसारमा हो, हामीले आफ्नो रीतिथीति बसाउनु पर्ने । त्यही संसारमा हो, हामीले आफ्नो समाज निर्माण गर्नुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment