Comments Add Comment

मुक्केवाज सुशीलले पाए नागरिकता

२८ भदौ, काठमाडौं । राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले बुधबार नागरिकता पाएका छन् ।

सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिक नभएका कारण २३ वर्षीय सुशीलले नागरिकता पाएका थिएनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव केशवकुमार विष्टले जिल्ला प्रशासन कार्यालयमा गइ सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गरेका थिए । सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजीका स्वर्ण विजेता हुन् ।

राखेप सदस्य-सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको धारणा व्यक्त गरे । उनले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपले सुशीललाई नागरिकता दिलाउन पहल गरेको बताउदै १३ औं सागको तयारीका लागि सुशीललाई वैदेशिक प्रशिक्षणमा पठाउन बाटो खुलेको बताए ।

नागरिकताकै कारण पासपोर्ट नबनेपछि सुशीलले चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउनु परेको थियो । नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिए ।

उनले बक्सिङ परिवारका साथै नागरिकता दिलाउन पहल गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै अब आफ्नो लागि भन्दा पनि देशका लागि केहि गर्छु भन्ने अठोट लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment