Comments Add Comment

तरलता अधिक भएपछि मुद्दति निक्षेपको व्याजदर घटाउँदै बैंकहरु

१ असोज, काठमाडौं । तरलता अधिक भएपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् ।

१ असोजदेखि लागू हुनेगरी आठ वटा वाणिज्य बैंकले व्याजदरमा कमि ल्याएका हुन् ।

अहिले बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँभन्दा बढी पूँजी जम्मा भएको छ, जुन अधिक तरलता हो । यसैका कारण व्याजदर घटाउने दबाबमा परेका हुन्, वाणिज्य बैंकहरु ।

सरकारले विकास निर्माणका लागि आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ७० अर्ब रुपैयाँ निकासा गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु कार्यभार सम्हाल्ने क्रममै रहेको र विकासे आयोजनाहरुमा खर्च हुन नथालिसकेकाले उक्त रकम बैंकिङ प्रणालीबाट बाहिरिएको छैन ।

यस्तै, यसअघि सुस्ताएको विप्रेषण आप्रवाह साउनमा ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । असार मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी -एफडीआई) पनि १३ अर्ब रुपैयाँभन्दा बढी भित्रिएको छ । उक्त पूँजी पनि खर्च हुन नथालेका कारण बैंकिङ प्रणालीमै अल्झेको छ ।

मुलुकका ६ वटा प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ । चुनावका बेलामा बजारमा गएको रकम पनि बैंकिङ प्रणालीमा आएको छ ।

बजारमा तरलता अभाव देखिँदा असोज ०७३ देखि बैंकहरुले मुद्दति निक्षेपको व्याजदर बढाउँदै लगेका थिए । उक्त दर १२ प्रतिशतसम्म पुगेको थियो ।

कस-कसले घटाए ?

बैंकिङ प्रणालीमा रकम थुपि्रन थालेपछि व्याजदर घटाउनुको विकल्प वाणिज्य बैंकहरुले नपाएका हुन् ।

व्याजदर घटाउने वित्तिय संस्थाहरुमा ग्लोबल आईएमई बैंक अगाडि देखिएको छ, जसले दुई वर्षमाथिको निक्षेपका लागि ६ दशमलव ५० र एक वर्षमाथिका लागि सात दशमलव ५० प्रतिशत तोकेको छ । अहिले मुद्दति निक्षेपमा यो नै उच्च व्याजदर हो ।

यस्तै, नबिल बैंकले अधिकतम आठ प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ । उक्त बैंकले पाँच वर्षमाथिको निक्षेप वा अक्षय कोषको रकम खातामा जम्मा गर्दा समझदारीमा व्याजदर तय गर्ने बताएको छ ।

नेपाल बंगलादेश बैंकले पनि व्यक्तिगत निक्षेपकर्ताका लागि अधिकतम आठ दशमलव ५० प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ । उक्त दर दुई वर्षभन्दा बढीको निक्षेपमा लागू हुनेछ ।

उक्त बैंकले एनबी मुद्दती योजनामा दिइआएको नौ प्रतिशतको व्याजदर भने चलाएको छैन ।

नेपाल इन्भेस्टमेन्ट बैंकले पनि शर्त लागू हुने ‘स्पेसल ब्लक’ निक्षेप खातामा व्यक्तिगत निक्षेपकर्ताका लागि नौ प्रतिशत व्याज तोकेको छ । अन्य निक्षपकर्ताको हकमा अधिकतम आठ प्रतिशतमा सीमित बनाएको छ ।

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले पनि अधिकतम आठ प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ ।

सनराइज बैंकले अधिकतम आठ दशमलव ५० प्रतिशत व्याजदर प्रस्ताव गरेको छ । एभरेस्ट बैंकले अधिकतम व्याजदर सात प्रतिशतमा सीमित बनाएको छ । उक्त बैंकले ३० भदौदेखि लागू हुनेगरी व्याजदर परिवर्तन गरेको हो ।

सबैभन्दा बढी व्याज प्रभु बैंकले दिने भएको छ, जसले नौ महिनादेखि दुई वर्षसम्मको निक्षेपमा नौ दशमलव ५० प्रतिशतसम्म व्याज दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment