Comments Add Comment

चितवनका थारू जातिले यसरी मनाउँदैछन् जितिया पर्व

२८ भदौ, चितवन । चितवनका आदिवासी भूमिपुत्र थारु जातिले धुमधामका साथ ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोबास रहेको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितियाको विषेश उल्लास छ । चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । आज जितियाको दोस्रो दिन अर्थात मुख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

आज अष्टमीको दिन भएकाले महिलाहरू बिहानैदेखि ‘उपास’ व्रत बसी झम्टा नाच नाचेर मनाइरहेका छन् । महिलाहरू नयाँ साँस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुम्छन् ।

आज बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दहि साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् ।

गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई थारु भाषामा ‘फराहर’ भनिन्छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति, जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ, बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खान्कीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।

त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ । चितवनमा करिव ८० हजार थाारु समुदायको बसोबास रहेको छ । तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी, मैथिली जातिले पनि जितिया पर्व मनाउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment