Comments Add Comment

सवारी नम्बर प्लेट देवनागरी लिपिमा सम्भव

२९ भदौ, काठमाडौं । ‘सवारी साधनमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा देवनागरी लिपिमा नेपाली भाषाको प्रयोग प्राविधिक रूपमा सम्भव छ ।’ यो कुनै प्राविधिक विज्ञले गरेको दाबी नभई स्वयम् नेपाल सरकारले नै पुष्टि गरी सार्वजनिक गरेको नमुनाबाट सम्भव रहेको प्रमाणित भएको हो ।

गत महिना अर्थात् २०७४ साउन २५ गतेको नेपाल राजपत्र खण्ड ६७ सङ्ख्या २० को भाग ३ मा प्रकाशित नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सूचनाअनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा प्रयोग भएको विद्युतीय सङ्केताङ्क चिह्न पाटी प्राविधिक रूपमा सम्भव रहेको हो ।

नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७८ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची­ २ मा हेरफेर गरी विद्युतीय सङ्केताङ्क चिह्न पाटी विवरण र नमुना नेपाल राजपत्रमा सार्वजनिक गरेको हो ।

राजपत्रमा उल्लेख भएअनुसार राष्ट्रपतिका लागि बेग्लै ढाँचाको विद्युतीय सङ्केताङ्क चिह्न पाटी रहनेछ । राष्ट्रपतिको सवारी साधनका अगाडि र पछाडि रहने त्यस्तो चिह्न पाटीको ढाँचा र रेखाचित्र पनि राजपत्रमा दिइएको छ ।

रोमन लिपिमा एफडीआर नेपाल, नेपालको निशाना छाप, दुई वटा राष्ट्रिय झन्डा, रोमन लिपिमा एनईपी अङ्कित सुरक्षण चिह्न (होलोग्राम) साथ देवनागरी लिपिमा ‘सङ्घीय गणतन्त्र नेपाल’ र रोमन लिपिमा सङ्ख्या रहने नमुना राष्ट्रपतिको सवारी साधनका लागि तयार पारिएको छ ।
त्यस्तै, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, व्यवस्थापिका–संसद्का सभामुख तथा उपसभामुख र मन्त्रिपरिषद्का सदस्यहरूको सवारी साधनका लागि सेतो पाटीमा रातो रङको अक्षर र अङ्क हुनुपर्ने विशेषता उल्लेख गरिए पनि ती सवारी साधनमा भने देवनागरी लिपिमा नेपाली भाषाका लेखिने कुनै विशेषता छैनन् । त्यसैगरी अन्य सरकारी, सार्वजनिक, निजी र कूटनीतिक नियोगका सवारी साधनमा पनि देवनागरी लिपिमा लेखिने नेपाली भाषाको कुनै अङ्क र अक्षर छैनन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment