Comments Add Comment

युग पाठकमाथि प्रश्नः तुम्याङ हुने कि फेदाङ्वा ?

विद्वान लेखक, उपन्यासकार एवं स्तम्भकार युग पाठकको पछिल्लो पुस्तक ‘माङ्गेना’ यतिबेला निकै चर्चामा छ । फाइन प्रिन्टले बजारमा ल्याएको यस पुस्तकको आवरणमा राष्ट्रिय झण्डा च्यातिएको देखाइएकोमा कतिपयले सामाजिक सञ्जालमा बोक्रे आलोचना गरे पनि पुस्तकभित्रको गुदीको विषयमा खासै बहस र समालोचना भएको भेटिएको छैन ।

नेपाली साहित्य एउटा रुढीवादले ग्रस्त छ । कुनै पनि लेखकको पुस्तक असाध्यै राम्रो छ भनेर प्रशंसा गरिएका लेखहरु धेरै पढ्न पाइन्छन् । तर, तटस्थभावले समालोचना गरिएको कमै पाइन्छ । यसको एउटा प्रमुख कारण के हो भने लेखकहरुमा आलोचनालाई नपचाउने, आलोचना गर्नेप्रति व्यक्तिगत रीसराग राख्ने र प्रशंसाको मृगतृष्णामा रमाउने मनोवृत्ति बढेको छ ।

आशा गरौं- युग पाठकजस्ता नयाँ युगका लेखक, जो नेपाली साहित्यमा समेत नयाँ डिस्कोर्षको थालनी गर्न चाहिरहेका छन्, आलोचनालाई पचाउने छन् र बहसमा उठेका विषयलाई सहजरुपमा लिने छन् ।

माङ्गेनामा के छ ?

उर्गेनको घोडा शीर्षकको उपन्यासमार्फत नेपाली साहित्यको बजारमा चर्चा कमाएका युग पाठक चिरपरिचित पत्रकार एवं स्तम्भकार समेत हुन् । अंग्रेजी साहित्य पढेका पाठक एक वौद्धिक आन्दोलनका अगुवासमेत मान्छिन् भन्ने कुरा उनैको पुस्तकको भित्री आवरणमा उल्लेख छ ।

मण्डला थिएटरमा उनको युमा नाटक मञ्चन भएको थियो, जसले उनी नाटककार एवं लिम्बु मिथकका जानकार हुन् भन्नेसमेत पुष्टि गर्दछ । अफ्रिकी एशियाली ल्याटिन अमेरिकी लेखक महासंघका उपमहासचिव समेत रहेका पाठकले ‘माङ्गेना’ शीर्षकको किताब लेखेर यसमा पनि लिम्बु मिथकलाई राष्ट्रिय प्रवाहमा ल्याएका छन् ।

माङ्गेना उर्गेनको घोडाजस्तो कुनै उपन्यास वा आख्यान हैन । यसलाई पाठकले ‘नेपाल मन्थन’ नाम दिएका छन् । लेखकले भनेका छन्-यो पुस्तक मूलतः बहसको उठान हो ।

माङ्गेनामा १२ वटा लेख रचनाहरु छन् । कतिपय लेखहरु अनुसन्धानात्मक नयाँ छन् भने केही चाहिँ कान्तिपुर लगायतका पत्रिकाहरुमा पहिल्यै प्रकाशित भइसकेकालाई पुस्तकमा समेटिएका छन् ।

कागले लगेको भाषाको कान शीर्षकको लेख पहिल्यै नयाँ पत्रिकामा छापिइसकेको थियो । हामीले नलेख्न कहाँ मिल्छ र ? भन्ने लेख कान्तिपुरमा प्रकाशित भइसकेको थियो । त्यस्तै माङ्गेनाभित्र रहेका ‘रेग्मी र इतिहासको जरा’ अनि ‘रेमिटेयान्समा उनिएको सपना’ पनि पहिल्यै कान्तिपुरमा प्रकाशित भइसकेका लेखहरु हुन् ।

पुस्तकभित्र समेटिएका मध्ये नेपाली साहित्यको माङ्गेना ललित जर्नलमा छापिएको लेख हो । त्यस्तै दलित दृष्टिमा पुनर्निर्माण भूकम्पपछिको पुनर्निर्माणमा आधारित लेख हो । नेपाली राष्ट्रवाद प्वाँख कि पखेटा ? पनि कान्तिपुरमा पहिल्यै छापिएको लेख हो ।
नेपाली मिडिया एक सामयिक दृष्टि शीर्षकको लेख पनि पहिल्यै जर्नलमा छापिएको रचना हो, जसलाई माङ्गेनामा समेटिएको छ ।

किताबको सुरुमा विनोदविक्रम केसीको गोल्ड मेडल कविता राखिएको छ भने नेपालको मांगेना शीर्षकमा लेखकले भूमिका लेखेका छन् ।
पुस्तकभित्र लिम्बु संस्कृतिको मिथक मांगेनाको प्रशंग ठाउँ-ठाउँमा उठाइएको छ र त्यही आधारमा पुस्तकको शीर्षक मांगेना राखिएको छ ।

‘मिथक’ भत्काउने प्रयास

लेखक युग पाठकले आफ्नो पुस्तकमा नयाँ बहसका नाममा पुरानै बहसहरु उक्काएका छन् । उनी आफ्नो पुस्तकमा भविश्यको खाका कोर्दैनन्, बरु इतिहासको निन्दा र भत्सर्ना गरेर समय गुजार्छन् ।

दृष्टान्तका लागि गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बहस उनलाई मन पर्दैन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको नभएर रक्तपातपूर्ण दमनको माध्यमबाट गोर्खा राज्यको विस्तारमात्रै गरेका हुन् भन्ने उनको जिकिर छ । नेपाल र नेपालीको नाम र इतिहासमा समेत उनी सन्तुष्ट र गौरवान्वित छैनन् ।

पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ- पाठक नेपालमा शाह बंशको योगदानलाई एक रत्ति पनि सकारात्मक मान्दैनन् । महेन्द्रलाई उनले कुरुप एवं निरपेक्ष पात्रका प्रस्तुत गरेका छन् । यतिसम्म कि माधव घिमिरेले लेखेको ‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे’ गीतको अंश प्रचण्डले खुल्लामञ्चको भाषणमा प्रयोग गरेकोमा समेत युग पाठक आपत्ति प्रकट गर्छन् ।

पाठकको नजरमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, वालकृष्ण सम, बलभद्र कुँवर, अमरसिंह थापा सबै यो देशका नकारात्मक प्रतिविम्बहरु हुन् । प्रचण्ड र केपी ओली सबै खराब पात्रहरु हुन् । उनीहरु कोही पनि असली राष्ट्रवादी हैनन् ।

लेखकको नजरमा अहिलेसम्म हामीले मानेका वा खडा गरिएका सबै मिथक र विम्बहरु ( नेपाल र नेपालीको नाम समेत ?) गर्ल्याम गुर्लुम नपारेसम्म नेपालको माङ्गेना पूरा हुँदैन ।

‘नेपाल एक नक्शा, एक अवधारणामा’ उनले लेखेका छन्- नेपाल र नेपाली दुबै परिकल्पना दोधारमा परेको धेरै भयो । ….गोरखाका राजा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार अभियानको थालनी गर्दा हालको काठमाडौं उपत्यकालाई नै नेपाल भनिन्थ्यो ।

यही लेख अन्तरगत ‘एकीकरणको भाष्य’ उपशीर्षकमा पाठकले प्रश्न उठाएका छन्- ‘पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गरेका थिए कि नेपालको एकीकरण ?’

पाठकको नजरमा पञ्चायती व्यवस्थामा विभिन्न सूत्रहरुको सूत्रपात गरियो र पृथ्वीनारायण शाहलाई स्थापित गराइयो । पञ्चायतकालमा महेन्द्रले ‘नेपालीकरण’ सुरु गरेर आन्तरिक उपनिवेशवादको पहिलो एपिसोड थालनी गरेको पाठकको तर्क छ ।

नेपालीकरणका लागि के- के गरियो ? लेखकको विश्लेषणमा पृथ्वीनारायणलाई राष्ट्रपिता बनाइयो, राष्ट्रिय पोशाक तयार पारियो । राष्ट्रिय फूल, सगरमाथा, बलभद्र आदि शीर्षकमा विद्यालयहरुमा हाजिरीजवाफ, वक्तृत्वकला गराइयो । दौरासूरुवाल र ढाका टोपी अनिवार्य गरियो । अनि राष्ट्रियताका वीर गाथाहरु रोपिए ।

राजा महेन्द्रले गाउँर्फक अभियान चलाएर टट्कारो रुपमा नेपालीकरण सुरु गरेको पाठकको भनाइ छ । कसरी ? नेपाली साहित्य पढ्न प्रोत्साहन गरियो । राष्ट्रिय झण्डा वितरण गरियो । नेपालको भौगोलिक सुन्दरताको गाथा गाइयो । गोर्खा भाषालाई नेपाली भाषाको रुपमा स्थापित गराइयो । नेपाली जाति र नेपाली भाषाको एक विशिष्ट परिकल्पना गरियो । गोर्खाली सैन्य अभियानसँगै खस गोर्खाभाषाको विस्तार गरियो ।

हाम्रो देशमा यस्ता अति बुद्धिजीवीहरु छन्, जो कि यो किनारामा उभिन्छन्, कि अर्को किनारामा । कसैलाई महेन्द्रमाथि गाली नगरी भातै पच्दैन, कसैलाई महेन्द्रको भक्तिगाथा नगाएसम्म निद्रा लाग्दैन

पुस्तकमा पाठक लेख्छन्- ‘लामो शासकीय प्रयासका बावजुद नेपपाली भाषा ००७ सालसम्म पनि अरु मातृभाषी समुदायमा बोलिँदैनथ्यो । जहाँ साहित्यकार, भाषाका अभियन्ता र बुद्धिजीवीहरु यसलाई राष्ट्रभाषा बनाएर फरक समुदायको जिब्रोमा आरोपण गर्नुपर्ने जिकिर गरिरहेका थिए ।……. इतिहासका नाममा योभन्दा सुन्दर काल्पनिकी के हुन सक्छ ?’

‘नेपालको पुनपर्रिकल्पना’ उपशीर्षकमा पाठकले ‘नेपाली जातिको काल्पनिकी दार्जीलिङमा बनेर काठमाडौं आइपुगेको’ बताएका छन् । उनी ‘नेपाल’को विस्तारित अर्थप्रति अरुची प्रकट गर्दै लेख्छन्- ‘उपत्यकालाई मात्रै नेपाल भन्ने महेन्द्रलाई चित्त बुझेको थिएन ।’

पाठकको दृष्टिकोणमा महेन्द्रले बनाएको राज्य थियो, राष्ट्र थिएन । राष्ट्रको रुपमा जुन परिकल्पना गरियो, त्यसले फरक समुदायलाई पराइकरण गरिरह्यो । किनभने यो फगत परिकल्पना थिएन, सत्ताले लागू गरेको पद्दति थियो भन्ने लेखकको तर्क छ । र, उनको निश्कर्ष छ- ‘नेपालको परिकल्पना अब पुरानो भाष्यका आधारमा हुन सक्दैन ।

नेपाल र नेपालीको भाष्यमाथि कडा प्रहार गरिसकेपछि पाठकले साहित्यकारमाथि प्रहार गरेका छन् । ‘सांकृतिक प्रभुसत्ता’ उपशीर्षकमा उनी देवकोटा, वालकृष्ण सम र भानुभक्त आचार्यमाथि जाइलाग्छन् । के नेपाल सानो छ ? शीर्षकमा देवकोटाले लेखेको नेपाल सुन्दर शान्त र विशाल छ भन्ने भाष्यप्रति पाठकको तीव्र असहमति छ ।

पुस्तकमा लेखकले ‘विकासः नसुल्झिको पहेली’ शीर्षकमा एउटा लामो लेख प्रस्तुत गरेका छन् । यसमा उनले नेपालको विकास समावेशी र समन्यायिक हुन नसकेको विश्लेषणात्मक चर्चा गरेका छन् । पञ्चायतले अघि सारेको विकासको नाराप्रति उनको तीव्र असहमति छ । जुन, त्यतिधेरै अस्वाभाविक देखिँदैन ।

पुस्तकभित्र अर्को एउटा लेख छ- नेपाली मिडिया एक सामयिक दृष्टि शीर्षकमा । पहिल्यै कुनै जर्नलमा छापिएको यस लेखमा लेखकले आफ्नो चरम नकारात्मकता मिडियामाथि पनि पोखेका छन् ।

तर, आफैं पत्रकारसमेत रहेका लेखक नेपाली मिडियाबारे कति पछौटे मानसिकता राख्दाहरेछन् भन्ने उनले पुस्तकका चर्चा गरेको प्रशंगले स्पष्ट पाछ । जहाँ उनले यस्तो लेखेका छन्ः

‘ठूला मिडिया भनेको कान्तिपुर, अन्नपूर्णपोष्ट, नागरिक, नेपाल, हिमाल, एनटिभी, एभिन्युज मुख्य भाष्य निर्माता हुन् । अनलाइन लगायतका मिडियाले यिनैलाई आधार मानेर आफ्ना सामाग्री उत्पादन र वितरण गर्ने हुनाले तिनीहरुले ठूला मिडियाकै हातमुखको भूमिका निर्वाह गरेका छन् ।’

माङ्गेनाका लेखकले गरेको यो तर्क एकाध वर्ष पहिलेसम्म सत्य हुन सक्ला, तर अहिले नेपालको मिडियामा लिडिङ भूमिकामा अनलाइनहरु छन् । बरु उनले ठूला भनेका मिडियाहरुले अनलाइनका सामाग्रीहरु सार्ने र पछ्याउने काम गरिरहेका छन् ।

तर, लेखक अहिलेको परिवर्तित सन्दर्भलाई देख्दैनन् । किनभने, उनको दिमाग नै वर्तमानमा हैन, विगतका परिघटनाहरुमै गोलचक्कर लगाइरहेको पुस्तकका प्रत्येक उद्धरणहरु पठ्दा बुझ्न सकिन्छ ।

उदाहरणका लागि गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियानप्रति  उनी प्रश्न गर्छन्- बुद्ध नेपालमा जन्मिएका थिए भन्ने कुरासँग हाम्रो यत्रो अपहत्ते किन ?’

तर, उनीमाथि पनि त यस्तै प्रश्न उठ्छः गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्दा टाउको दुखाइ किन ?

पुस्तकमा लेखकले प्रश्न गरेका छन् – नेपालको स्वाभिमान कहाँ छ ? यथार्थमा कि मिथकमा ? अरबको गर्मीमा ज्यान गुमाएको नेपाली श्रमिकमा कि बलभद्र अमरसिंहमा ?…कहाँ स्वाभिमानका कथा कहाँ जीवनका कठोर व्यथा ।

उनी फेरि पनि सुन्दर शान्त र विशाल नेपाल भन्ने देवकोटाको अभिव्यक्तिको आलोचनामा गर्न पुग्छन् । ‘के नेपाल ठूलो छ ?’ यो प्रश्नमा उनलाई नेपाल ठूलो, सुन्दर र शान्त भनेको पटक्कै मन पर्दैन ।

रोचक त के छ भने स्वाभिमान मिथकमा हैन, यथार्थमा खोज्नुपर्छ, बुद्धको जन्ममा हैन, अरबको मरुभूमिमा पसीना बगाइरहेको नेपालीमा खोज्नुपर्छ भन्ने उनै लेखक आफ्नो सिंगै किताबभरि अरबको गर्मीमा काम गर्ने युवकका बारेमा लेख्दैनन्, बरु नेपाल देशको नाम, नेपाली जाति, नेपाली भाषा, गौतम बुद्ध, पृथ्वीनारायण बलभद्र, अमरसिंह थापा, महेन्द्र, देवकोटा, भानुभक्त आदिको निन्दा र भत्सर्ना गरेर बस्छन् । इतिहासको छारो कोट्याएर बस्छन् ।

‘ग्रे जोन’ कुन हो ?

लेखकले ‘नेपाली वौद्धिकता एक ऐतिहासिक चर्चा’ शीर्षकमा लामो लेख लेखेका छन् र भनेका छन्- ‘वौद्धिक व्यक्ति एक कितावी विद्वानमात्रै होइन, एक अभियन्ता पनि हो ।’ उनी अझै अगाडि बढेर लेख्छन्- वौद्धिक ‘ग्रे जोन’ मा उभिनु जरुरी छ ।

तर, माङगेना गर्नुपर्छ भन्दै फेदाङ्वाको भूमिकामा प्रस्तुत हुन खोजेका लेखक आफैंचाहिँ कुनै पनि ‘ग्रे जोन’ मा उभिएका छैनन् ।

के अहिलेको संविधान समावेशी छैन ? के यो संविधानमा दलित एवं अन्य उत्पीडित जातिले समानुपातिक समावेशी अधिकार पाएका छैनन् ? अहिलेको स्थानीय तहमा दलितहरुको अनुहार देखिएको छैन ? अल्पसंख्यकहरुको अनुहार देखिएको छैन ? अहिले मधेसमा भइरहेको उत्सव के हो ?

पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा नेपालमा दुई अति छन्ः एउटा अति हो कमल थापा र ज्ञानेन्द्रले हेर्ने नजर, र अर्को अति हो सिके राउत, गोरेबहादुर खपाङ्गीहरुको अतिवादी नजर । पुस्तक पढ्दा युग पाठक सिके राउतको नजिक देखिन्छन्, उनी ग्रे जोनको बुद्धिजीवी बन्न सकेका छैनन् । उनले सन्तुलित एवं वैज्ञानिक दृष्टिकोण बनाउन सकेको देखिँदैन ।

हाम्रो देशमा यस्ता बुद्धिजीवीहरु छन्, जो कि यो किनारामा उभिन्छन्, कि अर्को किनारामा । कसैलाई महेन्द्रमाथि गाली नगरी भातै पच्दैन, कसैलाई महेन्द्रको भक्तिगाथा नगाएसम्म निद्रा लाग्दैन । तर, नेपालको राजनीतिमा महेन्द्रको योगदानको वस्तुसम्मत विश्लेषण गर्न कोही पनि तयार हुँदैन । र, यही रोग पाठकमा पनि देखिन्छ ।

पूर्वसोभियत संघमा लेनिनले टाल्सटायलाई कसरी हेर्ने भनेर तीनपटक लेख लेखेका थिए । सार्वभौम नेपालको निर्माणमा शाह बंशले खेलेको सकारात्मक योगदानका विषयमा तत्कालीस्न नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनको दस्तावेजमा द्वन्द्वात्मक विश्लेषण पढ्न पाइन्छ ।
पृथ्वीनारायण शाहको योगदानलाई कसरी हेर्ने भन्नेबारेमा दिल्लीमा रहेका लेखक लक्ष्मण पन्तको पुस्तक आउन लागेको छ । प्रतिक्षा गरौं शायद पन्तले नै युग पाठकलाई ऐतिहासिक भौतिकवादका आधारमा चित्तबुझ्दो जवाफ दिनेछन् ।

माङ्गेनामा अर्को अचम्म के छ भने पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, महेन्द्र, केपी ओली र प्रचण्डसम्मलाई निरपेक्षरुपमा सत्तोसराप गरिसकेपछि लेखक एक ठाउँमा आफैंलाई गिज्याउने गरी यस्तो लेख्न पुग्छन्- ‘नेताहरुलाई निरपेक्ष सराप गरेर बुद्धिविलास गर्ने विचित्रको रोग छ हाम्रा बुद्धिजीवीहरुमा !’

पाठकले पुस्तकमा चर्चा गरेजति सबै पात्र र मिथकहरु नेपाल र नेपालीका लागि हानीकारक नै छन् त ? के उनीहरुलाई तत्कालीन समयको सीमाका आधारमा विश्लेषण गर्न आवश्यक छैन ? यसबारे आफूलाई प्रचण्डभन्दा बढ्ता मार्क्सवादी ठान्ने लेखकले द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादी दृष्टिकोण बनाउन सकेको देखिँदैन । बरु उनी केन्द्र भागलाई भन्दा पृष्ठ भागलाई समाउने फुकियामावादमा फस्न पुगेका छन् नेपालको इतिहासको विश्लेषणका सन्दर्भमा ।

पाश्चात्य उत्तरआधुनिकतावादी अंग्रेजी साहित्यको ह्वास्सै गन्ध आउने गरी लेखकले गर्वका साथ भनेका छन्- ‘मेरो नारा छ- सीमान्तमा उभिएर सोचौं, सीमान्तको दर्शनले मात्र नेपालको माङ्गेना गर्न सक्छ । स्ट्यान्ड एट द मार्जिन अर्थात सीमान्त जनताको खुट्टामा उभिऔं ।’

नेपालको सामन्तवाद (राजतन्त्र) प्रगतिशील नभएको पाठकको तर्क छ, जुन तर्कलाई सिद्ध गर्न उनले मार्क्सवादको गलत व्याख्या गर्ने प्रयास गरेका छन् । सामन्तवादलाई प्रगतिशील नदेख्ने तर्क समाजशास्त्रीय दृष्टिकोणले समेत हास्यास्पद छ । अझ हिमालयको फेदमा सानो र स्वतन्त्र नेपालको निर्माणमा नेपालका राजा महाराजाहरुले पुर्‍याएको योगदान (नियत र प्रक्रिया जे भए पनि) कुनै पनि समाजशास्त्रको विद्यार्थीले नजरअञ्दाज गर्नै मिल्दैन ।

लेखक पाठकले नेपालका कम्युनिष्टलाई पनि महेन्द्र राजाजस्तै नजरले हेरेका छन् । ‘नेपाली राष्ट्रवाद प्वाँख कि पखेटा ?’ शीर्षकमा पाठकले भनेका छन्- ‘प्रचण्ड हुन् वा ओली, नेपालका कम्युनिष्टहरुको राष्ट्रवादमा राजतन्त्रको योगदान छ ।’

उनी अगाडि लेख्छन्- ‘मार्क्सको विश्लेषणमा सामन्ती व्यवस्था पनि आफ्नो समयमा प्रगतिशील हुन्छ, किनभने त्यसले आफूलाई निषेध गर्ने पुँजी जन्माउँछ । तर, नेपालको राजतन्त्र र त्यसले हुर्काएको सामन्तीतन्त्र त युरोपियन पुँजीवादले उत्पादन गरेको वैभव खपत गर्ने उपभोक्ता मात्र भयो । यसले जनताको व्यापक शोषण गरेर पुँजी निर्माण हुन दिएन र आफैंले पनि पुँजी निर्माण गरेन । त्यही राजतन्त्रले बनाएको राष्ट्रवादको भाष्यमा नेपालका कम्युनिष्टहरु फँसिरहेका छन् ।’

प्रचण्डले माधव घिमिरेको गीतको उद्धरण प्रयोग गर्नु अपराधजस्तै भएको जिकिर गर्दै पाठकले भनेका छन्- ‘ओली वा प्रचण्ड दुबैले मौका हेरेर बेलाबेला माधव घिमिरेका राष्ट्रवादी गीत सम्झिने संयोग त्यसै पर्दैन । महेन्द्रले उडाउन् वा प्रचण्ड वा ओलीले, जे उडाइएको छ, त्यो राष्टवादको प्वाँख हो ।’

हिमालयको फेदमा, नेपाल र नेपालीले गर्व गर्न लायक हुने गरी बनेको यो सुन्दर देशलाई धज्जी उडाइसकेपछि युग पाठकले आफ्नो पुस्तकको भूमिकामा लेखेका छन्- ‘के विभिन्न उत्पीडित, सीमान्तीकृत समुदाय, नेपाली समाज र राज्यको माङ्गेना पूरा भयो ? भएको छैन । यो माङ्गेना त्यतिबेला मात्रै पूरा हुन्छ, जब राज्यको ऐनामा सबैको अनुहार झल्किन्छ ।’

लेखक अगाडि भन्छन्- ‘शक्ति राष्ट्रहरुको नवउपनिवेशजस्तो भएर रहेको नेपालको राज्य व्यवस्था र अर्थतन्त्रको माङ्गेना त्यतिबेला हुन्छ, जब आम उत्पीडित, सीमान्त समुदाय, मजदुर र किसानको खुट्टामा टेकेर यो राज्य उभिन्छ ।

पाठकको भनाइमा नेपालको राज्यसत्ताले अधिकांश जनताको शीर झुकाएको छ । आन्तरिक उपनिवेशको चक्रब्युहले उपेक्षित, सीमान्तीकृत समुदायको शीर झुकायो । दलित र नारीको शीर झुकायो । किशान र मजदुरको शीर झुकायो ।….. इतिहासको यही धारले अधिकांश जनताको शीर झुकायो ।

के संविधानले माङ्गेना गरेन ?

युग पाठकको किताब नेपालमा संविधान आइसकेपछि छापिएको हो । तर, ऐतिहासिक संविधान संविधानसभाले बनाएको संविधानबारे थाहै नपाएजसरी उनी यस्तो देख्छन्- ‘के विभिन्न उत्पीडित, सीमान्तीकृत समुदाय, नेपाली समाज र राज्यको माङ्गेना पूरा भयो ? भएको छैन । यो माङ्गेना त्यतिबेला मात्रै पूरा हुन्छ, जब राज्यको ऐनामा सबैको अनुहार झल्किन्छ ।’

तर, प्रश्न उठ्छ- के अहिलेको संविधान समावेशी छैन ? के यो संविधानमा दलित एवं अन्य उत्पीडित जातिले समानुपातिक समावेशी अधिकार पाएका छैनन् ? अहिलेको स्थानीय तहमा दलितहरुको अनुहार देखिएको छैन ? अल्पसंख्यकहरुको अनुहार देखिएको छैन ? अहिले मधेसमा भइरहेको उत्सव के हो ?

पाठककै तर्कलाई मानेर त्यस्तो भएको छैन भन्ने हो भने कसरी गर्न सकिन्छ माङ्गेना ? यसबारेमा लेखकले कुनै अग्रगामी प्रस्तावअघि सारेका छैनन् । हिजोको सामन्ती सत्ताले गरेको विभेदको छारो कोट्याएर ‘माङ्गेना’ ‘माङ्गेना’ भन्नुबाहेक लेखकले कुनै अग्रगामी लाइन प्रस्ताव गर्न सकेका छैनन्, जसमा नेपालको सही चित्र र अनुहार देख्न सकियोस् ।

हो, लेखकले भनेजस्तै विगतको सामन्तवादी एकात्मक राज्य व्यवस्थाले नेपालमा वर्गीय, जातीय, लैङ्गकि एवं भाषिक, धार्मिक लगायतका शोषणहरु गरेकै हो । तर, अब पुरानो कुरातिर फर्कने कि लेखकले भनेजस्तै अरबको गर्मीमा काम गरिरहेका युवाको स्वाभिमानका विषयमा बहस गर्ने ? पश्चिगामी हुने कि अग्रगामी ? यो प्रश्न मुख्य हो ।
हाम्रो अघिल्लो पुस्ता ब्रह्मा ठूलो कि विष्णु ? भन्ने अव्यवहारिक मुद्दामा अल्मलियो । अब हामी पनि पृथ्वीनारायण शाह ठीक कि बेठीक भनेर कतिञ्जेल बस्ने ? अनि यस्तो पुरातात्विक बहसमा अल्झिनेहरुलाई कहिलेसम्म हामीले ‘प्रगतिशील लेखक’ मान्ने ? यो प्रश्न निकै महत्वपूर्ण छ ।

तेह्रथुमको लाली गुराँस नगरपाकिलाका मेयर एवं लिम्बूभाषाविद अर्जुन माबुहाङको विचारमा नयाँ संविधानले उत्पीडित जाति एवं समुदायले मागेको बन्दा बढ्ता पहिचान दिइसकेको छ । उनको विचारमा लिम्बुहरुले पहिचान पाएका छन् ।

तुम्याङ हुने कि फेदाङ्वा ?

माङ्गेनाका लेखक पाठकले देशमा माङ्गेना गर्न बाँकी नै रहेको बताएका छन् । र, यसलाई उनले समस्या समाधानको दर्शन भनेका छन् ।
तर, लिम्बु संस्कृतिमा माङ्गेना भनेको केटाकेटीका लागि गरिने कर्ममात्रै हो । घरमूलीको शीर उठाउने अनि तरुनी तन्नेरीहरुको शीर उठाउने कर्मलाई ‘माङ्गेना’ले सम्बोधन गर्दैन ।

एउटा वौद्धिक लेखकले फेदाङ्वा र साम्बाले जसरी समाजमा सामान्य झारफूक गर्ने र गाली सरापमात्रै बगाउने कि तुम्याङले जसरी सबैलाई मिलाउने भूमिका खेल्ने ? लेखकको भूमिका कस्तो हुनुपर्छ ? युग पाठकको पुस्तकले यस्तो प्रश्न उठाएको छ

माङ्गेना फेदाङवाले गराउँछ । तर, लिम्बु समुदायको न्यायाशास्त्रमा अर्को एउटा मिथकजन्य पात्र पनि छ, जसको नाम हो – तुम्याङ । फेदाङवाको काम झारफुक वा जजमानी गर्ने हो भने तुम्याङको काम चुम्लुङमा उपस्थित भएर न्याय निसाफ गर्ने हो ।

एउटा वौद्धिक लेखकले फेदाङ्वा र साम्बाले जसरी समाजमा सामान्य झारफूक गर्ने र गाली सरापमात्रै बगाउने कि तुम्याङले जसरी सबैलाई मिलाउने भूमिका खेल्ने ? लेखकको भूमिका कस्तो हुनुपर्छ ? युग पाठकको पुस्तकले यस्तो प्रश्न उठाएको छ ।

इतिहासको वकालत गर्ने तुम्याङले इतिहासमाथि न्याय गर्न सक्नुपर्छ । समाजमा मजाक गर्ने छुट तुम्याङलाई हुँदैन । तुम्याङको नजर समन्यायिक हुनुपर्छ ।
युग पाठकले आफ्नै पुस्तकमा भनेकै छन्- ‘नेताहरुलाई निरपेक्ष सराप गरेर बुद्धिविलास गर्ने विचित्रको रोग छ हाम्रा बुद्धिजीवीहरुमा Û’

के यो भनाइ पृथ्वीनारायण र भानुभक्त आचार्यका बारेमा पनि लागू हुँदैन र ?

अन्त्यमा,

लेखक विद्वान छन् । धेरै पढेका पनि छन् । तर, पाश्चात्य अंग्रेजी साहित्य र मार्क्सवाद घोलिएर बनेको उनको विचार रंगहीन बनेको छ । गन्तव्यहीन कुहिरोको कागजस्तै बन्न पुगेको स्पष्ट बुझ्न सकिन्छ ।

समाजका मूल्य मान्यताहरु शून्यबाट आउँदैनन् । भारत बेलायतबाट स्वतन्त्र भयो, तर त्यहाँको रेल अंग्रेजका पालामा बनेकै लिकमा चलिरहेका छन्, लिक बाहिरबाट होइन । अब हाम्रो देशको गणतन्त्र पनि शाह बंशका पालामा रक्तपातपूर्ण ढंगबाट बनाइएको चौहद्दीभित्रै चल्ने हो, बाइसे चौबीसे राज्यमा होइन ।

र, संसारमा कुनै त्यस्तो देश छैन, जुन रक्तपातपूर्ण हिंसाको साटो कविता लेखेजसरी बगैंचामा बसेर बनाइएको होस् ।
तर, मुख्य प्रश्न यो हो कि राज्यलाई अब कस्तो बनाउने ? प्रगतिवादी बुद्धीजीवीले त यो लेखिदिनुपर्छ कि अब यसरी यसरी यसरी  बनाउनुपर्छ ।

संविधान बनिसकेपछि पनि माङ्गेना नै गर्नुपर्ने भए यहाँ यहाँ यसरी गरौं भन्न सक्नुपर्छ तुम्याङले । अन्यथा फेदाङ्वा र साम्बाले जसरी फलाकेर मात्रै समाज अघि बढ्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment