Comments Add Comment

माथिल्लो तामाकोशीको सुरुङ मंसिरमा ‘ब्रेक थ्रू’

रोल्वालिङको अनुमति पनि तामाकोशीलाई नै


२ असोज, काठमाडौं । दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । मंसिरमा ‘ब्रेक थ्रु’ गर्ने आयोजनाको तयारी छ ।

कुल आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङमध्ये दुई सय ९० मिटर मात्र खन्न बाँकी रहेको आायोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

भर्टिकल सिफ्टको सुरुङ शनिबार ब्रेक थ्रु भएको छ । सबैभन्दा जोखिमयुक्त मानिएको उक्त सुरुङ ब्रेक थ्रु भएसँगै महत्वपूर्ण उपलब्धी हासिल भएको न्यौपानेले बताए ।

आगामी असार मसान्तसम्ममा सिभिलतर्फको काम सकेर विद्युत उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ । थप निर्माण सकिन करिब ६ महिना लाग्ने न्यौपानेले बताए ।

माथिल्लो तामाकोशी स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो । यसको लागत ३५ अर्ब ३० करोड रुपैयाँ अनुमानित छ ।

आयोजना र विद्युत प्राधीकरणबीच भएको सम्झौताअनुसार सब–स्टेसन निर्माणस्थलमा जग्गा अधिग्रहण अगाडि बढेको छ । तर, निर्माणस्थलका जग्गाधनीले मुआब्जा रकम बुझ्न मानेका छैनन् ।

कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब र सरकारले ११ अर्ब आठ करोड रुपैयाँ लगानी गर्दैछन् ।

भूकम्प र नाकाबन्दीका कारण उक्त आयोजनाको निर्माण दुई वर्ष पछाडि धकेलिएको थियो । विद्युत गृह सञ्चालनमा आउँदा नेपाल बिजुलीमा आत्मनिर्भर भइसक्ने विज्ञहरुको आकलन छ ।

रोल्वालिङ निर्माणको अनुमति

२२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने अनुमति पनि तामाकोशीले नै पाएको छ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठ गत २५ भदौमा रोल्वालिङको पानी तामाकोशीको रिजर्भवायरमा खसाल्ने अनुमति प्राप्त भएको छ । त्यसो गर्दा तामाकोशीबाट हिउँदमा पनि उत्पादन बढाउन सकिने आयोजनाको भनाइ छ ।

तामाकोशीको जलाशयभन्दा करिब दुई सय मिटरमाथिबाट रोल्वालिङ डाइभर्सनको सुरुङ आउँछ । उक्त ‘वाटर हेड’ प्रयोग गरी २२ मेगावाटको अलग्गै आयोजना निर्माण गर्न लागिएको हो । ‘यसबाट हिउँदमा १६ करोड ९० लाख युनिट बिजुली थपिने छ,’ श्रेष्ठले भने ।

खोला डाइभर्सन गर्दा नै बाँध, सुरुङलगायत संरचना निर्माण भइसक्ने छन् । त्यसमा बालुवा थेग्रिने बेसिन र विद्युत गृह मात्र थप्नु पर्छ । सोही कारण आयोजनाको लागत सस्तो पर्न जानेछ ।

करिब ८० मेगावाटका आयोजनाबाट उत्पादन हुने बराबरको विद्युत रोल्वालिङ डाइभर्सनबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसका लागि करिब सात किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । त्यसका लागि विस्तृत इन्जिनियरिङ डिजाइन भइरहेको छ ।

लागत तय भएपछि माथिल्लो तामाकोशीमा ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकायलाई रोल्वालिङका लागि पनि आग्रह गरिने आयोजनाले जनाएको छ । तीमध्ये अधिकांशले अनौपचारिक सहमति दिइसकेका छन् ।

रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न दोलखाको छेतछेतदेखि रिखुगाउँसम्म करिब दुई किलोमिटर रोपवे निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । सोही रोपवेबाट निर्माण सामग्री ढुवानी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment