Comments Add Comment

प्रदेश २ मा मतदान भोलि, जनप्रतिनिधि चुन्ने पर्व बनाउन अायोगको अपील

प्रदेश २ मा ३७ हजार २३६ उम्मेदवार चुनावी मैदानमा

१ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको छ । प्रदेश २ का ८ जिल्लामा भोलि सोमबार तेस्रो चरणमा स्थानीय तह चुनाव हुँदैछ ।

चुनावको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनलाई पर्वको रुपमा मनाउन अनुरोध गरे ।

‘पाँच वर्षसम्म नेतृत्व गर्ने जनप्रतिनिधिको निर्वाचन गराउन हाम्रा कर्मचारीहरु तपाईहरुको घर टोलमा आइसक्नु भएको छ । बाढी, डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका लागि दिनुहोस्,’ प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलनमा भने । ‘यो असोज २ गते जनप्रतिनिधि छनोट गर्ने पर्वका रुपमा मनाउन आयोग समस्त मतदाता आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

६६ हजार सुरक्षाकर्मी खटाइयो

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले मतदान गर्न आयोगले सबै मतदातालाई आह्वान गरेको छ । मतदान गर्न मतदाता परिचयपत्र, नागरिकता वा आफ्नो परिचय खुल्ने परिचयपत्र आफूसँगै लग्नुपर्दछ ।

सुरक्षाको पनि भरपर्दो प्रवन्ध मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि ६६ हजार सुरक्षाकर्मी खटाइएको गृहमन्त्रालय स्रोतले बतायो । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुसपैठलाई रोक्न नेपाल-भारत सीमानाका पनि बन्द गरिएको छ ।

कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने आयोगको विश्वास छ ।

निर्वाचन सुरक्षाकै लागि पूर्वक्षेत्रमा नेपाली सेनाका दुईवटा हेलिकोप्टर पनि स्ट्याण्डबाई राखिएको छ ।

६ हजार ६२७ पदमा ३७ हजार २३६ उम्मेदवार

प्रदेश २ को निर्वाचनमा ८ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश २ का आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ६ हजार ६२७ पदका लागि ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ । तीमध्ये महिला उम्मेदवारको संख्या १४ हजार ३३७ र पुरुष उम्मेदवारको संख्या २२ हजार ८६१ छ ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवार रहेको प्रमुख आयुक्त यादवले बताए ।

नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । यस्तै वडाध्यक्षमा ८ हजार ५२ जना पुरुष र २२३ जना महिला उम्मेदवारहरू छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।

मतदानको समयमा अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्न सक्नेछन् । यसरी मत संकेत गर्दा मतदाताको इच्छाविपरीत नहुने आयोगको विश्वास छ ।

२ हजार बढी पर्यवेक्षक

आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन पर्यवेक्षण भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख आयुक्त यादवले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग पाउने अपेक्षा आयोगले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment