Comments Add Comment

सोमबारदेखि पोखरामा फूड फेष्टिवल

३१ भदौ, काठमाडौं । पोखराको नयाँबजारमा असोज २ गतेदेखि आयोजना हुने ‘छैटौं सिटी रेबान महोत्सव तथा फूड फेष्टिवल-२०७४’ को तयारी पूरा भएको छ ।

पोखरा लेखनाथ नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेबान)को आयोजनामा आगामी असोज ११ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने महोत्सवको तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

महोत्सवको असोज २ गते सोमबार दिउँसो १२ः३० बजे कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको सिटी रेबान पोखराका कार्यवाहक अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवमा ९५ वटा ब्यबसायीक स्टल, १० वटा रेष्टुरेण्ट र २० वटा विभिन्न सामाजिक संघसंस्था, सुरक्षा तथा स्वास्थ्य सम्बन्धीसहित कुल १२५ स्टल रहने आयोजक पोखरा सिटी रेबानका महासचिव जीवन दहालले जानकारी दिए ।

दशैंको मुखैमा महोत्सव हुने भएकाले यस वर्ष सस्तो बजार पनि राखिने आयोजकले जनाएको छ । जहाँ दैनिक उपभोग्य बस्तु राखिने बताइएको छ ।

महोत्सवमा असोज ६ गतेदेखी खसी, बोका तथा च्याङ्ग्रा पनि विक्रीका लागि राखिने सिटी रेबानका निवर्तमान अध्यक्ष तथा सल्लाहकार केपी पाठकले जानकारी दिए । दशैंको मुखैमा महोत्सव आयोजना गरिएकाले दर्शकको आवश्यक्ता र चाहना अनुसार खसी, बोका तथा च्याङ्ग्रा विक्रीका लागि राखिन लागेको उनले बताए ।

एउटा खोरमा ६ गतेदेखि दैनिक खसी, बोका तथा च्याङ्ग्रा विक्रीका लागि राखिने उनको भनाई छ ।

महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानिय लोकदोहोरी कलाकारहरुको दैनिक प्रस्तुती, हास्यव्यंग्य प्रस्तुती लगायतका सांस्कृतिक कार्यक्रम रहने सांस्कृतिक संयोजक तथा पोखरा सिटी रेबानका महासचिव जीवन दहालले बताए ।

उनका अनुसार यस वर्ष प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, कोमल ओली, बद्री पंगेनी, पशुपति शर्मा, रामजी खाँड, राजु गुरुङ, शर्मिला गुरुङ, देवी घर्तीमगर, ज्योति मगरलगायतका चर्चित कलाकारहरुको प्रस्तुती रहने उनले जानकारी दिए ।

सुगम संगीततर्फ हेमन्त शर्मालगायतका कलाकारहरु तथा पोखराका चर्चित व्याण्डहरुको पनि प्रस्तुती रहने जनाइएको छ ।

त्यस्तै, हास्य कलाकारतर्फ जिरे खुर्सानी युनिटका शिवहरी बैरागी -सभासद), देवीराम पराजुली -भोकलाग्यो), मेरीबास्सै युनिटका मरिचमान श्रेष्ठ -बल्छी धुर्बे), राजु पौडेल -राजु मास्टर), राजा राजेन्द्र तथा पोखरेली माग्ने बुढा र धुर्मुसलगायतको प्रस्तुती रहने दहालले बताए ।

महोत्सवको अवसरमा दैनिक रुपमा छुट्टाछुट्टै गरेर कौह्रा नृत्य, छ्याडु नृत्य, थारु नृत्य, दुर्गा भजन कृतन, नेवारी कुमारी नृत्यलगायतको प्रस्तुती पनि राखिने आयोजकले जनाएको छ ।

महोत्सवको अवसरमा गृहिणी एकल नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, भाले छोप्ने -समात्ने) प्रतियोगिता आयोजना हुने दहालले बताए । त्यस्तै, बालबालिकाका लागि बाल उद्यान पनि राखिने भएको छ ।

महोत्सव प्रवेशका लागि ७० रुपैयाँ टिकटदर राखिने र विद्यार्थी, बृद्धबृद्धाका लागि विशेष छुटसहित ४५ रुपैयाँ कायम गरिने आयोजकले जनाएको छ ।

करीब १० करोड कारोबार गर्ने लक्ष्यसहित हुने महोत्सव आयोजना गर्न ४१ लाख ९५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवबाट ४८ लाख ४० हजार आम्दानी गरेर ६ लाख ४५ हजार बचत गर्ने लक्ष्य राखिएको महासचिव जीवन दहालले बताए ।

महोत्सवबाट बचत भएको रकम मध्ये पर्यटन प्रवर्द्धन, दैवी प्रकोप र असहायःवालवालिकाका लागि ५/५ प्रतिशत खर्च गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment