Comments Add Comment

विमल घर्ती मगरः जे आउँछ, मजाले पचाउँछ !

छिपछिप रस हालेको सुँगुरको मासु । त्यसमा लोकल रायोको साग । डल्ले खुसार्नी । अनि तात्तातो भात ! घरमा छोरो आउने भएपछि आमाले पकाइदिने विशेष खान्की यही हो बिमल घर्ती मगरका लागि ।

रायोको साग हालेर पकाइएको सुँगुरको मासुको स्वादलाई डल्ले खुसार्नीले तिख्खर बनाउने नै भयो, आमाले पस्किएको यस्तो खाना खाँदा पेट भरिए पनि उनको मन अघाउँदैन । उनी थपीथपी खान्छन् ।

‘आमाले पकाएको खाना मिस गरिरहेको छु’ चर्चित फुटबल खेलाडी बिमल घर्ती मगरले भने, ‘धेरै समय भएछ, आमाको हातले पकाएको खाना नखाएको ।’

खेलको सिलसिलामा दगुरा-दगुर गर्दागर्दै उनलाई घर पुग्ने फुर्सद भएन । आमाले पस्किएको भात थपीथपी खान नपाएकै धेरै समय भएछ ।

अद्भूत पाचन शक्ति

एकपटक बिमल कालो बंगुरका लागि प्रख्यात धरान पुगेका थिए । बिमलको मुख नरसाउने कुरै भएन । धित मर्नेगरी खाए, सुँगुरको सुकुटी ।

बिमलको जिब्रो थकाली खानाले पनि लोभिएको छ । गुन्द्रुकको अचार, साग, ग्रेभी मासु, अचार, तरकारी, जिम्बुमा झानेको दाल स्वादिलो लाग्छ । कहिले कहीँ थकाली खाना खान्छन्, घरको खानाको तलतल मेट्न । थपीथपी खान्छन्, भरपेट ।

बिमलको मेनुमा बिफ ममदेखि थाई फुड्ससम्म छ । उनलाई बिफ असाध्यै मनपर्छ, खासगरी मम । बिदेशी परिकारमा चाँहि थाई फुड्सले उनको जिब्रो रसाउँछ, जो निकै स्पाइसी पनि हुन्छ । उनले कन्टिनेन्टल, चाइनिज, जापानिज, इन्डियन सबै परिकार चाखेका छन् ।

‘रेष्टुरेन्टको मम, चाउमिन होस् वा फुटपाथको चटपटे, पानीपुरी नै किन नहोस्, जे भेट्यो बजाइहाल्छु’, विमल भन्छन्, ‘मुख बार्ने चलन छैन ।’
हुन उनले थरीथरीका परिकार पचाएका छन् । यस्ता खान्की पचाउन उनलाई ‘हजमोला’को मद्दत लिइरहनु पनि पर्दैन । फूटबलर भइसकेपछि जे पनि पचाउन सक्नुपर्छ भन्ने उनको मान्यता छ ।

फेसनवल हैन, स्वीटेवल

विमल झट्ट हेर्दा स्टाइलिस पनि देखिन्छन् । फेसन कन्सस पनि देखिन्छन् । तर, अनुमान गरेभन्दा फरक रहेछ उनको प्रवृत्ति । सकेसम्म आफूलाई सुहाउँदो लुगा खोज्छन्, तर फेसनेवल भन्दै अरुको कपी गर्दैनन् ।

‘म फेसनेवल होइन र त्यति स्टाइलिस पनि होइन’, उनी भन्छन्, ‘मैले कसैको फेसनलाई पच्छ्याएका पनि छैनन्, तर, कस्तो पहिरन आफूलाई सुहाउँछ भन्ने हेक्का चाहिँ छ ।’

फुटबलरहरुको फेसनलाई विश्वले पारख गर्छ । बिमल आफै फुटबलर । विश्व चर्चित फुटबलरको फेसनले उनलाई कति प्रभाव पारेको छ त ?

‘खास त्यस्तो छैन, डेभिड बेकह्याम चाहिँ स्टाइलिस छन् । तर, उनको जस्तो लगाउनुपर्छ भन्ने छैन’ उनी भन्छन्, ‘आफूलाई कस्तो सुहाउँछ, त्यही खोज्ने हो ।’

उनी लियोनल मेसीका फ्यान पनि हुन् । मेसी आफैंमा फेसनेवल भने होइनन् ।

कालो जिन्स, हरियो टिसर्ट

बिमल न ब्रान्डको पछि लाग्छन्, न फेसनको । आफूले लगाएपछि चिरिच्याट्ट देखिए पुग्छ । अक्सर उनी क्याजुअल पहिरनमै रुची राख्छन्, जिन्स र टिसर्ट । कालो जिन्स बढी सुहाएजस्तो लाग्छ । टिसर्ट चाहिँ हरियो मनपर्छ । उनको फेबरेट कलर हो, हरियो । बच्चैदेखिको । किनकिन यस्तो रंगले उनलाई तानिहाल्छ ।

विमललाई लुगाफाटो किन्न खुब जाँगर चल्छ । मनपर्ने लुगा देख्नासाथ उठाइहाल्छन्, चाहे त्यो सपिङ मलको होस् वा फुटपाथको ।

‘सय रुपैयाँकै किन नहोस्, मन परेपछि किनिहाल्छु’ बिमल भन्छन्, ‘ब्रान्डेड नै भन्ने छैन ।’

ब्रान्डमा उनलाई नाइकीको स्पोर्टस् वेयर बेस्ट लाग्छ ।  अन्य पहिरनमा भने कुनै ब्रान्ड छैन, जे पनि चल्छ । किनमेलका लागि उनी दरबारमार्ग नै धाउँदैनन् । ब्रान्डेड सप नै खोज्दैनन् । फुटपाथ वा साना पसलहरु पनि चाहर्छन् ।

आफूलाई चाहिने लुगाफाटो प्रायः बिदेश सयरमै खरिद गर्दारहेछन् ।

‘बिदेश पुगेका बेलामा चाहिँ केही न केही सपिङ गरेकै हुन्छु’ उनी भन्छन् ।

विमल घुम्नका पनि सौखिन । नेपालमा उनलाई मनपर्ने गन्तव्य हो, पोखरा । फुर्सद पाउनसाथ उनी पोखरा हान्निन्छन् । देश बाहिर चाहिँ, बेल्जियम । बेल्जियम बसाइका क्रममा घुमेका ठाउँहरु उनी अझै ‘मिस’ गरिरहेका छन् ।

जिग्री दोस्तहरु

बिमलका फ्यान धेरै छन् । उनलाई मनपराउने र भलो चाहनेको सूची पनि कम छैन । त्यही भिडमा एउटा यस्ता साथी छन्, जोसँग विमल अलग हुनै सक्दैनन् । ‘हाँस्दा सँगै हाँसीदिने, रुँदा आँसु झारिदिने’ ती साथी हुन्- अनन्त तामाङ ।

झापाली अनन्त फुटबल मैदानका सहकर्मी मात्र होइनन्, मैदान बाहिरका जिग्री दोस्त पनि हुन् । अन्डर १४ फुटबल प्रतियोगिताबाट जोडिएका उनीहरु अहिलेसम्म उत्तिकै नारिएर हिँड्छन्, बस्छन् । ‘अनन्त र म एकदमै मिल्ने साथी’ बिमल भन्छन्, ‘कहिले छुटिएका छैनौं, छुटिन नपरोस् पनि ।’

उनीहरुको दोस्ती कतिसम्म जमेको छ भने, एकले अर्कासँग कुनै कुरा लुकाउँदैनन् । व्यवसायिक, पारिवारिक या नितान्त व्यक्तिगत कुरा नै किन नहोस्, उनीहरु आपसमा शेयर गर्छन् ।

सपिङमा दुबै साथ हुन्छन् । एउटाले खरिद गरेको पहिरन अर्कोले अनुमोदन गरिदिनुपर्छ । उनीहरु एकअर्कालाई पहिरन गिफ्ट पनि दिन्छन् । दुबैलाई एक-अर्काको स्वाद, रुची र स्वाभाव थाहा छ । बिमल त अनन्तको घरसम्म पाहुना पनि लागेका छन् ।

अनन्तले नै हो, बिमललाई अकबरे खुर्सानीको स्वाद चखाएको । झापाबाट अकबरे गिफ्ट पनि ल्याइदिन्छन् उनी ।

विमलका अर्का हितैषी हुन्-बिक्रम लामा । बिक्रमलाई उनी ‘दाइ’ भनेर सम्बोधन गर्छन् ।

बिमलका गाउँले यार छन्, आश्विन शाही ठकुरी । आश्विन उनका बाल्यकालदेखिकै हितैषी, सँगै खेलेका, एउटै माटोमा हुर्किएका । आफ्नो खेल हुँदा आश्विनलाई सम्झन्छन् र बोलाइहाल्छन् ।

तिहारै रमाइलो

विमललाई मनपर्ने पर्व तिहार हो । सानो छँदा तिहारमा फुच्चेहरु भेला भएर गाउँमा देउसी खेलेको क्षणले अहिले पनि उनलाई रोमाञ्चित बनाउँछ ।

‘त्यो क्षण सम्झँदा अझै पनि रमाइलो लाग्छ’ उनले भने ।

गाउँघरै झिलिमिली । धुपको सुगन्ध फैलने । देउसी भट्याएको आवाजले वातावरण गुञ्जने । त्यो रमाइलो माहौलमा स-सना फुच्चेहरु मिसिन्थे । उनीहरु गाउँभरि चाहारेर देउसी खेल्थे । पैसा जम्मा गर्थे । पैसा बाँड्ने बेलामा जहिले पनि लफडा ।

‘पैसा बाँड्ने बेलामा जहिले पनि झगडा हुन्थ्यो’ यसो भनिरहँदा उनले हाँसो रोक्न सकेनन् । खित्का छोडेर हाँसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment