Comments Add Comment

सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल कालोपत्रे हुँदै


३ असोज, बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ ।

विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिए ।

विसं २०७२ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको थियो । विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरणका हिसाबले पाटन विमानस्थल उत्कृष्ट रहेको प्रतिवेदन तयार पार्ने प्राविधिकले बताएका थिए ।

सोही प्रतिवेदनअनुसार विमानस्थल स्तरोन्नति गरी पुनः सञ्चालन गर्न ठेक्का आह्वान गरेर निर्माण शुरु गरिएको हो । करिब रु १३ करोडको लागतमा ५८० मि लम्बाइ, २० मि चौडाइमा कालोपत्रे गरिने प्राधिकरणका वरिष्ठ अधिकृत श्रेष्ठले बताए । उनले भने, “यस विमानस्थलमा ट्विनेटर विमान अवतरण गर्न र दुई विमान पार्किङ गर्न सकिनेछ ।”

गाल्वा च्याङ्मिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै घेरबार गर्ने कम्पनीका प्रतिनिधि दानसिंह रावलले जानकारी दिए । उनले भने, “अहिले कटिङको काम भइरहेको छ, यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ ।”

विसं २०३४मा सञ्चालनमा आएको विमानस्थल २०५२ सालदेखि पूर्णरुपमा बन्द छ । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो ।

पर्यटकीय गन्तव्य बनाउन सकिने 

सरकारले घोषणा गरेको १० नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके पर्यटकीय गन्तव्य बनाउन सकिने भएको छ ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्य भागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रविन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्लाशैनी मन्दिर, ईश्वरी गंगाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

विमानस्थल सञ्चालनपछि बैतडीसहितका जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको भनाइ छ । “विमानस्थल पुनः सञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्नेछ” उनले भने, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment