Comments Add Comment

वर्ल्ड रेकर्ड नजिक पुगेको गीतको प्रदर्शनी असोज ७ मा

२८ भदौ, पोखरा । उत्कृष्ट प्रकाशकको रुपमा गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड्समा नाम लेखाउने क्रममा रहेको वातावरण सम्बन्धी गीतको पोखरामा पहिलो प्रदर्शनी गरिने भएको छ । गीत सम्बन्धी जनचेतना जगाउने उद्देश्यले यहि असोज ७ गते अपराहृन ५ बजे पोखराको तेर्सापट्टीस्थित श्रीकृष्ण हलमा प्रदर्शन गर्न लागिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

३३ मिनेट ४९ सेकेण्डको यो गीतसहित ‘मिलानकोली अभियान’ सम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिने गीतका श्रष्टा तथा ‘मिलानकोली अभियान’का अभियन्ता निपेश ढाकाले जानकारी दिए ।

ढाका अनुसार गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड्समा दर्ताको प्रक्रियामा रहेको यस गीतमा १ सय ६५ जना कलाकारले स्वर दिएका छन् । गीतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित ५ वर्षीय निस्पल अधिकारीलगायतले स्वर दिएको ढाकाले बताए । गीतमा पोखरेली गायक/गायीकाहरु रामभक्त जोजिजु, इतु जोजिजु, बिनोद बानिया, गंगाधर पराजुलीलगायतको पनि स्वर छ । गीत प्रदर्शनीमा पोखरामा उपलब्ध कलाकारहरुको पनि उपस्थिति रहने बताइएको छ ।

गीतमा वातावरण, जैविक विविधता, जल, जमिन, वन जंगललगायतको महत्व र यसको संरक्षण गर्नुपर्ने कुरालाई उठान गरिएको ढाकाले बताए ।

गीतका सर्जक ढाका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ अस्तामका स्थायी बासिन्दा हुन् । जर्मनीबाट वातावरण विज्ञानमा उनले उच्च शिक्षा हासिल गरेका छन् । नेपालमै बसेर देश र जनताको लागि केहि गरौं भन्ने उद्देश्यले नेपाल आएका उनले ४ वर्षसम्म ६३ जिल्ला जिल्ला घुमेर भौगोलिक, सामाजिक, जनसमुदाय तथा पर्यावरणीय अध्ययन र अनुसन्धान गरेर गीत सिर्जना गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा गायक रामभक्त जोजिजुले गीत सिर्जना र गायनमा अत्यन्तै मेहनत परेको बताए । अर्का गायक तथा सञ्चारकर्मी बिनोद बानियाले गीतले अहिलेको वर्तमान परिस्थिति बोल्दै वातावरण संरक्षण गर्नर् प्रोत्साहित गर्ने भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रवेशका लागि १ हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको निपेश ढाकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment